शनिबार, ५ बैशाख, २०८३

धमाधम शाखा बन्द गर्दै बैंक, आफैं दिँदै डुबेको संकेत !

इन्स्युरेन्स, हाइड्रोपावर, बैंक, वित्तिय संस्थाद्धारा प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशित सेयर दलालहरुले मूल्य बढाएर ३५ सयसम्ममा बेचे । यद्यपि, सेयर किनबेच हुँदा राज्यको ढुकुटीमा भने कित्ताको एक सय रुपैयाँकै हिसाबमा राजस्व जाने गरेको छ

सरकारी–निजी बैंक तथा वित्तियले धमाधम आफ्ना शाखा बन्द तथा मर्ज गर्न थालेका छन् । घर भाडा र कर्मचारीलाई तलब दिन नसकेपछि सरकारी–निजी स्वामित्वका बैंक–वित्तिय संस्थाले भटाभट शाखा मर्ज, बन्दसँगै कर्मचारीसमेत कटौती गर्न थालेका छन् । सँगै डिपोजिटको ब्याज पनि लगातार घटाइरहेको छ ।

साढे तीन वर्षअघि १३ देखि १६ प्रतिशतसम्म ब्याज दिने बैंकले अहिले बचतको जम्मा तीन प्रतिशत ब्याज दिन्छ । कतिपयले त एक प्रतिशतमात्र दिइरहेका छन् । उता, सहकारी, लघुवित्त, फाइनान्सले त बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिन्थे । वर्षेनी साधारण सभामा बचतकर्ता र शेयर होल्डरलाई रकम दिइन्थ्यो ।

ज्येष्ठ बचतकर्तालाई तीर्थयात्रामा लगिन्थ्यो । दोसल्ला ओढाएर सम्मान गरिन्थ्यो । गर्भवती बचतकर्ताको घरमै फलफूल बोकेर पुग्थे, सहकारीका कर्मचारीहरु । सँगै हरेक बचतकर्ताको बर्थ डेमा घरमै पुगेर केक काटिदिइन्थ्यो । कहिले रक्तदान कार्यक्रम राखिन्थ्यो त कहिले बचतकर्ताहरुको निःशुल्क आँखा वा सम्पूर्ण शरीरको चेकजाँच गरिन्थ्यो ।

सहकारीले बचतकर्तालाई लोभ्याउन अनेकौं उपाय लगाएको थियो । त्यही प्रलोभनमा परेर मानिसहरुले सहकारीमा पैसा राखे । विदेश गई रगत–पसिना बगाएर वा स्वदेशमै मेहेनत गरेर आफूले जीवनभर कमाएको र पुख्र्यौली सम्पत्तिसमेत बेचेर धेरैले सहकारीमा रकम जम्मा गरे । शुरुका केही वर्ष उनीहरुलाई राम्रै फाइदा पनि भयो ।

तर, सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले बचतकर्ताको विश्वासको फाइदा उठाए । उनीहरुले आफूखुशी जथाभावी लगानी गरे । आज परिणाम हामी सबैसामु छ । करोडौं बचतकर्ता डुबेका छन्, ठग सहकारी अध्यक्ष, सञ्चालक, कर्मचारीहरु फरार छन् । पहिले भवन बेचेर भएपनि बचत फिर्ता गर्ने दाबी गर्ने उनीहरु अहिले सम्पर्कविहीन छन् ।

सहकारी, लघुवित्त र फाइनान्स संकट बैंकमा पनि देखिँदैछ । फलस्वरुप उनीहरुले धमाधम शाखा बन्द गरिरहेका छन् । तर, सरकारले अझै पनि बैंक, वित्तिय संस्था संकटमा पर्नुको कारण खोजेको छैन । कारण भने हामी सबैसामु छर्लङ्ग छ । घुस अनि छिट्टै नाफा कमाउने दाउमा बैंक, वित्तिय संस्थाले सम्पूर्ण कर्जा घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।

जबकी यी वस्तु विलासित हुन् । पाँच दशकअघि जग्गाको मूल्य प्रतिरोपनी दश हजार रुपैयाँसमेत थिएन । तर, दलाल, भूमाफियाहरुले सबै खेतीयोग्य जमिन प्लटिङ्ग गरेपछि एकाएक जग्गाको मूल्य बढ्यो । पहिला दश हजार रोपनीमा नबिक्ने जमिन मानिसहरुले आनाकै २५ लाखदेखि करोडौं हालेर किने । एक रोपनीमा १६ आना हुन्छ । त्यही जग्गामा बैंक, वित्तिय संस्थाबाट ऋण लिएर घर बनाइयो ।

यस्तै, छिमेक भारत र चीनमा एक लाखदेखि दश लाखमा पाइने सवारीसाधन अटो शोरुमहरुले अढाई लाखदेखि २५ करोडसम्ममा बेचे । नेपालमा गाडी करोडौंको संख्यामा छन् तर सबै पेट्रोल–डिजेलबाट सञ्चालित । अहिले मध्यपूर्णमा युद्ध चर्किँदा यहाँ असर परिरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ भने पाउनसमेत मुस्किल छ । युद्ध अझै लम्बिए पेट्रोल–डिजेलबाट सञ्चालित सबै गाडी थन्किनेछन् । अनि करोडौं हालेर किनिएको गाडीको के काम त ? त्यो गाडी कवाडीले कागज बोतलको दाममा लग्छ । किनकि गाडी सिसा, फर्म, प्लास्टिक, फलामलगायतबाट बनेको हुन्छ, जुन दुई रुपैयाँ किलोमा समेत बिक्दैन ।

उता, इन्स्युरेन्स, हाइड्रोपावर, बैंक, वित्तिय संस्थाद्धारा प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशित सेयर दलालहरुले मूल्य बढाएर ३५ सयसम्ममा बेचे । यद्यपि, सेयर किनबेच हुँदा राज्यको ढुकुटीमा भने कित्ताको एक सय रुपैयाँकै हिसाबमा राजस्व जाने गरेको छ ।

अझ रोचक कुरा चाँहि यसरी दलालहरुद्धारा कृत्रिम रुपमा मूल्य बढाइएको घरजग्गा, गाडी र सेयरमा बैंक, वित्तिय संस्थाहरुले आँखा चिम्लेर भरपूर लगानी गरे । धितो मूल्यको आधारमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिएको छ । अर्थात् एक करोडको घरजग्गा, गाडी वा सेयरलाई ८० लाखसम्म कर्जा । यद्यपि, बैंक, वित्तिय संस्थाले घुसबिना कर्जा दिएनन् ।

कर्जाको दशदेखि २० प्रतिशतसम्म घुस लिनुका साथै एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत, १२ देखि १८ प्रतिशत ब्याज भनी ४८ देखि ८० प्रतिशतसम्म, ऋणबाटै धितोको बीमा गर्न लगाई इन्स्युरेन्स कम्पनीबाट कमिशन खाने, किस्ता रकम बचत खातामा जम्मा गराई पेनाल्टी र हर्जाना हान्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने ।

यस्तो गर्दै आएका थिए, बैंक, वित्तिय संस्थाहरुले । तर, भनिन्छ कि पाप ढिलोचाँडो धुरीबाट अवश्य कराउँछ । हिजो बैंक, वित्तिय संस्थाहरुका कारण करोडौं ऋणीहरुको उठीबास लाग्यो । करोडपतिहरु सडकछाप अवस्थामा पुगे । अब भने यी संस्थाको पालो आएको छ । सहकारी, लघुवित्त र फाइनान्सले त भोगिसके, बैंकले पनि भोग्न शुरु गरिसक्यो ।

वित्तिय संस्थामा संकट आएको पाँच वर्ष बितिसकेको छ । देशभर सञ्चालित हजारौं सहकारी टाट पल्टिएका छन् । बचतकर्ताहरुको रुवाबासी चलिरहेको छ । उपचार गर्न सहकारीमा राखिएको पैसा डुबेपछि बचतकर्ताले पनि जीवन त्याग्नुपरेको छ । सहकारीले करोडौं बचतकर्ताले बिचल्ली बनायो । अब बैंकका बचतकर्ताको पनि उही हालत हुने चिन्ता देखिँदैन ।

किनकि बैंक आफैंले डुबिरहेको संकेत दिन थालेको छ । नभए किन शाखा बन्द वा मर्ज गथ्र्यो ? किन कर्मचारी कटौती गथ्र्यो ? हुन त ढिलोचाँडो यो दिन आउनै थियो । हिजो जे उनीहरुले गरे, आज त्यही उनीहरुले भोग्दैछन् । बैंक, वित्तिय संस्थाहरुले सायद सोचेका थिए होलान्, घरजग्गा, गाडी र सेयरको मूल्य सधैं बढिरहन्छ र हामी नाफामा रहिरहन्छौं ।

दुर्भाग्य, पाँच वर्षदेखि यो क्षेत्रमा रहेको मन्दीले उनीहरुलाई चुलुम्म बनायो । हिजो करोडौं लगानी गरेको धितोको मूल्य लाखमा झरेको छ । ऋणीले हात उठाइसके । पाँच लाख बढी त कालोसूचीमै परिसकेका छन् । धितो लिलाम गर भनिसके । तर, लिलाम गर साँवा त परको कुरा ब्याजसमेत उठ्दैन । अनि विचारा बैंक, वित्तिय संस्थाहरुले गरुन पनि त के ! बुढापाकाले भन्थे–लोभले लाभ, लाभले विलाप ।

बैंक, वित्तिय संस्थाको हकमा पनि यही भएको छ । थोरै नाफाले उनीहरुले पुगेन अनि धेरैभन्दा धेरै नाफा खोज्दा आज यो अवस्थामा पुग्नुपर्यो । त्यसैले, जनता पनि बेलैमा सचेत हौं । नभए, सहकारीका बचतकर्ताजस्तो हालत भोग्नुपर्ला ।

रुषा थापा

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार