उनले दौडलाई खेलका रूपमा मात्रै नभई जीवनको उद्देश्यका रूपमा लिन थालिन्। लगातार अभ्यास, दृढ इच्छाशक्ति र लक्ष्यप्रतिको समर्पणले उनलाई राष्ट्रिय स्तरसम्म पुर्यायो।
कर्णालीको जुम्ला त्यसमा पनि पातारासीको विकट भूगोल, कठिन जीवनशैली र सीमित अवसरबीचबाट पनि असाधारण प्रतिभा उदाउन सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, सुनमाया बुढा। जुम्लाको पातारासी गाउँपालिका–२, पेरे गाउँमा जन्मिएकी उनी आज सफल धावक मात्र होइनन्, संघर्ष र साहसको सशक्त प्रतीक बनेकी छन्।
बुबा गोर बहादुर बुढा र आमा मनकली बुढाको कोखबाट जन्मिएकी सुनमायाको जीवन यात्रा सामान्य परिवेशबाट सुरु भए पनि असाधारण उपलब्धिसम्म पुगेको छ।फसुनमाया सात दिदीबहिनीमध्ये चौथो छोरी तथा समग्रमा पाँचौँ सन्तान हुन्।
परम्परागत सोचले गाँजिएको समाजमा छोराको चाहना अझै गहिरो रूपमा बसिरहेको अवस्थामा लगातार छोरी जन्मिँदा परिवार र समाजले गर्ने व्यवहारले उनको बाल्यकाल सहज बन्न सकेन। उनी भन्छिन्, ‘हामी धेरै छोरी जन्मिएका हौँ, किनकि घरमा छोराको चाहना थियो।’ यो भनाइले उनको बाल्यकालमा भोग्नुपरेको मानसिक र सामाजिक दबाब स्पष्ट झल्काउँछ।
तर, यिनै चुनौतीहरूले सुनमायालाई कमजोर बनाएनन्। बरु, उनले ती अनुभवलाई आफ्नो शक्ति बनाइन्। सानैदेखि मेहनती, अनुशासित र जुझारु स्वभावकी सुनमायाले विद्यालय जीवनमै आफ्नो फरक पहिचान बनाउन थालिन्। गाउँकै गंगा माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा उनी खेलकुदमा विशेष रुचि राख्थिन्। विशेषगरी दौडमा उनको अद्भुत क्षमता देखिन थालिसकेको थियो।
२०६८ सालमा कक्षा ७ मा अध्ययनरत हुँदा उनले जुम्ला बजारको टुडिखेलमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५०० मिटर दौडमा दोस्रो स्थान हासिल गरिन्। त्यो उनको जीवनको पहिलो ठूलो उपलब्धि थियो। यो सफलताले उनलाई आफ्नो क्षमतामा विश्वास दिलायो र अझै अगाडि बढ्ने प्रेरणा दियो।
त्यसपछि उनले आफ्नो अभ्यासलाई निरन्तरता दिइन्। बिहानको चिसो हावा, साँघुरा बाटा र उकालो–ओरालो बाटोहरू उनको अभ्यासका साथी बने। सीमित स्रोतसाधनका बाबजुद उनले आफ्नो लक्ष्य छोडिनन्।
२०७१ सालमा सिंजा नराकोटमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले पहिलो स्थान हासिल गरिन्। यो सफलता उनका लागि केवल पुरस्कार मात्र थिएन, यो उनको आत्मविश्वासको नयाँ उचाइ थियो।
त्यहीँबाट सुरु भयो उनको वास्तविक यात्रा। उनले दौडलाई खेलका रूपमा मात्रै नभई जीवनको उद्देश्यका रूपमा लिन थालिन्। लगातार अभ्यास, दृढ इच्छाशक्ति र लक्ष्यप्रतिको समर्पणले उनलाई राष्ट्रिय स्तरसम्म पुर्यायो। समयसँगै उनी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन थालिन् र उत्कृष्ट प्रदर्शन गर्न सफल भइन्।
आज सुनमाया बुढा विश्वस्तरमा चिनिने नेपाली धावकका रूपमा स्थापित भइसकेकी छन्। उनले आफ्नो अथक मेहनत र लगनशीलताका कारण विश्व कीर्तिमानसम्म कायम गर्न सफल भएकी छन्। उनको उपलब्धिले केवल उनको व्यक्तिगत सफलता मात्र होइन, सिंगो कर्णाली र नेपालकै गौरव बढाएको छ।
उनको यात्राले एउटा महत्वपूर्ण सन्देश दिन्छ, परिस्थिति जस्तोसुकै भए पनि दृढ इच्छाशक्ति र निरन्तर प्रयास भए सफलता अवश्य सम्भव हुन्छ। छोरी भएकै कारण उपेक्षित हुनुपरेको बाल्यकालबाट विश्व कीर्तिमानसम्मको यात्रा सजिलो थिएन। तर, उनले कहिल्यै हार मानिनन्।
आज उनी धेरै युवायुवतीका लागि प्रेरणाको स्रोत बनेकी छन्। विशेषगरी कर्णालीजस्ता दुर्गम क्षेत्रमा रहेका बालबालिकाका लागि उनको कथा आशा र सम्भावनाको प्रतीक हो। ‘म जहाँबाट आएँ, त्यहाँ अवसर कम थिए, तर सपनाको कुनै सीमा हुँदैन,’ भन्ने उनको सोचले धेरैलाई अघि बढ्न हौसला दिन्छ।
सुनमायाको जीवनले संघर्षलाई स्वीकार गरेर, निरन्तर मेहनत गर्दै अघि बढ्दा असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने देखाउँछ। उनको सफलताको कथा मात्र आत्मविश्वास, धैर्यता र साहसको अद्वितीय उदाहरण हो।
उनको यात्राले समाजलाई पनि सोच्न बाध्य बनाउँछ, छोरीलाई कमजोर ठान्ने सोच परिवर्तन गर्न जरुरी छ। किनकि, अवसर र समर्थन पाए छोरीहरूले पनि आकाश छुने क्षमता राख्छन्। सुनमाया बुढा त्यही सत्यको जिउँदो प्रमाण हुन्।















