के गजल केवल प्रेम र विरहको अभिव्यक्ति मात्र हो कि समाजको ऐना पनि? भलिबलमा जाली कटाउन गाह्रो भयो भन्दैमा जाली नै नटाँगी खेल्न मिल्छ र? गजलको सिद्धान्त, अनुशासन, समकालीन विकृति र परदेशिनुको यथार्थमाथि बिनाकुनै मोलाहिजा गरिएको खरो कुराकानी। ‘अक्षर वार्ता With Madan’ मा आज हामीसँग हुनुहुन्छ गजलको मर्म र अनुशासनलाई नजिकबाट नियाल्ने सशक्त सर्जक निर्दोष शिव।
अक्षर वार्ता With Madan मा यहाँलाई हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेको तपाईंको एउटा गजल।
गजल
सिङ्गो रहस्य खोज्दै गन्तव्य मारमा छ
डुङ्गा डुब्यो नदीमा माझी किनारमा छ
दुश्मन अगाडि दुश्मन आँधी बनेर आयो
राँको निभेर के भो झिल्को अँगारमा छ
भ्रममा चढेर कोही हिँड्दैछ कस्तूरी झैँ
वैरीहरूको सूची आफ्नै मुहारमा छ
स्वाँगी रहेछ दुनियाँ नाटक रहेछ यावत्
नाङ्गै थियो बिरामी मुर्दा सिँगारमा छ
मनमा जखमहरूका चीत्कार हाँस्न थाले
लाग्दैछ आज ईश्वर अन्तिम प्रहारमा छ
१. कसैले गजललाई प्रेमको भाषा भन्छ, कसैले पीडाको, कसैले शास्त्रीय संरचनाको। कसैले काफिया-रदीफ मिलेपछि गजल भयो भन्छ, कसैले भाव र शिल्पको गहिराइ खोज्छ। तपाईंको नजरमा गजल के हो र के होइन?
गजल एउटा माध्यम हो जसमार्फत गजलकारले आफ्ना भावनाहरू प्रकट गर्दछ। गजललाई प्रेम, पीडा अथवा साहित्यका जुनसुकै रसको भाषा पनि बनाउन सकिन्छ। जसरी केवल झ्याल, ढोका, इँटालाई घर भन्न मिल्दैन; त्यसैगरी रदीफ-काफिया मिल्दैमा त्यसलाई गजल भन्न मिल्दैन।
रदीफ, काफिया, शिल्प, भाव, अन्दाज, लयको विशिष्ट रूप बहर, शुद्ध भाषा इत्यादि आवश्यक आधारभूत सबै कुराहरूको संयोजन भयो भने बल्ल गजल बन्न सक्दछ। जसरी खाली जग्गामा थुपारिएका झ्याल, ढोका, थाम, ढुङ्गा घर होइनन्, त्यसरी नै रदीफ-काफिया मात्रै मिलाएर राखिएका जुमलाहरू गजल होइनन्।
२. गजल लोकप्रियताको शिखर छोइरहेको छ। महफिल छन्, महोत्सव छन्, सामाजिक सञ्जालहरूमा गजल छन्, श्रोता छन्, नयाँ गजलकारको बाढी नै छ। तर एउटा असहज प्रश्न गरौँ—गजलको लोकप्रियता बढ्नु र गजलको साहित्यिक उचाइ बढ्नु एउटै कुरा हो?
गजलको लोकप्रियता बढ्नु र गजलको साहित्यिक उचाइ बढ्नु एउटै कुरा होइन तर अन्तरसम्बन्धित कुरा भने हुन्। गजलको लोकप्रियता बढ्दैमा गजलको साहित्यिक उचाइ नबढ्न पनि सक्छ। तर गजलको साहित्यिक उचाइ बढ्नलाई लोकप्रियता पनि बढ्नुपर्ने हुन्छ। लोकप्रिय हुनु र गुणस्तरीय हुनु एउटै कुरा होइन।
३. हामीले नेपाली गजल लेखिरहेका छौँ कि नेपाली भाषामा उर्दू गजलको नक्कल गरिरहेका छौँ? हाम्रो कमजोरी कहाँ छ—अध्ययनमा, साधनामा, शिल्पमा, विषयमा कि मौलिक दृष्टिकोणको अभावमा?
कुनै व्यक्तिले उर्दू भाषाको गजल चोरेर नेपाली भाषामा उल्था गरेर आफ्नो बनाउँछ भने त त्यो अलग कुरा भयो, अन्यथा हामीले नेपाली भाषामा नेपाली गजल नै लेखिरहेका छौँ। गजल लेख्ने, प्रस्तुत गर्ने शैलीमा त गजलकार जहाँबाट जोबाट प्रभावित हुन पनि सक्यो तर गजलको सैद्धान्तिक नियम त जुनसुकै भाषामा भए पनि उही त हुने हो नि।
हाम्रो कमजोरी अध्ययन, साधना, शिल्प सबैमा छ। गजलमा मौलिक दृष्टिकोण र आयातित दृष्टिकोण भन्ने त कस्तो हुन्छ र? गजलको सिद्धान्तलाई बेवास्ता गरेर आफ्नै मौलिक नियमहरू बनाएर लेख्ने हो भने उक्त रचनालाई आफ्नै नयाँ नाम दिँदा भयो क्यारे! होइन, गजल नै नाम दिने हो भने त आफूलाई सजिलो लाग्ने नियम मानौँ, गाह्रो लाग्ने नियम नमानौँ भन्न त कहाँ पाइयो र!
बहर आयातित हो भन्ने हो भने त गजल शब्द पनि त आयातित हो नि! रदीफ, काफिया, मतला, मकता यी सबै आयातित नै होइनन् र? कि त नयाँ सिद्धान्तले पुरानो सिद्धान्तलाई प्रतिस्थापन गर्न सक्नुपर्यो, होइन भने त चलिरहेको सिद्धान्तलाई त मान्नैपर्ने हुन्छ।
४. गजललाई स्वतन्त्र छोड्ने नाममा हामीले गजलको अनुशासन नै मारिरहेका त छैनौँ? अर्कोतिर शास्त्रीयताको नाममा गजललाई यति कठोर बनाइरहेका त छैनौँ कि नयाँ पुस्ता त्यसको ढोकामै पुगेर फर्कियोस्?
गजल स्वतन्त्र र बन्धक भन्ने हुँदैन, गजल गजल नै हो। गजल त्यति सजिलो विधा होइन, जहाँ बिनाकुनै अध्ययन, बिनाकुनै साधना जोकोही पनि पुग्न सकोस्। अलिकति अध्ययन र साधना गर्नेलाई शास्त्रीय सिद्धान्त त्यति गाह्रो पनि छैन।
भलिबल खेलमा जाली कटाउन गाह्रो भयो भनेर जाली नै नटाँगी खेल्न त भएन नि! पढ्न र उत्तीर्ण हुन चाहने विद्यार्थी ढोकासम्म मात्रै पुगेर फर्किँदैन, कक्षाकोठामा पसेर अध्ययन र साधना गर्छ। नयाँ पुस्तामा अध्ययन र साधना बढ्दै गएको छ, कक्षाकोठा खाली हुँदैन, भरिँदै जानेछ बरु।
५. आजभोलि गजलका कार्यक्रम धेरै छन्। एउटै पुस्ताका, एउटै समूहका र एकअर्कालाई प्रशंसा गर्ने गजलकारहरू बारम्बार एउटै मञ्चमा देखिन्छन्। के हामीले गजलको उत्सवलाई गजलकारहरूको नेटवर्किङमा सीमित गरिरहेका छौँ?
हो, यस्तै देखिन्छ।
६. तपाईंले देश छोड्नुभएको हो कि देशले तपाईंलाई छोड्न बाध्य बनाएको हो? तपाईंको सङ्ग्रह प्रकाशित छ? छ भने कुन-कुन प्रकाशित छन्? छैन भने सङ्ग्रह प्रकाशनको बारे केही सोच्नुभएको छ? र गजल।
मैले देश छोडेको पनि होइन र देशले मलाई छोड्न बाध्य बनाएको पनि होइन। मलाई अहिलेको यो विदेशीबाट बक्सिसमा पाएको आयातित व्यवस्थाले देश छोड्न बाध्य बनाएको हो र यही व्यवस्थाले मलाई देश फर्किन रोकेको पनि हो। कति संयुक्त गजलसङ्ग्रहहरूमा मेरा गजलहरू पनि समावेश छन् तर मेरो गजलसङ्ग्रह अहिलेसम्म प्रकाशित छैन। समय मिलाएर छिट्टै नै प्रकाशित गर्नेछु।
७. अझ सीधा प्रश्न—नेपाली गजलमा ‘गुट’ छ? यदि छ भने, त्यसले सर्जक जन्माइरहेको छ कि सर्जकलाई छानिरहेको छ?
जानी-नजानी नेपाली साहित्यको जुनसुकै विधामा पनि गुट छ। त्यसले सर्जक कम जन्माएको छ भने धेरैलाई छानिरहेको छ।
८. गजलमा विकृति कसले जन्माइरहेको छ? हामी बहर मिल्यो कि मिलेन, काफिया शुद्ध भयो कि भएन, रदीफ ठीक छ कि छैन भनेर लामो बहस गर्छौँ। तर गजलभित्रको मान्छे, उसको वर्ग, लैङ्गिकता, श्रम, पीडा, अपाङ्गता, बुढ्यौली, विस्थापन र सीमान्त जीवनबारे कति बहस गर्छौँ?
गजलमा विकृति गजललाई वर्गीकरण गर्नेहरूले जन्माइरहेका छन्। गजल केवल गजल मात्रै छ, गजलका कुनै प्रकार छैनन्। गजल प्रेम र प्रेमिल कुरा प्रस्तुत गर्ने माध्यमबाट सुरुवात भए तापनि प्रेमभन्दा बाहेक पनि अन्य विविध क्षेत्रहरूमा प्रवेश गरिसकेको छ।
गजल साहित्य हो र साहित्य समाजको चित्र, चरित्र र चेतना देखाउने ऐना भएकाले गजलले समाजका मान्छे, गजलभित्रको मान्छे र उसको वर्ग, लैङ्गिकता, श्रम, पीडा, अपाङ्गता, बुढ्यौली, विस्थापन र सीमान्त जीवनलाई पनि समेटेको राम्रो हो। थोरै-धेरै समेटेको पनि छ, नसमेटेको पनि होइन तर कुन क्षेत्रका विषयवस्तु उठाउने गजलकारको इच्छाको कुरा हो। तथापि सबै क्षेत्र र विषयलाई समेट्न उठाउन सके राम्रो हो र उठाउनुपर्छ, उठाऔँ पनि भन्न चाहन्छु।

९. गजलको शिल्प सुन्दर भएर मात्रै पुग्छ कि त्यसले संसारलाई हेर्ने दृष्टि पनि सुन्दर बनाउनुपर्छ?
संसारलाई हेर्ने दृष्टि सुन्दर होइन, संसार जस्तो छ त्यस्तै हुनुपर्छ। सुन्दर शिल्प भएको गजलले कुरूप संसारलाई सुन्दर देख्दैन र देख्नु पनि हुँदैन। कुनै चिज सुन्दर छ भने सुन्दर देख्नुपर्छ र कुरूप छ भने कुरूप नै देख्नुपर्छ। जस्तो कि प्रेमिल गजलले बलात्कारलाई पनि सुन्दर देख्न सक्दैन।
१०. रूढिवादी सोच बोकेको उत्कृष्ट शिल्पको गजल र कमजोर शिल्पमा लेखिएको प्रगतिशील गजलमध्ये तपाईं कुनलाई साहित्यिक रूपमा उत्कृष्ट मान्नुहुन्छ? किन?
मलाई गजल मात्रै थाहा भएकाले पहिले रूढिवादी गजल र प्रगतिशील गजलको अर्थ र उदाहरण दिनुभयो भने मात्रै तपाईंको यो प्रश्नको जवाव दिन सक्छु।
११. नेपाली गजलमा प्रेम, विरह, धोका र सम्झना अत्यन्त लोकप्रिय छन्। तर देशमा बेरोजगारी छ, श्रमिक छन्, परदेश छ, वर्गीय विभाजन छ, राजनीति छ, हिंसा छ, पहिचानका प्रश्न छन्। हामी गजलमा संसार लेखिरहेका छौँ कि अझै प्रेमिकाको आँखामै संसार खोजिरहेका छौँ? अनि गजललाई सामाजिक दस्तावेज बनाउने जिम्मेवारी छ कि छैन?
यसको अलिकति जवाफ मैले माथि पनि दिइसकेँ जस्तो लाग्छ। गजललाई मायाप्रेम, धोकामा मात्रै सीमित नगरेर समाजका हरेक क्षेत्र र विषयसम्म पुर्याउनुपर्छ।
१२. गजलका हजारौँ शेर लेखिन्छन्, लाखौँ पटक सुनिन्छन्, भिडियोमा लाखौँ भ्यु आउँछन्। तर गजलकारको हातमा त्यसको आर्थिक प्रतिफल कति पुग्छ? हामी साहित्यलाई सम्मान गर्छौँ कि निःशुल्क उपभोग गर्छौँ?
नेपालमा गजलकारको हातमा आर्थिक प्रतिफल खासै पुगेको देखिँदैन। बरु उल्टै गजलकारकै अर्थ खर्च भएको देखिन्छ। एक त हामी नेपालीको जनसङ्ख्या कम छ, गजल पढ्ने-बुझ्नेहरू कम छन्, अर्को कुरा राज्यले कुनै साथ-सहयोग दिएको छैन।
हामीले व्यक्तिगत रूपमा त साहित्यलाई सम्मान र निःशुल्क उपभोग दुवै गर्छौँ। तर हामीले गर्न सक्ने भनेको मुख्यतः गजलकारको कृति किनिदिने, टिकटवाला कार्यक्रम भए टिकट लिइदिने न हो। राज्यले गजलमा पनि राम्रै लगानी गर्नुपर्छ।
१३. भाषा बाँच्न साहित्यले कति भूमिका खेल्छ? भाषा बोल्ने समुदाय घट्दै गयो भने साहित्यले भाषा बचाउन सक्छ? कि भाषा बचाउन साहित्यभन्दा पहिले विद्यालय, परिवार, सञ्चार र राज्यको नीति बदलिनुपर्छ? र स्थानीय भाषाको भविष्यबारे तपाईं आशावादी हुनुहुन्छ कि चिन्तित?
भाषा बाँच्नमा साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भाषा बोल्ने समुदाय घट्दै गयो भने पनि कृति र दस्तावेजहरूमा त साहित्यले भाषा बचाउन सक्छ तर मैदानमा भाषा बोल्ने मान्छे नभएपछि भाषा हराउँदै जान थाल्छ।
भाषा बचाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निभाउनुपर्छ। साहित्यसँगसँगै विद्यालय, परिवार, सञ्चार र राज्यको नीति पनि बदलिनुपर्छ। स्थानीय भाषाको भविष्यलाई लिएर म निकै चिन्तित छु। राज्यले स्थानीय भाषालाई संरक्षण गरोस् भन्ने चाहन्छु।
१४. तपाईंको पहिलो अक्षर कहाँ जन्मिएको थियो? त्यही पहिलो सिर्जना ‘अक्षर वार्ता’का पाठकलाई सुनाउन सक्नुहुन्छ?
मेरो पहिलो अक्षर “बा” हो रे, म सत्र महिनाको हुँदा पनि नबोलेपछि किन बोलेन भनेर मलाई तीर्थस्थल सेतीवेणीमा लैजाँदा मैले “बा” बोलेको रे। मैले विद्यालयमा पढ्दादेखि नै प्रतियोगितामा गाउने गीतहरू लेख्ने गर्दथेँ। तर मलाई मेरो पहिलो सिर्जना कुन हो भन्ने याद छैन।
१५. यदि तपाईंलाई अक्षर वार्ताका लागि सर्जक सिफारिस गर्ने अधिकार दिइयो, र त्यो सिफारिस चर्चा, पहुँच, मित्रता, गुट वा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, केवल सिर्जनाको गुणस्तरका आधारमा गर्नुपर्ने भयो भने तपाईं कसको नाम सिफारिस गर्नुहुन्छ?
कुन विधाको भन्ने कुरा पनि हुन्छ। गजल, मुक्तक, गीत, कविताहरूमा पोख्त भएका कारणले अहिले मेरो दिमागमा अग्रज साहित्यकार रवि प्राञ्जलज्यूको नाम आयो।
१६. अन्तिम प्रश्न : यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब तपाईंले आफैँलाई एउटा असहज प्रश्न सोध्नुपर्यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?
प्रश्न : मैले गर्दै नगरेको गल्तीको सजाय पनि मैले किन पाइरहन्छु?
उत्तर : सायद मेरो लेखान्त नै यस्तै भएर होला। कुनै जन्मको फल होला।
१७. गजलका बारेमा कुरा गर्दैगर्दा हामीले गजल मात्रै होइन, भाषा, समाज, राजनीति, बजार र आफूलाई समेत प्रश्न गर्यौँ। अन्तिममा अक्षर वार्तालाई सुझाव र तपाईंका चर्चित शेरहरू…।
अक्षर वार्तालाई निरन्तरता दिनुहोला, यसले नेपाली भाषा र साहित्यको निम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ।मलाई थाहा नभएको हुन सक्छ तर मलाई मेरा कुनै पनि शेरहरू चर्चित छन् जस्तो लाग्दैन। मेरा प्रिय मान्छेहरूले मन पराएका केही शेरहरू यस प्रकार छन् :
जाऔँ त भन्नलाई अधिकार नै थिएन
जाऊ ल भन्नलाई आवाज निस्किएन
जसले छोड्यो सफरमा खुट्टाहरू गिँडेर
उसकै निमित्त दौड्यो मुन्टो टेकेर कोही
यादको धारमा जिन्दगी राखियो
घाउलाई मलम बाडुली राखियो
बिर्सी न उसलाई ए जिन्दगी
सपना त आखिर सपना न हो
















