शुक्रबार, ४ बैशाख, २०८३

कर्णाली छोरी सम्मेलन’: छोरीहरूको आवाज र परिवर्तनको आह्वान

सम्मेलनले २१ सदस्यीय प्रादेशिक छोरी सञ्जाल पनि गठन गर्‍यो। यो सञ्जालले छोरीहरूलाई एकजुट गरी सामाजिक कुरीति र विभेदविरुद्ध लड्ने मञ्च दिनेछ।

सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म चलेको ‘कर्णाली छोरी सम्मेलन’ कर्णालीका छोरीहरूको सपना, आक्रोश र सम्भावनाको साझा मञ्च बन्यो। पहिलो पटक आयोजित यो सम्मेलनले कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागितामा नयाँ इतिहास रच्यो।

श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न यो सम्मेलनले १० बुँदे प्रतिबद्धतापत्र जारी गर्दै छोरीहरूको उज्ज्वल भविष्यको खाका कोर्‍यो। यो सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि छोरीहरूको आत्मव आत्मविश्वास र समाज परिवर्तनको संवाहक बन्ने उनीहरूको अठोट हो।

सम्मेलनमा सहभागी छोरीहरूले आफ्ना कथा सुनाए। कसैले बालविवाहको पीडा व्यक्त गरे, कसैले छाउपडीको कुप्रथाले जीवनमा पारेको असरबारे बोले। कर्णालीका गाउँ–गाउँबाट आएका किशोरीहरूले लैङ्गिक विभेद, हिंसा र सामाजिक कुरीतिका कारण भोगेका चुनौती खुलेर राखे।

उनीहरूले समस्यामात्र होइन, समाधानका उपाय पनि सुझाए। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भने, “तीन दिनका सेसनहरू सुन्दा लाग्यो, हाम्रा छोरीहरू कम छैनन्। उनीहरूका कुराले हामीलाई केही गर्नुपर्छ भन्ने ऊर्जा दिएको छ।”

सम्मेलनले जारी गरेको १० बुँदे प्रतिबद्धतापत्र कर्णालीका छोरीहरूको भविष्यको मार्गचित्र हो। यसले बालविवाह र लैङ्गिक विभेद अन्त्यका लागि रणनीतिक कार्ययोजना बनाउने, छाउपडीजस्ता हानिकारक अभ्यास उखेल्ने र बालिका तथा किशोरीविरुद्ध हुने हिंसालाई रोक्न कानुनी र सामुदायिक पहल गर्ने वाचा गरेको छ।

जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिममा रहेको कर्णालीमा किशोरीहरूको सहभागिता र विशेष आवश्यकता सम्बोधन गर्ने, सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गर्ने, र छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने नवीन सोच पनि समेटिएको छ।

उच्च शिक्षाका लागि ‘छोरी–बुहारी विशेष छात्रवृत्ति’ कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्ने प्रतिबद्धताले शिक्षाको पहुँच वृद्धि गर्ने आशा जगाएको छ।

सम्मेलनले २१ सदस्यीय प्रादेशिक छोरी सञ्जाल पनि गठन गर्‍यो। यो सञ्जालले छोरीहरूलाई एकजुट गरी सामाजिक कुरीति र विभेदविरुद्ध लड्ने मञ्च दिनेछ।

प्रत्येक पालिकामा किशोरी सञ्जाल गठन गर्ने र छोरीहरूलाई सामाजिक परिवर्तनको संवाहक बनाउने योजनाले सञ्जालको महत्त्व बढाएको छ। यो सञ्जालले छोरीहरूलाई ‘नेता’ बनाउने सम्भावना बोकेको छ।

मुख्यमन्त्री यामलाल कँडेलले भने, “संवैधानिक रूपमा विभेदमुक्त भनिए पनि व्यवहारमा अन्धविश्वास र कुरीति कायम छन्।” यो भनाइले कर्णालीको चुनौती उजागर गर्छ। बालविवाह, छाउपडी र लैङ्गिक हिंसाजस्ता समस्या गहिरोसँग जरा गाडेर बसेका छन्।

यी समस्यालाई समाधान गर्न प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ। तर, सम्मेलनले कर्णालीका छोरीहरू चुनौती सामना गर्न तयार छन् भन्ने देखायो। उनीहरूले आफ्ना कथाहरू सुनाएर, समाधान प्रस्तुत गरेर र सञ्जाल गठन गरेर परिवर्तनको नेतृत्व लिन सक्ने क्षमता प्रदर्शन गरे।

कर्णालीका छोरीहरूको आत्मविश्वास, एकता र परिवर्तनको चाहनाको प्रतीक हो। सम्मेलनले बोकेको सन्देश स्पष्ट छ—कर्णालीका छोरीहरू अब चुप लागेर बस्ने छैनन्, उनीहरू आफ्नो भविष्य आफैं कोर्नेछन्।

यो सम्मेलनले कर्णालीमा नयाँ बिहानको आशा जगाएको छ। तर, यो आशालाई साकार पार्न सरकार, समुदाय र छोरीहरूको सहकार्य अपरिहार्य छ।

प्रतिबद्धताहरू कागजमा मात्र सीमित नहुन्, व्यवहारमा उतार्न सकियो भने कर्णालीका छोरीहरूले आफ्नो भविष्य उज्ज्वल बनाउनेछन् र समग्र कर्णालीको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्नेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार