कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको आयोजनामा तथा जिल्ला ट्राफिक कार्यालय जुम्लाको सहकार्य र समन्वयमा जुम्लामा यातायात तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
जुम्लास्थित होटल स्टे भ्याली भ्युको सभाहलमा मंगलबार बिहान आयोजित कार्यक्रममा तिला कर्णाली यातायात समिति, भैरवनाथ यातायात सेवा समिति लगायत विभिन्न यातायात व्यवसायी, सवारी चालक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, सुर्खेत अन्तर्गत यातायात समन्वय शाखाका शाखा अधिकृत थिरकुमार न्यौपाने र मेकानिकल इन्जिनियर उत्सव धितालले सडक सुरक्षा, सवारी सञ्चालनका मापदण्ड, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित यातायात व्यवस्थापनका विषयमा प्रशिक्षण तथा जानकारी प्रदान गरेका थिए।

त्यसैगरी जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख तथा ट्राफिक इन्चार्ज प्रकाशबहादुर शाही र मेकानिकल इन्जिनियर धितालले सहभागीहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटना रोकथाम सम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय जुम्लाका प्रमुख राजेन्द्र कार्की, निमित्त कार्यालय प्रमुख लोकबहादुर महत लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि तथा सुरक्षित यात्राको संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमबाट यातायात क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई सडक सुरक्षाबारे थप जानकारी र सचेतना प्रदान भएको आयोजकले जनाएको छ।
















