शुक्रबार, २१ कार्तिक, २०८२

एकै परिवारका १६ जना सरकारी जागिरे

सरकारी कार्यालयका कुर्सीहरू, विद्यालयका कक्षाहरू, अस्पतालका बेड र अदालतका कागजपत्रहरूमा न्यौपाने परिवारको योगदान अक्षरशः छापिएको छ।

चन्दननाथ नगरपालिका-१०, गैरागाउँको एउटा सानो घर, जहाँ माटाको परम्परागत छाना मुनि गोबर र माटोले लिपिएको भित्ता छ। जसले गाउँको परम्परा झल्काउँछ। यो घरमा बिहान बेलुकी दाउरा बालेर तयार हुने चिया र त्यससँगै उठ्ने नयाँ उम्मीदका किरणहरूले नयाँ इतिहास कोरे र कोर्दैछन्।

हेर्दा साधारण देखिने यो घरको कथावस्तु असाधारण छ। यस घरका ढोकाबाट सरकारी सेवामा समर्पित चर्चित परिवारका सदस्यहरू निरन्तर ओहोर-दोहोर गरिरहन्छन्। यहाँ एउटा पिताले रोपेको शिक्षाको बिउले, राज्यसेवामा समर्पित उज्वल इतिहास उब्जाइरहेको छ।

स्वर्गीय कृष्णदत्त न्यौपाने, जो जुम्लाको सरकारी सेवाको इतिहासमा एउटा चिनारी भइसकेका व्यक्तित्व हुन्। उनी जिल्ला अदालत जुम्लामा बिचारी पदमा कार्यरत थिए। उनी त्यो समयका जागिरेका प्रतिनिधि थिए। त्यतिबेला सरकारी जागिर पाउनु कमैको लागि सम्भव हुन्थ्यो र गाउँलेहरू हलो-कोदालोमा व्यस्त हुन्थे।

उनी एक जिम्मेवार जागिरे मात्र होइन, ज्ञान र अनुशासनले भरिपूर्ण पिता थिए। आफ्ना जीवनका सबै महत्वाकांक्षा किनारामा राखेर छोराहरूलाई शिक्षा र समर्पणको पाठ पढाए। उनको एउटै सपना थियो, “छोराहरूले राज्यको सेवा क्षेत्रलाई सम्मान र समर्पणका साथ अगाडि बढाउन्।”

त्यसबेला कृष्णदत्तका सन्तानले डाँडाकाँडा ढाेके भन्दा हुन्छ। किनभने उनका छ वटा छोरा थिए। छोरी नभए पनि छोराहरू सबै शिक्षित र सरकारी सेवामा आबद्ध भएका छन्। उनको परिवारमा छोराहरू मात्रै नभई नाति-नातिनाहरू र बुहारीहरू पनि सरकारी जागिरे छन्।

आज त्यो परिवारका १६ जना सदस्य विभिन्न तहका सरकारी सेवामा कार्यरत छन्। यो सफलताको कथा कुनै सामान्य उपलब्धि होइन, एउटा पिताको दृढ विश्वास र परिश्रमको प्रतिफल हो।

मनप्रसाद न्यौपाने, कृष्णदत्तका जेठा छोरा हुन। उनले सरकारी शिक्षकका रूपमा जीवन बिताए। उनी प्रधानाध्यापक बने, शिक्षा क्षेत्रमा अमूल्य योगदान पुर्‍याए र सेवा भाव सँगै विद्यालयलाई अगाडि लैजान अग्रसर रहे। उनका सन्तानहरूले पनि आफ्ना हजुरबा र पिताको परिश्रमलाई निरन्तरता दिएका छन्।

पर्यागदत्त न्यौपाने हाल सामाजिक विकास कार्यालयमा लेखापाल छन्। उनी मनप्रदासका जेठा छोरा हुन। उनले भने, “हाम्रो परिवारका सबै सदस्यहरूमा एउटै आदर्श छ, निष्ठा र समर्पणका साथ राष्ट्रसेवा। हाम्रो पिताले हामीलाई सिकाउनु भयो कि जागिरका लागि मात्र होइन, देशका लागि काम गर्नुपर्छ। भलै हामीले पाएको जागिर सामान्य होस्, त्यसलाई असाधारण बनाउने कर्तव्य हाम्रो हो।”

पर्यागदत्तकी पत्नी संगिता महत न्यौपाने प्राथमिक तहकी शिक्षिका हुन्। उनी बालबालिकाहरूलाई शिक्षा र प्रेरणा दिन खटिएकी छिन्। उनीहरूको जोडी सरकारी जागिरमा साँचो अर्थमा सेवा र समर्पणको प्रतिमूर्ति बनेको छ।

पर्यागदत्तका भाइ पदमराज न्यौपाने नेपाली सेनामा मेजर छन् र उनी डाक्टर हुन्। उनले सुरक्षा सेवामा राष्ट्रीय रूपमा महत्वपूर्ण भूमिका खेलेका छन्।

पदमराजकी श्रीमती आस्था सुम्बा न्यौपाने वरिष्ठ डेन्टल अधिकृत हुन्। यस जोडीले राष्ट्रलाई सुरक्षा र स्वास्थ्य दुवै पक्षबाट सेवा दिइरहेको छ। यस परिवारमा सेवा केवल जागिरको रूपमा सीमित छैन, त्यो पूरा देशको हितमा रहेको छ।

कृष्णदत्तका महिला छोरा हुन, यदुराज न्यौपाने। उनी शिक्षा क्षेत्रमा सक्रिय छन्। यदुराजका जेठा छोरा लोकराज न्यौपाने वन विभागमा फरेष्टर (रेन्जर) को रूपमा कार्यरत छन्। उनी वातावरण संरक्षण र वन क्षेत्रको सुरक्षा दायित्वमा छन्।

लोकराजकी श्रीमती लक्ष्मी न्यौपाने भेटेरेनरी डाक्टर हुन्। यदुराजकी छोरी लक्ष्मी न्यौपाने स्टाफ नर्स हुन्। उनको परिवारले जैविक सुरक्षा, स्वास्थ्य र प्रकृति संरक्षणलाई साथसाथै अघि बढाएको छ।

कृष्णदत्तका साइला छोरा आदीप्रसाद न्यौपाने प्रशासकीय अधिकृत छन्। आदीप्रसादकी जेठी छोरी पार्वती अहेव छैठौं तहमा कार्यरत छिन् भने कान्छि छोरी कान्छि रञ्जना एच.ए हुन। छोरा पुरुषोत्तम जिल्ला अदालत भक्तपुरमा डिठ्ठाका रूपमा न्याय प्रशासनमा योगदान दिइरहेका छन्।

कृष्णदत्तका काइला छोरा खडानन्द न्यौपाने भेटेरेनरी अधिकृत छन्, राइला छोरा जयलाल न्यौपाने स्वाथ्य अधिकृत छन् भने कान्छा पुन्नलाल न्यौपाने नायब सुब्बा हुन। यी सबै सेवकहरूले मिलेर राष्ट्र निर्माणको भूमिका निर्वाह गरेका छन्।

न्यौपाने परिवारको यो यात्राले शिक्षा र सेवा सिंगो परिवारको परम्परा मात्र होइन, सरकारी जागिर खानुको परिभाषा नै हो भन्ने भाष्य निर्माण गरिदिएको छ। जहाँ घरको भान्सा र छानोले संस्कार बोकेको छ, त्यहाँ शिक्षा र अनुशासनको संस्कार अझैं बलियो बनिदियो।

कृष्णदत्तले छोराहरूको साथमा नाति-नातिनी र बुहारीहरूलाई पनि यो परम्परामा बाँधेर सेवाको सूत्रकर्मी बनाएका छन्। स्वर्गीय भइसकेका उनले धर्तीमा आफ्ना सन्तान दरसन्तानहरुलाई अद्भुत आनन्द दिलाइरहेका छन्।

जुम्लामा एउटै परिवारका कति जना सम्म सरकारी जागिरे छन् भनेर प्रश्न उठ्यो भने जवाफमा एक, दुई जना भन्ने आउला। कती त गाउँमै सरकारी सेवामा कार्यरतको संख्या भेटाउन मुस्किल पर्छ।

तर स्वर्गीय कृष्णदत्तको एउटा यस्तो परिवार हो, जहाँ परिवारका लगभग सबै सदस्य सरकारी सेवामा कार्यरत छन्। यो आफैमा एउटा अनौठो संयोग र प्रेरणाको स्रोत हो।

कृष्णदत्त एउटा जागिरे मात्र नभएर एउटा समर्पित पिता, दूरदर्शी व्यक्तित्व र सामाजिक रुपान्तरणकर्ता बनेका छन्। उनले आफ्नो परिवारलाई मात्र नभई पुरै समाजलाई जागरुक बनाउने उत्तरदायित्व निर्वाह गरे।

उनको अनुपस्थितिमा पनि, उनको आदर्श र सपना न्यौपाने परिवारका हरेक सदस्यका मनोमस्तिष्कमा गडेर देशभर फैलिएको छ। सरकारी कार्यालयका कुर्सीहरू, विद्यालयका कक्षाहरू, अस्पतालका बेड र अदालतका कागजपत्रहरूमा न्यौपाने परिवारको योगदान अक्षरशः छापिएको छ।

उनीहरू ‘शिक्षा र सेवा’ को जीवित उदाहरण हुन। पर्यागदत्तले थपे, “हामीलाई थाहा छ, हामीले पाएको जागिर केवल रोजगारी हैन, त्यो हाम्रो धरोहर, आफ्नो जिम्मेवारी र देशप्रतिको कर्तव्य हो।”

उनका अनुसार परिवारका हरेक सदस्यले जनताको सेवामा रहेको अनिवार्यता बुझेका छन्। हरेक दिन राष्ट्रको बारेमा सोचिरहेका छन्। कसरी अझ प्रभावकारी भएर आफ्नो काम जस्तै सामान्य जागिरलाई महान बनाउन सकिन्छ। यही सोच र प्रतिबद्धताले हुनीहरुलाई तानिरहेको छ।

यसले नेपाली समाज र जागिर खानेका लागि एउटा गहिरो सन्देश दिन्छ, शिक्षा र अनुशासन त्यो शक्ति हुन् जसले एक असाधारण परिवारलाई जन्म दिन सक्छ।

न्यौपाने परिवारले मात्र हैन, त्यस्ता हजारौं परिवारहरूले आफ्नो गाउँ-शहर, देशलाई सेवा क्षेत्र छानेर समाजलाई नै नमूना बनाएका छन्। राज्यले त्यस्ता कर्मयोगीहरूको खोजी गरिरहँदा, न्यौपाने परिवार त्यो खोजीको उत्तर बनेको छ।

समग्रमा हेर्दा, न्यौपाने परिवारको यो सफलताको कथा व्यक्तिगत सफलता, राष्ट्रिय सेवा र सामाजिक संस्कारहरूको चेतना हो।

यो एउटा परिवारको अनन्त सफलता मात्र होइन, यो त बलियो विश्वास र सद्भावको कथा हो, जसले एक गाउँका दिनचर्या र सपनाहरूलाई पूरै राष्ट्रको उज्यालोमा बदलेको छ।

जब एक पिताले आफ्ना छोराहरूलाई साँचो मायाले शिक्षा र सेवाको बीउ रोप्छन् तब सामाजिक यन्त्रको उत्पादन मजबुत र दीर्घकालीन हुन्छ।

न्यौपाने परिवारको यो गाथाले धेरैलाई चेतना र प्रेरणा दिनेछ। शिक्षाले एक व्यक्तिलाई मात्र होइन, बरु सबैलाई सामाजिक जिम्मेवारीको बाटो देखाउने छ।

यस प्रकार न्यौपाने परिवार एउटा नाम मात्र होइन, एउटा आदर्श बनेको छ, जुन जीवनभरि गरिएको त्याग र सेवा यात्राको समग्र छवि हो।

यो प्रेरणा आधार भएर नेपालभरिका परिवारहरूको भविष्य उज्वल रहोस् भन्ने कामना गरौं। एक घर, एक सपना, शिक्षा र सेवा। यही न्यौपाने परिवारको अनवरत आदर्श हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार