एउटै कोठा, साझा सपना र तीन फरक मितिमा प्राप्त सफलता। लोकसेवा अरूलाई पछाडि पार्ने प्रतिस्पर्धा मात्र होइन, साथीको हात समातेर सँगै गन्तव्यमा पुग्ने सहयात्रा पनि हो भन्ने उदाहरण हुन् दिपेन्द्र, केशव र प्रकाश।
सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानको एउटा कुनामा समीको छहारी थियो। मध्याह्नको चर्को घाम छल्दै तीन जना युवा त्यही छहारीमुनि भुइँमा बसेर कापीका पानाहरू पल्टाइरहेका भेटिन्थे। एउटाको हातमा संविधानको किताब हुन्थ्यो, अर्काको हातमा समसामयिक घटनाक्रमका टिपोट र तेस्रो साथीको हातमा स्टपवाच।
‘ल, १० मिनेट सुरु भयो। विषय छ, सङ्घीयतामा वित्तीय हस्तान्तरणका चुनौती र समाधान।’
यो आवाजसँगै तीनवटा कलम सेता कागजमा एकैसाथ कुद्न थाल्थे। वरिपरि बुलबुले तालमा डुङ्गा खियाउनेहरूको हाँसो र चराचुरुङ्गीको चिरबिर सुनिन्थ्यो। तर उनीहरूको ध्यान भने समयको सुई र कागजमा कोरिने बुँदाहरूमा केन्द्रित हुन्थ्यो। १० मिनेट सकिएपछि तीनै जनाले आ-आफ्ना उत्तरपुस्तिका साटासाट गर्थे। रातो मसीले साथीको उत्तरमा केरकार गर्दै कमजोरी औँल्याउने त्यो अभ्यास कुनै औपचारिक परीक्षाभन्दा कम कठोर थिएन।
ती तीन युवा थिए, दिपेन्द्र भण्डारी, केशव प्रसाद न्यौपाने र प्रकाश न्यौपाने।
आज उनीहरू तीनै जना निजामती सेवाको प्रतिष्ठित पद शाखा अधिकृतका रूपमा राज्यको नीति निर्माण र कार्यान्वयनको जिम्मेवारीमा छन्। तर उनीहरूको सफलताको कथा कुनै सुगम सहरको महँगो कोचिङ सेन्टरमा लेखिएको होइन। यसको सुरुवात भएको थियो जुम्लाको तातोपानी गाउँपालिका–४, हाँकुस्थित केशवको घरको एउटा कोठाबाट। त्यही कोठामा जन्मिएको साझा सपना समयसँगै अध्ययन र अभ्यास हुँदै देशको प्रशासनिक केन्द्रसम्म पुगेको हो।
दिपेन्द्र गुठीचौर गाउँपालिका–५ का हुन् भने प्रकाश चन्दननाथ नगरपालिका–१ का। फरक गाउँ र परिवेशमा हुर्किएका उनीहरूलाई जोड्ने सूत्र एउटै थियो, लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्ने सपना। केशवको कोठा उनीहरूको साझा अध्ययन केन्द्र बन्यो। त्यहीँबाट सुरु भएको सहकार्यले तीनै जनालाई फरकफरक समयमा एउटै गन्तव्यमा पुर्यायो।
यो उनीहरु तीन जना युवा लोकसेवा उत्तीर्ण भएको कथा होइन; मित्रताले अस्वस्थ प्रतिस्पर्धालाई कसरी सहकार्यमा बदल्न सक्छ भन्ने एउटा प्रेरणादायी सामाजिक दृष्टान्त पनि हो।
हाँकुको कोठामा जन्मिएको साझा सपना
जुम्लाका फरक भूगोल र परिवेशमा हुर्किएका दिपेन्द्र, केशव र प्रकाशको सोच भने मिल्दोजुल्दो थियो। सरकारी सेवामा प्रवेश गर्ने, आफ्नो भविष्य निर्माण गर्ने र समाजका लागि केही योगदान गर्ने आकाङ्क्षा उनीहरूको मनमा थियो।
गाउँमा सरकारी कर्मचारीको छुट्टै मान र मर्यादा छ। सरकारी सेवामा आबद्ध भएर गाउँठाउँको विकास र नागरिकको सेवामा योगदान गर्ने सपना धेरै युवाले देख्छन्। उनीहरू पनि त्यही सपनाबाट प्रेरित भए।
तर सपना देख्नु र त्यसलाई यथार्थमा बदल्नुबीचको दूरी सहज थिएन। उच्च शिक्षाका लागि गाउँको परिचित परिवेश छाड्नुपर्थ्यो। मध्यम खालको परिवारकोल महंगो पढाइ खर्च जुटाउनु नै चुनौती हुन्थ्यो। भविष्य बदल्न आफ्नै मेहनत, क्षमता र खुला प्रतिस्पर्धामा विश्वास गर्नुको विकल्प पनि थिएन।
यही क्रममा उनीहरूको भेट र सहकार्यले आकार लियो। केशवको कोठा उनीहरूका लागि अध्ययन प्रयोगशाला थियो। लोकसेवा तयारीका विषयमा छलफल हुन्थ्यो। पाठ्यक्रम, अध्ययन सामग्री, परीक्षाको स्वरूप र उत्तर लेखनका तरिकाबारे विचारविमर्श चल्थ्यो। आफूले बुझेका कुरा अरूलाई बुझाउने र नबुझेका विषयमा साथीहरूसँग प्रश्न गर्ने अभ्यास त्यहीँबाट सुरु भयो।
पुस्तक र अध्ययन सामग्री पर्याप्त थिएनन्। एउटै पुस्तक तीन जनाले पालैपालो पढ्नुपर्ने अवस्था पनि आउँथ्यो। तर उपलब्ध सामग्रीलाई आपसमा बाँडेर अध्ययन गर्ने उनीहरूको आफ्नै तरिका थियो। ऐन–कानुन, समसामयिक विषय, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यवस्थापन र आर्थिक मामिलाका विषयहरू आ-आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गर्थे। त्यसपछि आफूले बुझेका कुरा बाँकी दुई साथीलाई बुझाउँथे। यसरी एउटाको अध्ययन तीनै जनाको साझा ज्ञान बन्थ्यो।
उनीहरूको सहकार्यको आधार सुरुदेखि नै स्पष्ट थियो, ज्ञान लुकाउने होइन, बाँड्ने। कसैले राम्रो पुस्तक वा अध्ययन सामग्री भेट्टाए अरूलाई पनि उपलब्ध गराउँथ्यो। कुनै विषय एक जनाले राम्रोसँग बुझेको छ भने उसैले अरू दुईलाई सिकाउँथ्यो।
यही अध्ययन अभ्यासले उनीहरूबीच आत्मीयता मात्र बढाएन, एकअर्काको क्षमतामा विश्वास गर्ने आधार पनि निर्माण गर्यो।
पुनर्मिलन र तयारीको नयाँ चरण
समयसँगै उनीहरूको तयारीले नयाँ चरण प्रवेश गर्यो। लोकसेवा आयोगको परीक्षालाई केन्द्रमा राखेर अध्ययनलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता महसुस भयो। त्यस क्रममा दिपेन्द्र र केशव काठमाडौं पुगे, एक महिनाको मास्टर क्लास लिए। परीक्षा दिने समय र तयारीको सिलसिलामा तीनै जना पुनः सुर्खेतमा भेटिए।
हाँकुको कोठामा सुरु भएको सहकार्य अब सुर्खेतको परिवेशमा थप व्यवस्थित बन्यो। केशवको घर उनीहरूको मुख्य अध्ययन केन्द्र थियो। सुर्खेतको एक हप्ता सामुहिक बसाइँ उनीहरूका लागि एउटा साझा अध्ययनशाला बन्यो। कोठामा नेपालको संविधानका महत्त्वपूर्ण धारा, आर्थिक सर्वेक्षणका तथ्याङ्क, दिगो विकास लक्ष्यका सूचक र शासन प्रणालीका सिद्धान्तहरूका व्यवस्थित नोट थिए। भुइँमा ओछ्याइएको पुरानो गुन्द्री र म्याट्रेस नै उनीहरूको अध्ययन कक्ष थियो।
उनीहरूको कोठामा एउटा अलिखित नियम थियो, निराशा र व्यक्तिगत कुण्ठालाई अध्ययनको बाधक बन्न नदिने। बिहान सबेरै उठेर पढ्ने अभ्यास थियो। कसैले चियाको भाँडो बसाल्थ्यो, कसैले अघिल्लो दिनका टिपोट पल्टाउँथ्यो। कालो चियाको बाफसँगै सुरु हुन्थ्यो दिनभरको अध्ययन र बहस।
दिनभर जागिरमा व्यस्त उनीहरु साँझ फेरि त्यही कोठामा भेला हुन्थे। दिनभर पढेका नयाँ विषयबारे छलफल गर्थे। कुनै अवधारणा एक जनाले बुझ्न नसके अर्कोले सरल भाषामा व्याख्या गर्थ्यो। एक जनाले बनाएको नोट बाँकी दुई जनाको पनि साझा सम्पत्ति हुन्थ्यो। कसैले राम्रो सामग्री लुकाउँदैनथ्यो, बरु अरूलाई पनि उपलब्ध गराउँथ्यो।
उनीहरूको साझा मान्यता थियो, पढाइ भनेको रट्नु मात्र होइन, आफूले बुझेको कुरा अरूलाई बुझाउन सक्नु पनि हो।

अध्ययन भन्द अगाडि उनीहरुका दिन अफिस सकाएर फुटसल खेल्नमा बित्थे। त्यही उनीहरुको सल्लाहले मुर्तरुप लियो। एकोहोरो दबाबबाट मुक्त हुन उनीहरू सँगै बसे। फुटसलले उनीहरूलाई टिमवर्कको व्यावहारिक पाठ सिकाएको थियो। मैदानमा एउटाले दिएको पासमा अर्कोले गोल गर्नुपर्थ्यो। लोकसेवाको तयारीमा पनि त्यही भावना लागू हुन्थ्यो, एउटाको कमजोरी अर्कोले सुधार्ने र एउटाको सफलतामा सबैले खुसी हुने।
काठमाडौंको भीडभन्दा आफ्नै सहकार्यमा विश्वास
तयारीकै क्रममा उनीहरूलाई काठमाडौं पुगेर त्यहाँको अध्ययन वातावरण बुझ्ने इच्छा भयो। नाम चलेका प्रशिक्षक, कमान्डो क्लास र पुतलीसडक तथा बागबजारका कोचिङ सेन्टरबारे उनीहरूले धेरै सुनेका थिए। त्यसैले केही समयका लागि राजधानी पुगे।
काठमाडौं पुग्दा उनीहरूले लोकसेवा तयारीको एउटा फरक संसार देखे। सयौं विद्यार्थी एउटै हलमा बसेर पढिरहेका थिए। परीक्षा नजिकिँदै गर्दा सञ्चालन हुने कमान्डो क्लासमा चर्को शुल्क लिएर छोटो समयमा तयारी गराउने दाबी गरिन्थ्यो। त्यसको व्यवहारिक प्रयोग दिपेन्द्र र केशवले गरे तर प्रकाशले पाएनन्। उनीहरु दुई त्यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझे, सफलता कुनै इन्स्टिच्युटको कक्षाकोठामा बाँडिने वस्तु होइन रहेछ।
ठूला कक्षामा शिक्षकले बोलेका कुरा सुन्न पाइन्थ्यो, तर आफ्ना जिज्ञासा र द्विविधाबारे पर्याप्त छलफल गर्ने अवसर सीमित हुन्थ्यो। उनीहरूले त्यहाँ प्रतिस्पर्धा त देखे, तर आफूले खोजेको खुला सहकार्य र व्यक्तिगत छलफलको वातावरण पाएनन्। यस अनुभवले उनीहरूलाई आफ्नै अध्ययन समूहको महत्त्व अझ स्पष्ट बनायो।
‘भीडले हामीलाई तर्साउनुभन्दा बढी आफ्नै अध्ययन समूहको महत्त्व बुझायो,’ दिपेन्द्रले त्यो समय सम्झँदै भनेका थिए।
त्यसपछि उनीहरू लामो समय काठमाडौं बसेनन्। सुर्खेत फर्किए र आफ्नै अध्ययन समूहलाई अझ व्यवस्थित बनाए। सुर्खेत स्थित मानसरोवर होटलको शान्त कोठा र बुलबुले उद्यान उनीहरूको अध्ययन तथा विमर्शका प्रमुख स्थान बने। कोठाभित्र पढाइ हुन्थ्यो, खुला वातावरण चाहिएको दिन उनीहरू बुलबुले पुग्थे।
त्यहाँ समीको छहारीमुनि बसेर अन्तर्राष्ट्रिय मामिला, नेपालको परराष्ट्र नीति, सुशासन, सङ्घीयता र सार्वजनिक प्रशासनका विषयमा घन्टौँ छलफल गर्थे। कहिले एउटा साथी कुनै विषयको पक्षमा तर्क गर्थ्यो, अर्को विपक्षमा उभिएर त्यसको खण्डन गर्थ्यो र तेस्रोले दुवैको तर्कको मूल्याङ्कन गर्थ्यो। यसले उनीहरूको विश्लेषण क्षमता, तर्क प्रस्तुत गर्ने शैली र लेखन सीपलाई परिष्कृत बनायो।
लोकसेवाको लिखित परीक्षामा विषयवस्तुको ज्ञानसँगै त्यसलाई कसरी विश्लेषण गर्ने ? समस्याको कारण कसरी पहिचान गर्ने ? र व्यावहारिक समाधान कसरी प्रस्तुत गर्ने ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। बुलबुलेको खुला बहसले उनीहरूलाई यही अभ्यास गराएको थियो।
समयसँगै उनीहरूको अध्ययन तालिका पनि कडा बन्दै गयो। बिहानदेखि रातिसम्मको समय अध्ययन, लेखन अभ्यास बाँडिएको थियो। उनीहरू एकअर्काका कमजोरी लुकाउँदैनथे। कसैको अङ्ग्रेजी शब्दावली कमजोर भए सुधार्न सहयोग गर्थे, कसैलाई तथ्याङ्क विश्लेषणमा कठिनाइ भए तालिका र ग्राफ बनाएर बुझाउँथे। उत्तर लेखनमा कमजोरी देखिए खुलेर आलोचना गर्थे। उनीहरूका लागि साथीको उत्तरपुस्तिका जाँच्नु सहयोग थिएन, आफ्नै कमजोरी पहिचान गर्ने माध्यम पनि थियो।
पहिलो सफलता : दिपेन्द्रको नाम

निरन्तरको अध्ययन, अभ्यास र सहकार्यपछि परीक्षाको समय आयो। लिखित तथा अन्तिम नतिजाको प्रतीक्षा उनीहरूका लागि धैर्यको कठिन परीक्षा थियो। अन्ततः लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक गर्यो। सूचीमा दिपेन्द्र भण्डारीको नाम देखियो।
त्यो उनीहरूका लागि अविस्मरणीय क्षण थियो। हाँकुको एउटा कोठाबाट सुरु भएको साझा सपना बोकेर अघि बढेका तीनमध्ये पहिलो साथी सफल भएको थियो।
तर केशव र प्रकाशको नाम त्यो सूचीमा थिएन। सामान्यतया यस्तो अवस्थामा निराशा, ईर्ष्या वा आफू पछाडि परेको अनुभूति पैदा हुन सक्छ। तर उनीहरूको सम्बन्धमा त्यस्तो कुनै ठाउँ बनेन। केशव र प्रकाशले दिपेन्द्रको सफलतालाई आफ्नै उपलब्धिजस्तै माने। साथीको खुसीमा उनीहरू पनि उत्तिकै खुसी भए।
‘दिपेन्द्रको नाम निस्कनु भनेको हाम्रो कोठाको पद्धति सफल हुनु थियो। हामीलाई लाग्यो, हामी हिँडेको बाटो सही रहेछ। यदि दिपेन्द्र पास हुन सक्छ भने भोलि हामी पनि सक्छौँ,’ बाँकी साथीहरूको प्रतिक्रिया थियो।
दिपेन्द्र तालिम र पदस्थापनका लागि काठमाडौं गए। तर जुम्लाको त्यो सानो कोठा र आफ्ना दुई साथीलाई बिर्सिएनन्। निजामती सेवामा प्रवेश गरेपछि पनि उनी साथीहरूसँग निरन्तर सम्पर्कमा रहे। प्रशासनिक अभ्यास, नीतिगत छलफल र मन्त्रालयहरूमा भइरहेका निर्णयबारे आफूले बुझेका कुरा उनीहरूलाई सुनाउँथे। कार्यालय समयपछि पनि साथीहरूको तयारीबारे चासो राख्थे र आवश्यक सुझाव दिन्थे।
दिपेन्द्रको सफलताले केशव र प्रकाशलाई निराश बनाएन, बरु उनीहरूको आत्मविश्वास थप बलियो बनायो। उनीहरूले साथीको उपलब्धिलाई आफ्नो सम्भावित सफलताको प्रमाणका रूपमा लिए। यो खुसीको क्षणमा रमाउनेहरुमा दुई जना अरु पनि थिए। ती हुन इन्जिनियर नवीन शाही र सुब्बा नरेन्द्र भण्डारी।

दोस्रो सफलता : केशवको धैर्य

सफलता सबैका लागि एउटै समयमा आउँदैन। दिपेन्द्र अधिकृत भइसकेपछि पनि केशवले अर्को एक वर्ष तयारीमै बिताउनुपर्यो।
त्यो वर्ष उनका लागि सहज थिएन। साथी अगाडि बढिसकेको थियो, आफू भने उही किताब, उही अध्ययन र उही परीक्षाको तयारीमा थिए। समाजका प्रश्न पनि कम थिएनन्। ‘साथी त हाकिम भइसक्यो, तिमी चाहिँ कहिले हुने?’ भन्ने खालको दबाबले मन नबिझाउने कुरै थिएन।
तर उनले हतारमा हार मानेनन्। बरु आफ्नो तयारीको समीक्षा गरे। लेखनमा कहाँ कमजोरी छ ? समय व्यवस्थापनमा के सुधार गर्नुपर्छ ? र उत्तरलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा ध्यान दिए।
उनले आफ्ना उत्तरपुस्तिका दिपेन्द्रलाई पठाउँथे। दिपेन्द्रले ती उत्तरहरू हेरेर सुझाव दिन्थे। विषयवस्तुको ज्ञान राम्रो भए पनि निष्कर्षमा प्रशासनिक दृष्टिकोण, सकारात्मक सोच र व्यावहारिक समाधान प्रस्तुत गर्नुपर्ने सुझावले केशवराजलाई आफ्नो लेखन सुधार्न मद्दत गर्यो।
प्रकाश पनि यो अवधिभर उनको बलियो सहयात्री बनेर उभिए। उनीहरूबीच छलफल, उत्तर लेखन र अध्ययन सामग्रीको आदानप्रदान जारी रह्यो। अन्ततः अर्को वर्ष लोकसेवा आयोगको नतिजामा केशवराजको नाम पनि शाखा अधिकृतको सूचीमा प्रकाशित भयो।
एक वर्षअघि दिपेन्द्र सफल हुँदा देखिएको खुसीको दृश्य फेरि दोहोरियो। यो एउटा पद प्राप्तिको खुसी थिएन; निरन्तरको मेहनत, धैर्य र सामाजिक दबाबलाई पराजित गरेको आत्मविश्वासको विजय थियो। अब तीन सदस्यीय अध्ययन समूहका दुई जना शाखा अधिकृत भइसकेका थिए। बाँकी थिए प्रकाश।
तेस्रो सफलता : जागिरसँगै तयारी र प्रकाशको निरन्तरता

दुई जना साथी सफल भइसकेपछि प्रकाशमाथि स्वाभाविक रूपमा मनोवैज्ञानिक दबाब थियो। तर उनले त्यसलाई निराशाको कारण बनाएनन्। बरु दुई साथीको अनुभव, उनीहरूले भोगेका कठिनाइ र सिकेका पाठलाई आफ्नो तयारीको आधार बनाए।
प्रकाशको सबैभन्दा ठूलो चुनौती समय व्यवस्थापन थियो। उनी जागिरमा आबद्ध भएकाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। अध्ययनका लागि बिहान र रातिको समय मात्रै उपलब्ध हुन्थ्यो।
उनले आफ्नो दैनिक समयलाई अनुशासित ढङ्गले व्यवस्थापन गरे। बिहान सबेरै उठेर अध्ययन र लेखन अभ्यास गर्थे। कार्यालयको जिम्मेवारी पूरा गरेपछि साँझ फेरि किताब र उत्तरपुस्तिकासँग जुट्थे। जागिर र तयारीलाई सँगसँगै अघि बढाउनु सजिलो थिएन, तर उनले निरन्तरता दिन छाडेनन्।
दिपेन्द्र र केशवले पनि उनलाई एक्लो महसुस हुन दिएनन्। आवश्यक अध्ययन सामग्री पठाउने, उत्तरपुस्तिका जाँच्ने र लेखन शैली सुधार्न सुझाव दिने काम निरन्तर चलिरह्यो। उनीहरू भर्चुअल माध्यमबाट जोडिएर प्रकाशले लेखेका उत्तरहरूको समीक्षा गर्थे।
प्रकाशले पनि आफ्नो लेखनलाई थप चुस्त, तथ्यपरक र स्पष्ट बनाउँदै लगे। लामो र झर्कोलाग्दो अनुच्छेदको सट्टा थोरै शब्दमा धेरै कुरा समेट्ने, बुँदागत रूपमा तर्क प्रस्तुत गर्ने र निष्कर्षलाई व्यावहारिक बनाउने अभ्यास गरे।
अन्ततः प्रकाशको अनुशासन, निरन्तरता र समय व्यवस्थापनले सफलता दिलायो। लोकसेवा आयोगको पछिल्लो नतिजामा उनको नाम पनि शाखा अधिकृतको सूचीमा प्रकाशित भयो। यो कथा प्रकाशन हुनुको एक दिन अगाडि मात्रै उनी शाखा अधिकृतमा सिफारिस भएका छन्।
यसरी हाँकुको एउटा कोठाबाट सुरु भएको तीन साथीको साझा सपना पूरा भयो। सफलताको मिति फरक थियो, दिपेन्द्र पहिलो चरणमा, केशव एक वर्षपछि र प्रकाश त्यसपछिको चरणमा सफल भए। तर उनीहरूको गन्तव्य एउटै छ।
प्रतिस्पर्धाभन्दा माथि सहकार्यको शक्ति
दिपेन्द्र, केशव र प्रकाशको यो यात्राले लोकसेवाको तयारीबारे समाजमा स्थापित एउटा परम्परागत सोचलाई पनि प्रश्न गरेको छ। सामान्यतया लोकसेवा तयारीलाई एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाका रूपमा बुझिन्छ। साथीले राम्रो किताब पाउला कि, आफूभन्दा बढी अङ्क ल्याउला कि वा आफ्नो अध्ययन सामग्री अरूलाई दिँदा आफू पछाडि परिएला कि भन्ने डरले धेरै परीक्षार्थीलाई एक्लो बनाएको हुन्छ।
तर यी तीन साथीले त्यसको ठीक विपरीत अभ्यास गरे। उनीहरूले ज्ञान बाँडे, नोट साटे, एकअर्काको उत्तरमा आलोचना गरे र सफलताका सम्भावना सामूहिक रूपमा बलियो बनाए।
उनीहरूको अनुभवले एउटा सरल सत्य स्थापित गर्छ, ज्ञान बाँड्दा घट्दैन, बरु बाँड्ने र ग्रहण गर्ने दुवैको बुझाइ अझ गहिरो हुन्छ। साथीलाई कुनै विषय बुझाउँदा आफ्नै ज्ञान परिपक्व हुन्छ। अर्कोको उत्तरपुस्तिका जाँच्दा आफ्नै लेखनका कमजोरी पहिचान गर्न सकिन्छ। सामूहिक छलफलले एउटै विषयलाई विभिन्न कोणबाट हेर्ने क्षमता विकास गर्छ।
उनीहरूले प्रतिस्पर्धा एकअर्कासँग गरेनन्; आफ्नै अज्ञानता, कमजोरी र लोकसेवाको कठिन पाठ्यक्रमसँग गरे।
उनीहरूको अध्ययन पद्धतिमा महँगो कोचिङ सेन्टरभन्दा आपसी सहयोग महत्त्वपूर्ण थियो। व्यक्तिगत गोपनीयताभन्दा ज्ञानको साझेदारी प्राथमिकतामा थियो। बाहिरी प्रशिक्षकको भरभन्दा साथीहरूबीचको समीक्षा प्रभावकारी बन्यो। मानसिक तनावलाई एक्लै सहनुभन्दा फुटसल, खुला बहस र आपसी संवादबाट व्यवस्थापन गरे। उनीहरूको सफलताको मूल शक्ति यही सहकार्य थियो।
नेपालका ग्रामीण तथा विकट जिल्लामा बसेर लोकसेवाको सपना देखिरहेका हजारौँ युवाका लागि यो कथा एउटा महत्त्वपूर्ण सन्देश हो। आफ्नै गाउँघरमा बसेर तयारी गर्ने युवासँग प्रायः राम्रो पुस्तक छैन, अनुभवी शिक्षक छैनन्, काठमाडौं जान सकिएन भने सफल हुन सकिँदैन भन्ने हीनताबोध देखिन्छ।
तर यी तीन अधिकृतको अनुभवले सफलता स्रोतसाधनको बाहुल्यतामा निर्भर हुँदैन भन्ने देखाउँछ। उपलब्ध साधनको सही उपयोग, योजनाबद्ध अध्ययन, निरन्तर अभ्यास र सहकार्यले पनि कठिन लक्ष्य हासिल गर्न सकिन्छ।
आजको डिजिटल युगमा आवश्यक सूचना र अध्ययन सामग्री गाउँमै बसेर जुटाउन सकिन्छ। तर सामग्री सङ्कलन गर्नु मात्रै पर्याप्त हुँदैन। त्यसलाई विश्लेषण गर्ने, आफ्नै भाषामा प्रस्तुत गर्ने, नियमित लेखन अभ्यास गर्ने र कमजोरी सुधार्दै जाने अनुशासन महत्त्वपूर्ण हुन्छ।
जागिरसँगै तयारी गर्नेहरूका लागि प्रकाशको अनुभव विशेष रूपमा प्रेरणादायी छ। उनले देखाएको निरन्तरताले समयको अभावलाई योजनाबद्ध अध्ययनबाट व्यवस्थापन गर्न सकिने सन्देश दिन्छ। उसो त उनीहरु तीनै जना पाँचौ तहमा कार्यरत थिए।
त्यस्तै, केशवको एक वर्षको प्रतीक्षाले असफलतालाई अन्तिम निष्कर्षका रूपमा लिनु हुँदैन भन्ने सिकाउँछ। एउटा परीक्षामा सफलता नपाउनु भनेको क्षमता समाप्त हुनु होइन। आफ्नो तयारीको समीक्षा गरेर कमजोरी सुधार्ने अवसर पनि हो। दिपेन्द्रको पहिलो सफलताले समूहको आत्मविश्वास बढायो भने केशवराज र प्रकाशको सफलताले सहकार्यको अभ्यासलाई पूर्णता दियो।
जिम्मेवारसम्म पुगेको मित्रताको सम्बन्ध
आज दिपेन्द्र र केशव आ-आफ्नो कार्यक्षेत्रमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छन्। केही समयको तालिम पछि प्रकाश औपचारिक जिम्मेवारीमा आउनेछन्। उनीहरू नीति, नियम र कानुन कार्यान्वयनको प्रक्रियामा सहभागी छन्। सेवाग्राहीका समस्या सुन्छन् र राज्य संयन्त्रलाई प्रभावकारी बनाउन आफ्नो भूमिकाअनुसार काम गरिरहेका छन्।
उनीहरूको कार्यक्षेत्र र जिम्मेवारी फरक भए पनि मित्रताको सम्बन्ध भने उस्तै छ। प्रशासनिक कामका क्रममा आउने चुनौतीमा एकअर्कासँग सल्लाह गर्ने र अनुभव साटासाट गर्ने क्रम जारी छ।
तर उनीहरूको स्मृतिमा अझै पनि जुम्लाका फरक भूगोल, तातोपानी गाउँपालिका–४ हाँकुस्थित केशवको घरको कोठा, सुर्खेतको अध्ययन वातावरण, मानसरोवर होटल र बुलबुले उद्यानको समीको छहारी ताजै छन्। त्यही कोठामा बसेर सुरु गरिएको अध्ययन, सुर्खेतमा गरिएको अभ्यास, एकअर्काका कापीमा चलाइएका रातो मसी र सफलताको पहिलो खबर सुनेपछिका भावुक क्षण उनीहरूको जीवनका अविस्मरणीय सम्पत्ति हुन्।
सफलताले मानिसको पद र परिचय बदल्न सक्छ, तर साँचो मित्रता र सहकार्यको मूल्य बदलिँदैन। उनीहरूले फरक भूगोलबाट एउटै सपना बोकेर यात्रा सुरु गरेका थिए। समयले उनीहरूको सफलताको मिति फरक बनायो, तर गन्तव्य एउटै बनायो। उनीहरूको यात्रा व्यक्तिगत उपलब्धिमा मात्रै सीमित छैन। अब उनीहरूका सामु जनताको सेवा गर्ने, कर्णाली र जुम्लाजस्ता दूरदराजका बस्तीका आवाजलाई राज्यको नीति निर्माण र सेवा प्रवाहसँग जोड्ने जिम्मेवारी छ।
दिपेन्द्र, केशव र प्रकाशले सिंहदरबारका चिसा गल्लीहरूलाई एउटा न्यानो सन्देश दिइरहेको छ, सपना साझा हुँदा यात्रा सहज बन्छ, ज्ञान बाँड्दा क्षमता फराकिलो हुन्छ र प्रतिस्पर्धाको ठाउँ सहकार्यले लिँदा सफलता अझ अर्थपूर्ण हुन्छ। तातोपानीको हाँकुस्थित एउटा कोठाबाट सुरु भएको उनीहरूको यात्रा यसैको प्रमाण हो। लोकसेवा अरूलाई पछाडि पार्ने दौड मात्रै होइन; यात्रामा सँगै हिँड्ने साथीको हात समातेर गन्तव्यसम्म पुर्याउने सहयात्रा पनि हो।
















