बुधबार, २७ जेष्ठ, २०८३

पहिरोले थुनियो कर्णाली करिडोर 

अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड बुधबार पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु र एक सयभन्दा बढी सवारी साधन विभिन्न स्थानमा रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीका अनुसार मंगलबार रातिदेखिको वर्षाले नरहरिनाथ गाउँपालिका अन्तर्गत लालीघाट भौतेकुना, सान्नीत्रिवेणीको रैगिंल क्षेत्र तथा पचालझरना गाउँपालिकाको घाटपारी खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

पहिरो पन्छाउन डोजर तथा जेसीबी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ। डिएसपी खत्रीका अनुसार करिब तीन किलोमिटर सडक क्षेत्रमा लेदो र पहिरो फैलिएकाले तत्काल सडक खुल्ने सम्भावना न्यून छ।

सडक अवरुद्ध भएपछि रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आवतजावत गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्। सुर्खेतबाट गन्तव्यतर्फ हिँडेका सवारी साधनसमेत खुलालु क्षेत्रमा रोकिएको जनाइएको छ।

यात्रुहरू लालीघाट, रैगिंल, सान्नीगाड र खुलालु लगायतका स्थानमा अलपत्र परेका छन्। बिरामी, परीक्षार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गरिरहेका नागरिकहरू बढी प्रभावित बनेका छन्।

रास्कोटका प्रेम चौलागाईंका अनुसार सडक बन्द हुँदा धेरै यात्रु खुला आकाशमुनि बस्न बाध्य भएका छन्। यस्तै, सुर्खेतमा घाँटीको शल्यक्रिया गराएर घर फर्कंदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका ७६ वर्षीय धनबहादुर केसी लालीघाटमा रोकिएका छन्। बसोबासको उचित व्यवस्था नहुँदा यात्रुहरूले थप सास्ती भोग्नुपरेको बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार