जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत थप तीन जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ असार २६ गते साँझ करिब ७:०० बजे तिला गाउँपालिका–१ रारालिहीस्थित जुम्ला–नाग्म सडकखण्डमा प्रहरी चौकी नाग्मा रारालिहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई जना र जिल्ला प्रहरी कार्यालय अगाडि एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका–५ का २० वर्षीय बरिष्ठ डागी, कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय दिनेशबहादुर शाही तथा तिलागुफा नगरपालिका–११ का ३० वर्षीय तपेन्द्रबहादुर शाही रहेका छन्।
कालिकोटबाट जुम्लातर्फ आउँदै गरेको मोटरसाइकललाई शङ्कास्पद ठानी चेकजाँच तथा खानतलासी गर्दा लागूऔषध फेला परेपछि मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तातोपानी गाउँपालिका–५ का २० वर्षीय बरिष्ठ डागी बाट बरामद गरिएको लागूऔषधको तौल नापजाँच गर्दा ८३० मिलिग्राम भएको र बाकी दुई जना बाट बरामद गरेको नापतौल गर्न प्रक्रिया जारी रहेको र थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहाल ले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको बताउँदै यस घटनामा पक्राउ परेका तीन जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
















