जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाको पोषण अवस्था, कुपोषणका चुनौती तथा विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे छलफल गरिएको थियो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लाको पोषण अवस्था, विषादीयुक्त खाद्यान्नको प्रभाव तथा न्यूनीकरणका उपायबारे प्रस्तुति दिएका थिए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले विषादीको सुरक्षित प्रयोग, प्राङ्गारिक खेतीको आवश्यकता र दिगो कृषि प्रणालीबारे जानकारी गराएका थिए।
वक्ताहरूले विषादीको अत्यधिक प्रयोगले नसर्ने रोगको जोखिम बढाउने तथा वातावरणमा नकारात्मक असर पार्ने भएकाले पोषणयुक्त र विषादीरहित खाद्यान्न उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला समन्वय अधिकारी रोम महत लगायत विभिन्न सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य तथा कृषि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले पोषण सुधार र विषादी न्यूनीकरणका लागि बहुपक्षीय सहकार्य तथा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन्।
















