यदि गगन थापा, केपी ओली जस्ता नेता सुदूर, कर्नाली वा पहाडी क्षेत्रबाट चुनावमा उठ्थे भने जीत सुनिश्चित हुन्थ्यो। प्रचण्डले देखाएका छन्, सुदूर र कर्णाली जस्ता ग्रामीण र दूरदराजका क्षेत्रहरूबाट उठेर मात्र सफलता सम्भव छ।
नेपालको राजनीतिक परिदृश्यलाई बुझ्नका लागि एउटा मुख्य कुरा बुझ्नु जरुरी छ, रणनीति र शक्ति संरचनाको सम्बन्ध। एक समय माओवादी आन्दोलनले ‘गाउँबाट सहर पस्ने’ रणनीति अपनायो।
त्यो केवल सैन्य वा राजनीतिक कदम मात्र थिएन, त्यो ग्रामीण समाजमा रहेका असमानता, अन्याय र राज्यको कमजोर उपस्थितिको उपयोग गरेर तयार गरिएको आन्दोलन थियो।
आजको सन्दर्भमा वैकल्पिक राजनीतिक शक्ति रास्वपा ‘सहरबाट गाउँ जाने’ अभियानको कुरा गरिरहेका छन्। तर व्यवहारमा देखिन्छ नेपालको राजनीति अझै सहर र तराई केन्द्रित छ।
कर्णाली, सुदूरपश्चिम र देशका पहाडी र हिमाली क्षेत्रहरुमा सामन्तवादी संरचनाका अवशेष अझै बाँकी छन्। त्यहाँ स्थानीय स्तरमा केही व्यक्ति वा समूहहरू जस्त ‘छोटे राजा’ जस्ता शक्ति केन्द्रका रूपमा स्थापित छन्।
कतिपय ठाउँमा प्रहरी, प्रशासन र कर्मचारीतन्त्र समेत त्यही शक्ति संरचनाको प्रभावमा देखिन्छ। यस कारण पनि राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली, सुदूर र पहाडी क्षेत्रबाट धेरै मत नल्यानुको कारण यो पनि हो ।
यस सन्दर्भमा प्रचण्डको रणनीति विशेष ध्यानयोग्य छ। हालको निर्वाचनमा उनले आफ्नो शक्ति सुरक्षित राख्न सफल भएका छन्। उनले समझदारीपूर्वक ग्रामीण क्षेत्र र आफ्नो आधार रहेको ठाउँबाट मत संकलन गरेर आफूलाई सुरछित बनाएका छन्।
यदि गगन थापा, केपी ओली जस्ता नेता सुदूर, कर्नाली वा पहाडी क्षेत्रबाट चुनावमा उठ्थे भने जीत सुनिश्चित हुन्थ्यो। प्रचण्डले देखाएका छन्, सुदूर र कर्णाली जस्ता ग्रामीण र दूरदराजका क्षेत्रहरूबाट उठेर मात्र सफलता सम्भव छ।
संघीयता नेपालको ऐतिहासिक उपलब्धि हो। तर संघीयताको वास्तविक अर्थ, अधिकार र जिम्मेवारी आम जनतासम्म पुगेको छैन। धेरै नागरिकले संघीयता के हो, यसले उनीहरूको जीवनमा के परिवर्तन ल्याउँछ भन्ने कुरा बुझ्न पाएका छैनन्। जब जनता सचेत हुँदैनन्, तब पुराना शक्ति संरचनाहरूले नै शासन गर्न जारी राख्छन्।
त्यसैले आजको सबैभन्दा ठूलो चुनौती भनेको जनचेतना फैलाउनु हो। केवल सहरमा राजनीतिक अभियान चलाएर मात्र परिवर्तन सम्भव छैन। परिवर्तन तब मात्रै वास्तविक हुन्छ जब गाउँ समुदाय सचेत हुन्छ।
नेपालका कर्णाली, सुदूरपश्चिमर दुर्गम र विकट गाउँहरूमा संघीयता, लोकतन्त्र र नागरिक अधिकारबारे व्यापक शिक्षा र संवाद आवश्यक छ। जब गाउँगाउँमा चेतना जागृत हुन्छ, तब मात्र वैकल्पिक राजनीतिक शक्तिहरूले दीर्घकालीन प्रभाव निर्माण गर्न सक्छन्।
सारांशमा भन्नुपर्दा परिवर्तन सहरको सीमाभन्दा बाहिर निस्केर गाउँ समुदायमा पुग्दा मात्र पूर्ण र दिगो हुन्छ। ‘सहरबाट गाउँसम्म चेतना फैलाउनु, यही नै साँचो परिवर्तन हो। ग्रामीण आधारबाट मात्र दीर्घकालीन सफलता सम्भव छ।’













