बुधबार, २ बैशाख, २०८३

बिशु पर्व: सुदूरपश्चिमको जीवनशैली, आस्था र सांस्कृतिक पहिचानको उत्सव

बिशु पर्वको तयारी चैत महिनादेखि नै सुरु हुन्छ। घरहरू माटो र कमेरोले लिपपोत गरिन्छ, जसलाई ‘घर छिप्ने’ भनिन्छ। यसले घरलाई सफा र सुन्दर बनाउनुका साथै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास पनि रहन्छ।

नेपालको सुदूरपश्चिम क्षेत्र आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धका कारण विशिष्ट पहिचान बोकेको भूभाग हो। यही समृद्ध सांस्कृतिक धरोहरभित्र महत्वपूर्ण स्थान ओगटेको पर्व हो बिशु पर्व (बिसु तिहार)।

यो पर्व हरेक वर्ष वैशाख १ गते, अर्थात् नेपाली नयाँ वर्षको दिन विशेष उत्साहका साथ मनाइन्छ। दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी लगायतका जिल्लाहरूमा यसको विशेष महत्व रहेको छ।

बिशु पर्व नयाँ वर्षको सुरुआत मात्र होइन, सामाजिक एकता, स्वास्थ्य, समृद्धि र सांस्कृतिक निरन्तरताको प्रतीक पनि हो। पौराणिक विश्वासअनुसार यो पर्व हिन्दू सम्राट विक्रमादित्यको स्मरणसँग जोडिएको मानिन्छ।

साथै सूर्यले आफ्नो वार्षिक चक्र पूरा गरेको अवसरका रूपमा पनि यसलाई लिने गरिन्छ, जसले नयाँ सुरुआतको संकेत दिन्छ। नेपाल बाहिर पनि भारतका केही स्थानमा बैशाखी वा बिहुका रूपमा मिल्दोजुल्दो पर्व मनाइने भएकाले यसको सांस्कृतिक प्रभाव व्यापक देखिन्छ।

यस पर्वको सबैभन्दा अनौठो पक्ष भनेको सिस्नो लगाउने परम्परा हो। देवर–भाउजू, नन्द–भाउजू र साली भिनाजुबीच सिस्नो पानी छ्यापेर रमाइलो गर्ने चलनले सम्बन्धलाई अझ नजिक बनाउँछ।

नातागोता नभएका मानिसहरूले पनि आफैं शरीरमा सिस्नो लगाउने गर्छन्। जनविश्वास अनुसार यसले शरीरलाई रोगबाट जोगाउने, छालाका समस्या कम गर्ने र स्फूर्ति दिने काम गर्छ। यसरी सानो पीडाभित्र स्वास्थ्य र विश्वासको गहिरो अर्थ लुकेको पाइन्छ।

बिशु पर्वको तयारी चैत महिनादेखि नै सुरु हुन्छ। घरहरू माटो र कमेरोले लिपपोत गरिन्छ, जसलाई ‘घर छिप्ने’ भनिन्छ। यसले घरलाई सफा र सुन्दर बनाउनुका साथै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास पनि रहन्छ।

त्यस्तै, जौलाई गाईको गोबरसँग मिसाएर घरको ढोकामा टाँस्ने र भूमिदेवतालाई चढाउने चलनले प्रकृतिप्रतिको सम्मान झल्काउँछ। यसले कृषि जीवनशैलीसँग जोडिएको सांस्कृतिक चेतना देखाउँछ।

खानपानको दृष्टिले पनि यो पर्व निकै विशेष छ। ‘गतानी डुब्का’, बटुक, बाबर जस्ता परिकारहरू पकाइन्छन् र कुलदेवतालाई चढाइन्छ। कतिपय ठाउँमा तातो झीरले पेटमा डाम्ने चलन पनि पाइन्छ, जसलाई स्वास्थ्यसँग सम्बन्धित विश्वासका रूपमा लिइन्छ।

बिहानै उठेर आकाशतर्फ हेर्ने र “घोलपाउ चरी घोल पाउ” भन्ने परम्पराले सकारात्मक सोच र शुभकामनाको भाव व्यक्त गर्छ। यस पर्वमा देउडा खेल, पुतला नाच, ‘बिशु बाघ’ दौडाउने जस्ता गतिविधिहरूले गाउँघरमा उत्साह थप्छन्।

गल्लौडी जात्रा जस्ता परम्परागत मेलाहरूले सामूहिक सहभागिता बढाउँछन्। महिलाहरूको सक्रिय सहभागिता र पुरुषहरूको प्रस्तुति मिलेर बिशु पर्व अझ जीवन्त बन्छ।

बिशु पर्व सामाजिक पुनर्मिलनको अवसर पनि हो। रोजगारी वा अध्ययनका लागि बाहिर गएका मानिसहरू यस समयमा घर फर्कन्छन्।

बिहे गरेर गएका छोरीचेलीहरू पनि माइत आउने भएकाले गाउँघरमा विशेष रौनक छाउँछ। यसले परिवार र समाजबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ।

तर, आधुनिकता र शहरीकरणसँगै केही परम्पराहरू हराउँदै गएका छन्। सिमेन्टका घरहरूको वृद्धि हुँदा माटोले लिपपोत गर्ने चलन घट्दै गएको छ भने सिस्नो लगाउने अभ्यास पनि कम हुँदै गएको देखिन्छ। यसले मौलिक संस्कृति जोगाउने चुनौती खडा गरेको छ।

अन्त्यमा, बिशु पर्व सुदूरपश्चिम मात्र होइन, सम्पूर्ण नेपालको अमूल्य सांस्कृतिक सम्पदा हो। यसले नयाँ वर्षसँगै स्वास्थ्य, एकता, प्रकृतिप्रतिको सम्मान र सांस्कृतिक निरन्तरताको सन्देश दिन्छ।

त्यसैले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै यस पर्वलाई संरक्षण गर्नु आजको आवश्यकता हो, ताकि भावी पुस्ताले पनि यसलाई गर्वका साथ अनुभव गर्न सकून्।

(लेखक सहप्राध्यापक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष हुनुहुन्छ। उहाँ छबिसपाथीभेरा -५ थलारा, बझाङका स्थायी बासिन्दा हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार