पचालझरना गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपालको सहयोगमा विपद् प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ। राहत वितरण कार्यक्रम २०८३ साल जेठ १३ गते सम्पन्न भएको हो।
कार्यक्रममा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समिति सम्पर्क व्यक्ति, आईएनएफ नेपाल कालिकोट शाखाका कर्मचारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राहत सामग्री गाउँपालिका अध्यक्ष शाहीले प्रभावित परिवारलाई हस्तान्तरण गरेका थिए।
गत जेठ ८ गते परेको भीषण वर्षाका कारण पचालझरना गाउँपालिका–८ भैसीसैन–लाफा बजार क्षेत्रमा ठूलो क्षति पुगेको थियो। उक्त विपद्का कारण ५ वटा घर तथा पसल पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ४ वटा घर तथा पसलमा आंशिक क्षति पुगेको थियो।
विपद् लगत्तै पचालझरना गाउँपालिका र नेपाल प्रहरीको टोलीले प्रभावित परिवारहरूको उद्धार गरेको थियो। त्यसपछि बसेको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित घरधुरीका लागि राहत संकलन तथा वितरणका लागि नेपाल रेडक्रस सोसाइटी र आईएनएफ नेपालसँग समन्वय गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार आईएनफ नेपालले पूर्ण रूपमा क्षति भएका ५ घरधुरीलाई प्रति परिवार २५ केजी चामल, ४ केजी दाल, एक प्याकेट नुन, दुई प्याकेट तेल, एक थान ब्ल्याङ्केट, एक थान डसना, एक थान कराइ र एक थान डेक्ची वितरण गरेको आइएनएफ कालिकोटका श्याम देवकोटाले बताए।
उनका अनुसार आंशिक रूपमा क्षति भएका ४ घरधुरीलाई प्रति परिवार २५ केजी चामल, ४ केजी दाल, एक प्याकेट नुन र दुई प्याकेट तेल राहतस्वरूप प्रदान गरिएको थियो।
स्थानीय तह, सुरक्षा निकाय तथा सहयोगी संस्थाहरूको समन्वयमा राहत वितरण भएपछि प्रभावित परिवारले तत्काल राहत पाएको बताएका छन्। गाउँपालिकाले विपद्बाट प्रभावित परिवारको पुनःस्थापना तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायहरूसँग समन्वय जारी राख्ने जनाएको छ।
















