पात्रहरु
दानबहादुर (जिनोपाखो)
वैशाखी (दानबहादुर कि स्वास्नी)
काइँलो (दम्पतीको छोरो)
ठिटाहरु
दीपक
निर्मल
दले
(पुष महिनाको छकालै बेला चिसोले कटक्क खाँदोछ। ओटालामै दानबहादुरका दम्पति फेर्यामै बसिरहा छुन्। दुवै दुब्ला दुब्ला बाक्ला बाक्ला च्यातिएका टाला लाया छुन्। घर पुनी नानो दुलाजो छ। दानबहादुरका कालै जुगा मुखैभरि आया छुन्।)
दानबहादुर – हैन त बुढी यो चिसोले पुनि कति कटक्क खायाको हो भुन्या। (तमाखु खाँदै)
बैशाखी – घाम पुनि आउँदैन सोलर बल्लैन झरो बाली बस्नु पड्डो हाम्रो जीवन यईथो क्या हो।
दानबहादुर – काइँलो पुनी पढ्ढैन हप्तेइ लाटीका किताब माँगी ल्याया र खाली लिस्सो र पासा हाल्ल जाँदो।
बैशाखी – तुमी खुब ज्या भुन्या त्यही गद्दिने (मकै केलाउँदै)
दानबहादुर – रासन पानी सब्बै सक्किगो छोरा सबै देश कमाउन भुनी गया छुन्। फोनसोन नाई क्या कुरा गद्दा चिठी लेख्या पई भयो।
वैशाखी – दुल्लु सामल ल्याउन जान दुई दिन लाग्दो भोलि गैजाउँ तीनैजना।
दानबहादुर – म बुढो भइँग्या बढी सामल ल्याउन सक्तैन अस्पताल पुनि पोरी टाढा भयो।
(सुटुक्क काइँलो आउँछ।)
काइँलो – बाबै अब मोलाई कापी, किताब सब्बै किन्देउ प।
दानबहादुर – हामी खाउँ कि छोरा तोलाई कापी किताब किनु कि धै कमाउने एकै परो त्यही पनि चिठ्ठी पठाउँदैन क्या गरो।
काइँलो – अब स्कुल लाग्ने बेला भइगयो पढ्नु त परो बाबै (आँसु झार्दै)
वैशाखी – दुल्लु जाउँला आफै ल्याउलाई छोरा नु रो
(सुटुक्क हुलाकी केटो आउँछ।)
हुलाकी केटो – बा-आमा आत्तु गर्या तुम्मा छोराले देशबाट चिठी पठाएको छ।
(त्यो घर वरिपरि काग कराउँछन्।)
दानबहादुर – कागले पुनि खबर ल्याइल्या त राम्मो ल्याया कि अराम्मो (चिठ्ठी समाउँदै) क्या लेख्या छ क्या हामी जान्नैनौ ल प छोरा पढ्।
काइँलो – बा यो त दाइ होइन भारत सरकारको निवेदन रैछ। हुलाकी पनि यस्ता अन्जानका के राख्दा कोजानी ल म पढ्छु। “विषय दुखद सम्बन्धमा” (दानबहादुर एक्कासी डल्छन्)
अत्यन्त दुःखका साथ जानकारी गराउनु पर्दा हामीलाई निकै पीडा भएको छ कि तपाईंका छोरा राजबहादुर को भारतमा काम गर्ने क्रममा असामयिक निधन भएको छ।
(यत्ति पढ्ने बित्तिकै चिठी चुलारो हालिदियो र रुवाबासी हुन थाल्यो। त्यसपछि सबै गाउँलेहरूलाई खबर सुनाएपछि केही दिनपछि शव घर आँगन आइपुग्यो। सबैको सरसहयोगमा अन्तिम दाहसंस्कार पनि सकियो।)
दीपक – बा आमाकै कमाई कति पुग्ला हामी पनि त केही गर्नुपर्यो। साथ्यौ।
निर्मल – हामीहरूकै अन्तिम विकल्प विदेश हो। राजको शवले डर देखाइहाल्यो
दले – आउ आउ ट्यापौ हाम्मै देशमा केही गन्नुपर्छ। हामी विदेश गएपछि को बनाउला त देश
दीपक – भोलि माथि लामीथाडामा मन्त्रीज्यू चन्दननाथ, पाण्डव गुफा, कनका सुन्दरी मन्दिर अनुगमन गर्न आउने रे रेडियोमा सुनेको नि मैले
निर्मल – हो र त्यसोभए हामी सिंजाली कथा व्यथा सुझाउनुपर्छ।
(भन्दै आफ्नो बाटो लाग्छन् र काइँलो घर जान्छ।)
काइँलो – बाबै माथि कार्यक्रम छ गरे आउ गरे माथिका नेता आउनेन गरे
दानबहादुर – फेरि चुनाव आउन लागो त थोला सुमसुम्याउन आया हुनान (चट्ट पर्दै)
(सिंजा क्षेत्रका सबैजना लामीथाडाको हलमा पुग्छन्।)
नेताज्यू – हाम्मो खस भाषाको उद्गमस्थल हाम्रो सिंजा स्वर्गभन्दा अक्चाली प्यारो छ। जताततै सेता हिमाल टलक्क परेका छुन्। हाम्रो सिंजाको पहिचान चन्दनाथ मन्दिर , कनका सुन्दरी मन्दिर उत्तिकै राम्मा छुन्। पाँच भाइ पाण्डवको गुफा झन् उत्तिकै राम्मो
दानबहादुर – राजधानीमा बस्न्याकन सोधिरहयाछु हजुर, हजुरका टाला पुनि कति टाढासम्म राम्मो बास आउँदो छ। मुखैभरि चिल्लो क्रिम घसेका छौ। मेरा टाला त पारी टाढासम्म यही रहेका सबै मान्ठाकन गन्ध आयाको छ हजुर। कर्णालीकन तुमीले दाउँलाले बाँधील्याउ। तुमी त हेलिकप्टरमै आउँछौ र केही मान्नैनौ हामी कन त सदरमुकाम जान पुनि दुई दिन लाग्दा छुन्।
चुनाव गयादै आज तुम्मो मुहार देखियो। पर्सि फेरि चुनाव आउँदैछ नेताज्यू आजसम्म तुम्मो थोलो सिंहदरबारौदो लुक्या छियो। आज पनि त्यही ट्वाइलेटको उद्घाटनमा एक रिबन काट्न आया रहेछौ र पो भेट भो। अस्पताल जानु दुई दिन लाग्दो छ। नेइरो रोड काटीदिया पुनि हुने छियो। एम्बुलेन्स ल्याइदिया पुनि हुने छियो। न्या कोच्चाउँदो क्या ओक्तोमुलो हुने छियो। न्याइदा जडीबुटी यार्सागुम्बा, पाँचऔँले सबै बेच्न्या चाँजोमाजो मिलाइदिया हुने छियो। राजधानीमा बस्न्याकन क्या थाहा हुने छियो। तुमीले त खोस्टो नागरिकता र भोटर कार्ड बाहेक के दियाका छौ।
(भावुक हुँदै कार्यक्रम सम्पन्न भयो)
वैशाखी – काइँला अब जोइ ल्या त भैगो दाइ कमाउने थियो बाइगयो। हामी दुई बुढा भइगयौ काम गर्न सक्तैनौँ। (भावुक हुँदै)
दानबहादुर – यही आटो खानु छ फाटो लाउनु छ। क्या रोगले च्याप्तो, क्या रोगले च्याप्तो, मु पुनि अहिले छ कि पछि कठैबरिअ
काइँला – भख्खर त १६ वर्ष भयाँ त बाबै भख्खर एसइइ दिँया धेरै पढ्न त देउ ठूलो हुन देउ अहिले बालविवाहको मुद्दा पनि लाग्दो छ।
दानबहादुर – पारिवारिक हाम्मो समस्याले तोलाई को पढाउनेछ। को हेन्न्या छ। काम गर्ने कोही नाई सामल पनि सकिगो भोलि रात्तै दुल्लु जानु छ।
(भोलि बिहानै हुन्छ दुल्लुतिर लाग्छन्।)
काइँला – यस्ता च्यात्तियाका टाला लगाई दुल्लु जानु लाजै लाग्दो बाबै
वैशाखी – के गर्नु त हाम्मो कमाईदमाई केही नाइ को हेन्या छ हामी कोच्चाउदा कन।
(ठाडी भाका गाउँदै कनका सुन्दरी मन्दिरमा पूजा गर्दै लाग्छन्।)
निर्मल – आज हाम्रो गाउँ निस्याइलो शान्त छ त (सुर्तीको रस थुक्दै) आज छोट्टी खेल्न जानुपर्छ कि जस्तो छ।
दीपक – जाउँ ती पारी गाउँकी तीनजना टोकेनी छुइ छुन्
दले – हामी पनि तीन टोकेनी पनि तीन आज मस्त देउडा खेल लाउनुपर्छ। (खुसी हुँदै)
(रातीको समय झरो झिल्काउँदै पारी गाउँ लाग्छन् , पाखामा आगो चम्काउँछन्। र हा…… भन्दै देउडा खेल लगाउँछन्।)
दानबहादुर – रातीको समय पनि भो.. यहाँ एक दाड छ। त्यही दाउरा खोजेर रात कटाउनुपर्छ।
(गाउँमा राति ४ बजे भाले बाँस्छ। सबै भालेको डाकोसँगै उठ्छन्।)
काइँला – दुःख सबै एक्लै सम्हाल्छु जोइसोई ल्याउँदैन। भोलि झन् अप्ठ्यारो पर्न सक्छ।
बैशाखी – १२ वर्षकी पइल मु त आयाउ केही त भयो न तेरा बालाई अहिले छ कि भोलि।
(भन्दै सामल ल्याएर घरतिर पुग्छन्)
दानबहादुर – त्यति टाढासम्म यति सामल ल्याउनुपर्ने हो र हातखुट्टा चर्के त
(गाउँका सबै भेला भएर ओक्तोमुलो गर्छन्।)
दीपक – अब डोकोमा भएपनि अस्पतालमा लिनुपर्छ। लाग सबैजना।
(अद्ध बाटोमा लग्दै दानबहादुर सधैँका लागि बिदा हुन्छन्।)
न घरको न घाटको
















