कार्कीले मन्त्रिमण्डल विस्तार गरिन्। उनी नेतृत्वको सरकार गठन भएको पाँच महिना बितिसकेको छ। तर, अहिलेसम्म कार्कीले आफ्नो मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गरेकी छैनन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन आह्वान गरे। त्यसको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह (बालेन) र नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले आन्दोलनमा समर्थन जनाए। बालेनले त २८ वर्षमुनिका सबैलाई आन्दोलनमा सहभागी हुन अपिल नै गरेका थिए।
भदौ २३ गते बिहानैदेखि माइतीघर मण्डलामा विद्यार्थीहरू भेला हुन थाले। स्कुल वा कलेज ड्रेसमै झोला बोकेर धेरैजसो विद्यार्थी आएका थिए। त्यो दिन नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक चलिरहेको थियो। आन्दोलनकारीहरू माइतीघर हुँदै नयाँ बानेश्वरतर्फ लागे र संसद् भवन प्रवेश गर्न खोजे। उनीहरूलाई रोक्न प्रहरीले सक्दो प्रयास गर्यो।
शुरुमा सम्झाइबुझाइ वा माइकिङ गरियो। तर, उनीहरू रोकिएनन्। त्यसपछि अश्रुग्यासदेखि लाठीसम्म प्रहार गरियो। तैपनि आन्दोलनकारीहरू मानेनन्। उल्टै उनीहरूले संसद् भवन नै तोडफोड गर्न थाले। त्यसपछि प्रहरीले गोली चलाएको हो। कानुनमा स्पष्ट भनिएको छ, ‘भीड नियन्त्रणबाहिर गएमा वा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भएमा प्रहरीले स्वविवेक प्रयोग गरी घुँडामुनि गोली चलाउन पाउँछ।’
यही अधिकारको प्रयोग गरेर प्रहरीले गोली चलायो। दुर्भाग्यवश, अत्यधिक भीडका कारण प्रहरीले चलाएका गोली घुँडामुनिभन्दा अन्य ठाउँमा लाग्न पुगे। त्यसक्रममा १९ जनाले ज्यान गुमाए। त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो। गृहमन्त्री रमेश लेखक थिए। उनले सोही दिन राति राजीनामा दिए।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसमेत सडकमा आइन्। उनले कांग्रेस र एमालेलाई सरकारमा बस्ने कुनै अधिकार नभएको भन्दै लखेट्नुपर्ने बताइन्। उता, काठमाडौंका तत्कालीन मेयर बालेनले १९ जनाको हत्यारा प्रधानमन्त्री ओलीलाई ठहर गर्दै आन्दोलनका निम्ति झनै उकासे भने रविले आफ्ना सबै सांसदलाई राजीनामा दिन निर्देशन दिए।
२४ गते बिहानैदेखि आन्दोलनकारीहरू उग्र भए। किनकि उनीहरू बालेन र रविका समर्थक थिए। उनीहरूको एउटै माग थियो—तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा। नेपाली सेनाले ओलीलाई सहयोग गरेन। अनि बाध्य भएर ओलीले दिउँसो १२ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिए। यससँगै आन्दोलनकारीहरूको माग पूरा भयो।
तर, उनीहरू झनै उग्र भए। एकाएक सार्वजनिक र निजी सम्पत्तिमा आगो सल्काउन थालियो। यसैको फाइदा उठाएर रास्वपा नेता तथा समर्थकले नख्खु जेलमा रहेका रविलाई निकाले, तैपनि जेलरलाई कुटेर। उनी निस्किएसँगै सर्वोच्च अदालतसहित देशभरका न्यायालय छानीछानी जलाइयो। बालेनका समर्थकले चाहिँ मुलुकको इतिहासमै सिंहदरबार जलाए। हजारौं सरकारी तथा सार्वजनिक भवन खरानी बनाइयो।
व्यक्तिका निजी निवास पनि जलाइयो। त्यसक्रममा आगलागीमा परेर कतिपयले ज्यानै गुमाए। प्रहरीहरू पनि आन्दोलनकारीको निशानामा परे। तीन जना प्रहरीलाई त कुटीकुटी मारियो। देशभरका प्रहरी भवन र कार्यालयहरू जलाइयो। प्रहरीका बर्दी र हातहतियार लुटियो। त्यतिबेला आफ्नो ज्यान जोगाउनु नै प्रहरीका लागि चुनौती बन्यो। बस्ने स्थिति नभएपछि उनीहरू जंगलतिर लागे।
प्रहरी जंगल पसेपछि देशको सुरक्षाको जिम्मा नेपाली सेनाको हातमा आयो। तर, सेना देश खरानी भएको हेरिरह्यो। दिउँसैदेखि सिंहदरबारसहितका सम्पदा र संरचना बलिरहे। सेना ब्यारेकमा बसेर रमिता हेरिरह्यो। मध्यराति सेना सडकमा निस्कियो। तब सबै खरानी भइसकेको थियो। खर्बौंको सरकारी तथा निजी सम्पत्ति खरानी बन्यो। अझ भन्नुपर्दा भदौ २४ गते मुलुककै इतिहासमा कालो दिन बन्यो।
यदि सेना ओलीको राजीनामालगत्तै सडकमा आएको भए नेपालीको इतिहासमा सिंहदरबार जोगिन्थ्यो। अन्य सार्वजनिक तथा निजी सम्पत्ति पनि खरानी हुने थिएन। विडम्बना, सेना त रमिता हेरेर बसिरह्यो। अनि सबै ध्वस्त भएपछि मात्रै सडकमा निस्कियो।
देश खरानी भएपछि फेसबुकमा बालेनको स्टाटस आयो, “हाम्रो आन्दोलन सफल भयो, तपाईंहरू घर फर्किनुहोस् जेनजी।”
सँगै संसद् विघटनको माग पनि अघि सारे। राष्ट्रपति रामचन्द्र पौडेल सैनिक नियन्त्रणमा थिए। प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिको ठाउँ लिँदै जेनजीसँग वार्ता गरे। देश सरकार वा अभिभावकविहीन थियो। जेनजीले बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखे। र, प्रधानसेनापति सिग्देल माने पनि। तर, बालेन मानेनन्।
देश खरानी बनुञ्जेलसम्म उनी फेसबुकमा एकपछि अर्को स्टाटस लेखिरहेका थिए। अनि स्थिति नियन्त्रणमा आई आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर आवाज उठेपछि उनी सम्पर्कविहीन भए। जेनजीहरूले पटकपटक फोन गर्दा समेत उनले उठाएनन्।
जेनजी प्रधानमन्त्रीका रूपमा केवल बालेनलाई देख्न चाहन्थे। अन्तिमसम्म कोसिस गर्दा पनि बालेन नमानेपछि सुशीला कार्की, हर्क साम्पाङ, कुलमान घिसिङ अघि सरे। उनीहरूले प्रधानमन्त्री बन्न आफूहरू तयार रहेको बताए। यद्यपि, बालेनले सुशीलालाई साथ दिए। उनले फेसबुकमा लेखे, “सुशीला कार्कीलाई मेरो साथ छ।”
बालेनले यसो भनेपछि जेनजीहरू सुशीलालाई प्रधानमन्त्री बनाउन तयार भए। भदौ २७ गते उनले प्रधानमन्त्रीको शपथ खाइन्। लगत्तै बालेनको मागबमोजिम उनले संसद् विघटन गरिन् र फागुन २१ गते चुनावको मिति घोषणा गरिन्। त्यतिबेला राष्ट्रपति सार्वजनिक भइसकेका थिए।
कार्कीले मन्त्रिमण्डल विस्तार गरिन्। उनी नेतृत्वको सरकार गठन भएको पाँच महिना बितिसकेको छ। तर, अहिलेसम्म कार्कीले आफ्नो मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गरेकी छैनन्।
निर्वाचन गराउने म्यान्डेटसहित गठन भएको उनी नेतृत्वको क्याबिनेटका चार जना मन्त्री राजीनामा दिएर चुनावमा होमिइसकेका छन्। भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न प्रधानमन्त्री कार्कीले असोज ७ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिन्।
शुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो। तर, आयोगको दुई पटक म्याद थप भइसकेको छ। यो आयोगले तत्कालीन प्रधानमन्त्री ओलीदेखि गृहमन्त्री लेखक, प्रहरीका उच्च पदस्थ अधिकारी, ड्युटीमा खटिएका प्रहरी, सिडिओ, गृहसचिवलगायतसँग बयान लिएको छ। तर, फेसबुकमार्फत आन्दोलनकारीलाई उकास्ने बालेनसँग बयान लिइएन।
किन? यसको जवाफ प्रधानमन्त्री कार्कीले दिनुपर्छ। सुशीला बालेन र रविको समर्थनमा प्रधानमन्त्री बनेको प्रष्ट छ। नभए बालेनसँग आयोगले शतप्रतिशत बयान लिने थियो। सँगै रवि जेलबाट निस्कन र मुद्दा फिर्ता पनि सम्भव हुने थिएन।
यसले भदौ २३ र २४ गतेको आन्दोलन जेनजी पुस्ताको नभई बालेन र रविले गरेका थिए भन्ने छर्लङ्ग हुन्छ।
यदि त्यो आन्दोलन साँच्चिकै जेनजीले गरेको भए उनीहरू किन चुनावमा होमिएनन्? किन पार्टी दर्ता गरेनन्? फागुन २१ गतेको चुनावमा जेनजीहरूले किन उम्मेदवारी दिएनन्? प्रष्ट छ कि भदौ २३ र २४ गतेको आन्दोलन बालेन, रवि, सुशीला, सुधनहरूको योजनामा भएको हो।
यसरी आफ्नो स्वार्थका निम्ति कलिला विद्यार्थीलाई उचालेर सडकमा ओराल्ने र सिंहदरबारसहित राष्ट्रिय सम्पदा जलाउने बालेन र रविलाई भोट दिने सही व्यक्ति को हो? जनताले सोच्न आवश्यक छ।
रवि आफैं काण्डैकाण्डमा मुछिएका छन्। अमेरिकादेखि नेपालसम्म उनीमाथि दर्जनौं मुद्दा छन्। अनि यस्ता व्यक्तिले देश बनाउँछन्? बालेनले सार्वजनिक बिदाका दिन आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा नै सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए। अनि यस्ता व्यक्तिहरूबाट देश बन्छ?
फागुन २१ गते निकै सोचविचार गरेर मात्र मतदान गरौं। नभए सत्ताबाहिर हुँदा त मुलुक खरानी बनाउनेहरूले त्यहाँ पुगेपछि केसम्म गर्दैनन् होला?














