सोमबार, १८ श्रावण, २०८३

गाउँ–गाउँमा पुग्यो एआईको कुरा, गुठीचौरका २३ गाउँमा १२ दिने जनचेतना अभियान

जुम्लाको गुठीचौर गाउँपालिकाका गाउँमा यसपटक खेतीपाती, रोजगारी र परम्परागत जीवनशैलीसँगै एउटा नयाँ विषयले पनि प्रवेश पायो, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई।

गाउँका विद्यार्थी, युवा, महिला, किसान, शिक्षक र अभिभावकले एआई के हो भन्ने मात्रै सुनेनन्, यसलाई आफ्नो दैनिक जीवन, शिक्षा, कृषि, व्यवसाय र रोजगारीमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि जानकारी लिए।

गुठीचौर गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका २३ गाउँ र एक विद्यालयमा सञ्चालन गरिएको १२ दिने जनचेतनामूलक अभियानमार्फत गाउँमा एआईसहित आधुनिक प्रविधि, उद्यमशीलता र नेतृत्व विकासका विषयमा छलफल तथा प्रशिक्षण गरिएको हो।

व्यक्तिगत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको अभियानको नेतृत्व युवा प्रशिक्षक, बीमा परामर्शदाता तथा अध्यापक रमेश देवकोटाले गरेका थिए। अभियानबाट करिब ७ सय जना प्रत्यक्ष र ३ हजारभन्दा बढी स्थानीयवासी अप्रत्यक्ष रूपमा लाभान्वित भएको आयोजकको दाबी छ।

शहरमा एआईसम्बन्धी बहस चर्किरहेका बेला ग्रामीण तथा हिमाली क्षेत्रमा भने यसको पहुँच र प्रयोगबारे अझै पर्याप्त जानकारी पुग्न सकेको छैन। यही दूरी कम गर्ने उद्देश्यले अभियानलाई गाउँ केन्द्रित गरिएको देवकोटा बताउँछन्।

‘एआई शहरमा बस्ने मानिसका लागि मात्र होइन, गाउँका विद्यार्थी, किसान, व्यवसायी र युवाका लागि पनि उपयोगी प्रविधि हो,’ अभियानका क्रममा सहभागीलाई बताइएको थियो।

एआईको प्रयोगबाट विद्यार्थीले अध्ययन र अनुसन्धानमा सहयोग लिन सक्ने, किसानले कृषि तथा मौसमसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने र युवाले रोजगारी तथा उद्यमशीलताका नयाँ सम्भावना खोज्न सक्ने विषयमा सहभागीलाई व्यावहारिक जानकारी दिइएको थियो।

गाउँका युवालाई प्रविधिको उपभोक्ता मात्र नभई त्यसको सिर्जनात्मक प्रयोगकर्ता बनाउनुपर्नेमा समेत अभियानले जोड दिएको थियो।

अभियान केवल प्रविधिमा सीमित थिएन। गुठीचौरका विभिन्न गाउँ तथा सत्यवादी माध्यमिक विद्यालयमा उद्यमशीलता, नेतृत्व विकास, व्यक्तित्व विकास र विभिन्न सीप विकासका विषयमा पनि प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

स्थानीय स्रोत र सम्भावनाको पहिचान गरी गाउँमै उद्यम गर्न सकिने सम्भावना, नेतृत्व क्षमताको विकास र युवामा आत्मविश्वास बढाउने विषयमा सहभागीहरूसँग छलफल गरिएको थियो।

ग्रामीण क्षेत्रमा अवसरको अभावभन्दा पनि अवसरबारे पर्याप्त जानकारी नहुनु ठूलो चुनौती रहेको भन्दै स्थानीय युवालाई ज्ञान, सीप र प्रविधिसँग जोड्नुपर्नेमा अभियानले जोड दिएको थियो।

अभियानमा पछिल्लो समय बढ्दो मानसिक स्वास्थ्यका समस्याबारे पनि छलफल गरिएको थियो। सकारात्मक सोच, आत्मविश्वास वृद्धि, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका विषयमा सहभागीलाई जानकारी दिइएको थियो।

त्यस्तै, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे पनि छलफल गरिएको थियो। तापक्रम वृद्धि, मौसममा आएको परिवर्तन, कृषि उत्पादनमा पर्ने असर तथा वातावरणीय जोखिमका विषयमा स्थानीयस्तरमै सचेतना आवश्यक रहेको अभियानको निष्कर्ष थियो।

हिमाली क्षेत्रका बासिन्दा जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष प्रभावित भइरहेकाले यसबारेको ज्ञान र सचेतना समुदायस्तरमै पुर्‍याउनुपर्नेमा जोड दिइएको थियो।

अभियानको अर्को महत्वपूर्ण पक्ष थियो, बीमा। ग्रामीण क्षेत्रमा बीमासम्बन्धी जानकारी र पहुँच अझै सीमित रहेको अवस्थामा भविष्यमा आउन सक्ने जोखिमबाट आर्थिक सुरक्षा प्राप्त गर्न बीमा किन आवश्यक छ भन्नेबारे सहभागीलाई जानकारी दिइएको थियो।

बीमालाई केवल औपचारिक वित्तीय सेवाका रूपमा नभई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षाको एउटा माध्यमका रूपमा बुझाउन अभियानमा प्रयास गरिएको आयोजकले जनाएको छ।

अभियानमा सहभागी स्थानीयवासीले गाउँमै सञ्चालन गरिएको यस्तो कार्यक्रमले नयाँ विषयबारे जान्ने अवसर दिएको बताएका छन्। विशेषगरी एआईजस्तो नयाँ प्रविधिका विषयमा गाउँका विद्यार्थी र युवाले प्रत्यक्ष रूपमा जानकारी पाउनु महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ छ।

अभियानले आधुनिक प्रविधिप्रति रुचि बढाउनुका साथै नयाँ कुरा सिक्न र आफ्नै क्षमताप्रति विश्वास गर्न प्रेरित गरेको सहभागीको प्रतिक्रिया छ।

अभियानको नेतृत्व गरेका रमेश देवकोटा हाल काठमाडौंमा कलेज अध्यापनसँगै बीमा परामर्शदाता तथा प्रशिक्षकका रूपमा कार्यरत छन्।

उनकै परिकल्पनामा हालै ‘बिपत्तमा बीमा कम्पनी लिमिटेड’ स्थापना गरिएको जनाइएको छ। कम्पनीको प्रधान कार्यालय ललितपुरको बंगलामुखीमा रहेको तथा सुर्खेत र जुम्लामा सेवा केन्द्र रहेको बताइएको छ।

उक्त संस्थामार्फत एआई, नेतृत्व विकास, व्यक्तित्व विकास, मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, उद्यमशीलता विकास तथा विभिन्न सीप विकाससम्बन्धी तालिम सञ्चालन हुँदै आएको जनाइएको छ।

गुठीचौरमा सम्पन्न अभियानबाट प्राप्त अनुभवका आधारमा आगामी दिनमा कर्णालीका अन्य ग्रामीण बस्तीमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको देवकोटाले बताएका छन्।

कर्णालीका दुर्गम गाउँमा सडक, स्वास्थ्य र शिक्षासँगै अब प्रविधि र डिजिटल ज्ञानको पहुँच विस्तार पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ। गुठीचौरमा गरिएको १२ दिने अभियानले त्यही बदलिँदो आवश्यकतातर्फ एउटा सानो तर अर्थपूर्ण बहस सुरु गरेको छ, गाउँका नागरिकले पनि एआई र आधुनिक प्रविधिको अवसरबाट आफूलाई टाढा राख्नुपर्ने अवस्था छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार