सोमबार, २३ कार्तिक, २०८३

आपसी सद्भाव र पार्टी संगठन विस्तारमा जुट्न कांग्रेस कर्णाली प्रदेश सभापति शाहीको आह्वान


​
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति तथा राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले चाडपर्वहरूले समाजमा आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता बलियो बनाउन मद्दत पुग्ने बताएका छन्। नेपाली कांग्रेस जुम्ला प्रदेश सभा (ख) कार्यसमितिले आयोजना गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका सुखदुःखमा सधैं साथ रहने गरी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए।

​कार्यक्रमका प्रमुख अतिथि शाहीले कर्णालीको समग्र विकास, सडक पूर्वाधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तारमा आफू निरन्तर लागिपरेको उल्लेख गरे। ‘चाडपर्व केवल औपचारिकता मात्र होइनन्, यसले पार्टी पंक्ति र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि प्रदान गर्छन्,’ शाहीले भने, ‘कांग्रेसले जनताको प्रत्यक्ष विश्वास जित्ने गरी जनमुखी काममा अग्रसर हुनुपर्छ।’

​कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस जुम्लाका पूर्व सभापति दीपबहादुर शाहीले पार्टीभित्रको आन्तरिक एकतालाई अक्षुण्ण राख्दै आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्नुपर्ने धारणा राखे। उनले पुराना निष्ठावान् नेता–कार्यकर्ताको योगदानको सम्मान गर्दै युवा पुस्तालाई संगठनमा जोड्न नेतृत्वलाई सुझाव दिए।

​त्यस्तै, मन्तव्य राख्दै पार्टी जिल्ला सचिव अर्जुनसिंह कठायतले जिल्लामा संगठनलाई चुस्त र गतिशील बनाउन सबै तहका कमिटीहरू सक्रिय हुनुपर्नेमा जोड दिए। प्रदेश सभा (ख) का सचिव राजेन्द्र रोकायाले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीको नीति र विचारलाई गाउँ–बस्तीसम्म पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताए।

​प्रदेश सभा (ख) का सचिव राजेन्द्र रोकायाले तल्लो तहका कार्यकर्ताको भावनाअनुसार संगठन अघि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेसको वास्तविक शक्ति भनेकै गाउँ, बस्ती र टोल तहमा खटिने निष्ठावान् कार्यकर्ता भएको बताए।

रोकायाले भने, ‘जबसम्म तल्लो तहका साथीहरूको मनोबल उच्च रहँदैन, तबसम्म पार्टी बलियो हुन सक्दैन। चाडपर्वको यो अवसरले हामीबीचका सबै मतभेद मेटाएर संगठन सुदृढीकरणमा एकताबद्ध भई अगाडि बढ्ने ऊर्जा प्रदान गरोस्।’

​प्रदेश सभा (ख) का सभापति गगनबहादुर रोकायाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सभापतिको आसनबाट रोकायाले प्रदेश (ख) भित्र पार्टी संरचनालाई अझ सशक्त बनाउँदै जनसरोकारका सवालहरूलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार