मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१, चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगंगा गाउँपालिका–१ स्थायी घर भई हाल विवाह गरेर कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला जीपमा १६ जना सवार थिए। प्रारम्भिक अनुसन्धानबाट जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको खुलेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















