माओवादीबाट तीन जना सभामुख भए, अग्नि सापकोटा, कृष्णबहादुर महरा र अनसरी घर्ती मगर । उपराष्ट्रपति नन्दबहादुर पुन भए । माओवादी पटकपटक सरकारमा गयो । तर, जनयुद्धका बेला उसले गरेका कुनै पनि वाचा पूरा गरेन ।
माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्यो । दश वर्ष चलेको जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं घाइते र अंगभंग भए भने हजारौं बेपत्ता छन् । जनयुद्धका बेला माओवादीले भन्ने गर्थ्यो–राजतन्त्र अन्त्य भएर हाम्रो सरकार आएपछि छिमेक भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउँछौं ।
सिक्किम, दार्जिलिङ, हाजीपुर, गोरखपुर, कागडा टिष्टा, बाघघाम, तिब्बतलगायत हम्रो भूभाग कब्जा गरिएको थियो । पटना र मुगेर गंगा नदीस्थित नेपाली भूभाग पनि हड्पियो ।
अहिले पनि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रा नेपाली भूमिमाथि उनीहरुले कब्जा जमाएका छन् । भ्रष्टाचारीलाई कारबाही गरी उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने र आफ्ना पार्टीमा लागेका नेता–कार्यकर्ताको सम्पत्ति पनि राष्ट्रियकरण गर्ने माओवादीको नारा थियो ।
जनयुद्धका बीच तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरे । त्यसविरुद्ध ०६२ चैत २४ गतेदेखि आन्दोलन शुरु भयो । १९ दिन चलेको आन्दोलनमा दर्जनौंले ज्यान गुमाए । हजारौं घाइते भए । त्यसपछि ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई दिने भन्दै संसद् ब्यूतिएको घोषणा गरे । त्यसपश्चात् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । उनी नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री भए ।
गिरिजाले माओवादीलाई शान्ति वार्तामा ल्याए । ०६४ चैत २८ गते चुनावको मिति घोषणा भयो । यो चुनावमा माओवादीको लहर लाग्यो । प्रत्यक्षतर्फ मात्र एक सय २० सिट जित्यो । धेरै क्षेत्रमा थोरै भोटले मात्र माओवादी हार्यो । ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्रको अन्त्य भयो र लोकतन्त्र गणतन्त्रको व्यवस्था ल्याइयो । तत्कालिन सदनले दुई तिहाईले यो पास गरेको थियो । लोकतन्त्र गणतन्त्रको पहिलो राष्ट्रपति डा.रामवरण यादव र पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए । यो व्यवस्था आएको १८ वर्ष भएको छ । यसबीचमा माओवादीबाट प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए ।
माओवादीबाट तीन जना सभामुख भए, अग्नि सापकोटा, कृष्णबहादुर महरा र अनसरी घर्ती मगर । उपराष्ट्रपति नन्दबहादुर पुन भए । माओवादी पटकपटक सरकारमा गयो । तर, जनयुद्धका बेला उसले गरेका कुनै पनि वाचा पूरा गरेन । न त भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याइयो न भ्रष्टाचारीहरुको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरियो । त्यसो त जनयुद्धका बेला प्रचण्डसहित माओवादी नेताहरु भारतमा भूमिगत बसेका थिए । तर लोकतन्त्र गणतन्त्रको पहिलो प्रधानमन्त्री बनेपछि प्रचण्ड शुरुमा भारत नगई चीन गएका थिए । त्यतिबेला नेपालमा प्रधानमन्त्री हुनेबित्तिकै शुरुमा भारत जाने चलन थियो । यद्यपि, प्रचण्डले त्यो परम्परा तोडे ।
सरकारले २०२१, ०२८ र ०३२ सालमा देशभर जग्गा नापजग्गा गरेको थियो । त्यसरी जनताको जग्गाको लालपूर्जा जनतालाई नै दिइयो । त्यसक्रममा भूमाफिया, दलाल, कर्मचारी, नेता, व्यापारीलगायतको मिलेमत्तोमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, तालतलैया, राजपरिवार, वनजंगल, मठमन्दिरलगायतको जग्गा दर्ता गर्न छुटेको भन्दै व्यक्तिका नाममा लगियो ।
देशभरका लाखौं रोपनी सरकारी जग्गा यसरी व्यक्तिका नाममा दर्ता गरिएको पाइन्छ । तर, माओवादीले यी जग्गा पनि सरकारकै नाममा फिर्ता ल्याउन सकेन ।
अझ भनौं, उसले पहल नै गरेन । बरु प्रचण्डले हातमा ७८ लाखको घडी बाँधे । रक्सी खाएर शौचालयमा लडे । आफ्ना आफन्तलाई पदमा पुर्याए । माओवादी जनयुद्धमा १७ हजार जनता मारिएनन् मात्र खर्बौको सरकारी र निजी सम्पत्ति पनि खरानी बन्यो । विडम्बना, त्यसबाट केही पनि उपलब्धि भएन । माओवादीलाई विश्वास गरेका जनताहरु आज निराश छन् । हिजो जनयुद्धमा होमिएकाहरु आज काम नपाएर भौतारिएका छन् । माओवादीकै कारण गाउँ रित्तियो । शहर भरिभराउ भयो । अहिले त शहर पनि रित्तिँदै छ । सबै विदेशिँदैछन् । गाउँका खेतबारी बाँझो राखेर शहरमा आनाकै लाखौं–करोडौं हालेर जग्गा किनियो । गाउँका घरमा ताल्चा लाग्दा शहरमा एउटा अध्याँरो कोठाको मासिख २५ हजारसम्म भाडा तिर्नुपरेको छ ।
७४ जिल्लाका जनता काठमाडौं उपत्यकामा थुप्रिदा आज गाउँ वनजंगल बनेको छ । गाउँ सुनसान छ । केही दशकअघिसम्म गाउँमै सबै खेतपाती गरेर बस्ने हुँदा हामी अन्नमा आत्मनिर्भर थियो । तर, माओवादीका कारण कृषि पेशा हेलित बन्यो । कृषिलाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक बन्यो । पढलेख नगरेका मान्छेले मात्र कृषि गर्छ भन्ने भ्रम छरियो । जसका कारण कृषि गर्ने आँट र रहर हुँदाहुँदै पनि रोजगारीका लागि युवाहरु विदेशिरहेका छन् ।
जनयुद्धको डेढ दशकपछि गत भदौ २३ र २४ गते मुलुकमा जेनजी प्रदर्शन भयो ।
यो आन्दोलनको नेतृत्वकर्ता बालेन्द्र साह –बालेन) र रवि लामिछाने थिए भन्नेमा अहिले कसैलाई शंका नहोला । किनकि यी दुईले नै आन्दोलनमा आउन मासलाई आह्वान गरेका थिए । यो आन्दोलनमा ७६ जनाले ज्यान गुमाए । हजारौं घाइते र अंगभंग भए । २७ घण्टामा ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको सरकारी र २७ खर्बको निजी सम्पत्ति खरानी बनाइयो । ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको संसद् जिउँदो थियो ।
यो संसद्को कार्यकाल अझै २७ महिना बाँकी थियो । त्यतिबेला चुनाव गराउँदा जनताले तिरेको २७ अर्ब खर्च भएको थियो । तर, जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गराउने निर्णय गर्यो र गरायो पनि । यो चुनावमा पनि २७ अर्ब नै खर्च भएको छ । चुनावी प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाले बहुमत ल्याउने देखिएको छ ।
अब प्रश्न उठ्छ–जेनजी आन्दोलन केका लागि भएको थियो ? रास्वपालाई सरकारमा पुर्याउन ७६ जनाले ज्यान गुमाएका थिए ? खर्बौको सम्पत्ति खरानी बनाइएको थियो ? जेनजीहरुले पुराना अनुहार चाहिँदैन भनेका थिए । जेनजी आन्दोलन हुँदा रास्वपा पनि संसदमै थियो । अनि उनीहरु पुराना अनुहार हुन् कि नयाँ ? त्यसमाथि रास्वपामा भएका सबै काण्डैकाण्डमा मुछिएका छन् । सभापति लामिछानेमाथि पार्टीका धेरेजसो नेता मुद्दा खेपिरहेका छन् । अनि यस्ता व्यक्तिहरुलाई जिताउन चुनाव भएको हो ?
रास्वपाले जनतालाई भ्रम बनाएर चुनाव जितेको छ । तर, लहर धेरैसमय अवश्य टिक्दैन । जसरी ०६४ मा माओवादीको लहर थियो, त्यसरी ०८२ मा रास्वपाको चल्यो । यो लहर केही वर्षमै सिद्धिने छ । किनकि अहिले माओवादी पार्टी नै विलय भएको छ । रास्वपा पनि यही अवस्थामा पुग्दैन भन्न सकिँदैन । किनकि सरकारमा पुग्नजस्तो काम गर्न सजिलो छैन । केही चर्चित अनुहारलाई हतियार बनाएर रास्वपाले चुनावमा बाजी त मार्यो तर गफ मात्र दिने, काम नगर्ने नेताहरुको हुल भएको रास्वपाले जनतालाई डेलिभरी दिन सक्नेमा धेरै सशंकित छन् । रास्वपाको भविष्य केही वर्षमै देखिनेछ ।
यद्यपि, माओवादी र रास्वपाको घटनाले योचाँहि देखाएको छ कि यहाँ जसले जनता मार्छन्, सरकारी सम्पत्ति खरानी बनाउँछन्, उसलाई जनता आफैंले मतदान गरेर सरकारमा पुर्याउँछन् । अझ भन्नुपर्दा सरकारमा पुग्नुछ भने आन्दोलनको नाममा जनता मार्नुपर्छ र सरकारी सम्पत्ति सिद्धाउनुपर्छ । यस्तो गर्न नसक्ने व्यक्ति असल, इमान्दार, काम गर्ने भएपनि जनताले नै हराउँछन् । यदि यही प्रवृत्ति अन्य दलहरुले पनि सिकेमा मुलुकमा के होला ?














