सरकार न सहकारी सञ्चालकलाई समात्न सक्छ न बचतकर्ताको पैसा फिर्ता गर्न सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकरी विभागले हिजो धमाधम लाइसेन्स बाँड्यो । तर, सहकारीको लगानी कहाँ छ ? खोजेन ।
सहकारीमा बचतकर्ताको पाँच हजारदेखि ४५ करोड रुपैयाँसम्म फसेको छ । त्यसमा कतिले दुःख गरेर कमाएको पैसा छ भने कतिले भ्रष्टाचार गरेर, राजश्व छलेर कमाएको । कतिपयले ब्याजको लोभमा पैसा राखे त कतिपयले स्रोत खुलाउन नपर्ने भएकाले । बैंकमा १० लाखभन्दा माथि रकम बचत गर्दा स्रोत खुलाउनुपर्छ । तर, सहकारीको हकमा त्यो व्यवस्था छैन ।
जति पैसा राखेतापनि आयस्रोत देखाउनुपर्दैन । सहकारी सञ्चालकले सो रकम घरजग्गा, सेयर, सुन र गाडीमा कर्जा लगानी गरे । कतिपय सहकारी सञ्चालकले आफैंले जग्गा प्लानिङ गरे । व्यापारीहरुलाई बिना धितो कर्जा लगानी गरियो । घरजग्गा, सेयरको कारोबारमा मन्दीपछि सहकारी डुब्यो ।
किनकि, सहकारीले कर्जा उठाउन सकेन । धितोको भ्यालुएशन घट्दै गयो भने सहकारीले त्यो धितो लिलाम गर्न सकेन । सहकारीहरु डुबेपछि बचतकर्ताको बिल्लीबाठ भएको छ । तैपनि, उनीहरुले नियामक निकायमा गएर उजुरी गर्न सकेका छैनन् । कारण हो–आयस्रोत । आफैं फस्ने भएपछि उनीहरु रिपोर्ट गर्न नगएका हुन् ।
सहकारीमा कालोधन थियो । देशभरको सहकारी डुबिसकेको छ । कतिपय सहकारी सञ्चालक फरार छन् भने कतिपय जेलमा । सहकारीको कार्यालय बसेको घरका धनीहरुले धमाधम आफैंले बोर्ड निकालिरहेका छन् । घरमा आक्रमण हुने डरले उनीहरुले बोर्ड निकाल्न थालेका हुन् ।
घरधनीहरुले घर खाली गराउनका लागि स्थानीय पालिका र प्रहरीमा उजुरी पनि दिएका छन् । सहकारीले आफ्नै भवन भन्दै बचतकर्ताबाट करोडौं रुपैयाँ लिएका थिए । अहिले ती सहकारी पनि डुबेको छ । नभागेका तर संकटमा रहेका सहकारीले आफू बच्नका लागि बचतकर्तालाई जग्गा भिराउन खोजेका छन् ।
आनाको एक लाख नजाने दुर्गमका जग्गा २५ देखि ३० लाखमा लिनुस् भनिरहेका छन् सहकारी सञ्चालक । पैसा लिने बेला काठमाडौं उपत्यकाभित्रका बचतकर्तासँग, उनी जग्गादेखि ताप्लेजुङदेखि रामेछापको देखाउने । लिए त्यहीँ लेऊ, नत्र छैन भन्दै बचतकर्तालाई फसाइरहेको अवस्था छ ।
धेरैले काठमाडौं उपत्यकाभित्र भएको आफ्नो जग्गा बेचेर सहकारीमा पैसा राखेका थिए । अहिले अब ताप्लेजुङको जग्गा लिनुपरेको छ, त्योपनि एकदमै मँहगोमा । बचतकर्तालाई नराम्ररी फसाइएको छ । धितोबापत तानिएका गाडी, सेयरहरुलाई पनि महँगोमा बचतकर्तालाई भिराउने प्रयास भइरहेको छ ।
राजनीतिक दलहरुले टोलटोलमा सहकारी, घरघरमा धानको भकारी भनेर नारासहित सहकारी खोल्न दिए । घरमा सहकारी खुल्यो । तर, त्यसले घरघरमा धानको भकारी होइन, भोकभोकै बस्नुपर्ने बाध्यतामा पुर्यायो । सहकारीको पैसा हिनामिना गर्ने राजनीतिक दलका नेता, सुकुम्बासी बन्ने जनता ।
सरकार न सहकारी सञ्चालकलाई समात्न सक्छ न बचतकर्ताको पैसा फिर्ता गर्न सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकरी विभागले हिजो धमाधम लाइसेन्स बाँड्यो । तर, सहकारीको लगानी कहाँ छ ? खोजेन । जसका कारण आफ्नो पसिना बगाएर बचत गर्नेहरु पनि डुबेका छन् ।
सहकारी खोल्ने बेलामा ५ हजारदेखि पाँच लाखसम्म डिपोजिट राखे । तर, करोडदेखि अर्ब उठाएर खाए । जसका कारण सर्वसाधारण चुलुम्मै डुबे । सेवाशुल्क एक प्रतिशत तीन प्रतिशत लिने, करोड मूल्य पर्ने धितो राखेर ६० लाख दिने, तीनपटक किस्ता नतिरेमा ६० लाखमै करोडको सम्पत्ति खाइदिने, ब्याज भन्ने बेलामा १२ प्रतिशत भनेर ८० प्रतिशत उठाउने ।
वर्षैपिच्छे ऋणको नवीकरण गर्न लगाइन्थ्यो । ऋण लिँदा हरेकपल्ट घुस खुवाउनुपर्थ्यो । सहकारीको असलियत थाहा पाएपछि जनता ऋण लिनै गएनन् । जसका कारण आज सहकारीको यो हविगत भएको हो । अझैपनि जनता सचेत नहुने र ब्याजको लोभमा सहकारीमा पैसा राख्ने हो भने चुलुम्मै डुबिन्छ ।
सर्वसाधारणले अब आफ्नो रकम सरकारी बैंकमा लगेर राख्नुपर्छ । किन कि निजी बैंकको पनि कुनै ठेगान छैन । निजी बैंक पनि सहकारीकै बाटोमा हिँडिरहेको छ । सहकारीको पैसा फिर्ता आउँदैन भन्ने जनताले थाहा पाइसकेका छन् । किन कि धेरै सहकारी सञ्चालक देश छोडेर विदेश पुगेका छन् ।
कुनै लुकेर हिँडेका छन् त कतिपय जेलमा छन् । सहकारीको पैसा माया मार्नुबाहेकको विकल्प नै छैन । सहकारी पीडितहरुले ६२ दिन अनशन बसे । पटकपटक आन्दोलन गरे । रत्नपार्कमा आन्दोलनमा उत्रिए । तर, त्यसको उपलब्धि शून्य छ । राज्यले सहकारी पीडितको कुरा सुनेन ।
सहकारी पीडितको आवाज उठाएको नाममा केही व्यक्ति नेता भए । सरकारसँग वार्तामा बसे, सम्बन्ध राम्रो बनाए । बजारमा गाडी, सेयर, घरजग्गा, सुन बेच्ने यत्तिकै छन् । तर, किन्ने मान्छे भेटिदैनन् । जनतासँग बिहान बेलुका छाक टार्ने पैसा छैन, घरजग्गा गाडी सेयर कसले किन्ने ?
यी क्षेत्रमा लगानी गर्नेहरु डुबे । त्यो फर्केर आउँछ भनि कल्पना नगर्दापनि हुन्छ । सरकारले बेलैमा यी क्षेत्रमा लगानी नगर्नु भनेर अंकुशे लगाइदिएको भए, सायदै आज जनता डुब्थें । उनीहरुको घरमा रुवाबासी चल्थ्यो । जनता फसिरहे, राज्य रमिता हेरिरह्यो । सरकारले कहिल्यै जनतालाई सचेत गराएन ।
भोलिको दिनमा यस्तो अवस्था आउन सक्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकार चुप लागेर बस्यो । सरकारले बेलैमा सचेत गराइदिएको भए जनता आज डुब्दैनथें । दलालीहरुले सँधै जनतालाई फसाए । केही होला भनेर जनताले दलालीको पछाडि लागेर लगानी गरे । अनि डुबेपछि जनता आत्महत्या गर्छन् ।
दलाली मोटाएको मोटायै छन्, जनता डुबेको डुब्यै । जनतालाई ठगिखान सिकाउने राज्य हो । राज्यले कहिल्यै जनतालाई गरिखान सिकाएन । करका लागि पर्दाभित्र बसेर सरकारले ठग्न सिकायो । जसको अमेरिकादेखि नेपालमा दर्जनौं मुद्दा छ, उसैको पार्टीले गत फागुन २१ ग्तेको निर्वाचनमा १८२ सिट ल्यायो ।
रास्वपा सभापति रवि लामिछानेले १० करोडभन्दा बढी रकम धरौटी र बिगो राखेका छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण, राहदानी र नागरिकता दुरुपयोगको मुद्दा छ । तर, उसैको पार्टीलाई जनताले जिताए । अब भनौं देश बिगार्ने जनता हुन् कि होइनन् ?
जताततै मुद्दा भएको व्यक्तिलाई पनि जनताले जिताएका छन् । जनता कस्ता छन् ? देखिहालियो । नेता बन्ने कस्ता हुन्छन् ? भन्ने पनि छर्लंग देखिइसकिएको छ । नेता बन्नका लागि यहाँ सहकारी ठग्नुपर्ने, सरकारी सम्पत्ति जलाउनुपर्ने रहेछ । जनताले कहिल्यै कुन कुरा सही र गलत भनि छुट्याउन सकेनन् ।
जति नै पढे पनि जनतामा चेतना आएन । रास्वपाले आफ्नो सरकार बनेको एक सय दिनमै सहकारीको पैसा फिर्ता दिन्छौं भनि भ्रम छरिदियो । रविको सम्पत्ति बेचेर ल्याएर सहकारीको पैसा फिर्ता दिने कि जनताले तिरेको कर बाँड्ने ? जनताको पैसा खाने रवि अनि तिर्ने पनि जनताकै करबाट ?
यो सरासर जनतालाई उल्लु बनाएको होइन । जसले सहकारीको पैसा हिनामिना गरेको छ, उसैले सहकारीको पैसा फिर्ता गर्छ भनि जनताले भोट हालेका छन् । योभन्दा हास्यास्पद कुरा के होला । सरकारले अब सहकारीमा पैसा राख्नेहरुको आयस्रोत खोज्नुपर्छ ।
















