आइतबार भएको दुर्घटनामा चालकसहित सात जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका छन्।
पलाता गाउँपालिकाले आइतबार भएको बोलेरो जीप दुर्घटनामा निधन भएकाको सम्झनामा सोमबार शोक बिदा दिएको छ।
गाउँपालिकाका सूचना अधिकारी रामदत्त बडूले एक शोक विज्ञप्ति जारी गर्दै गाउँपालिका मातहतका सबै कार्यालयमा शोक बिदा गरिएको जानकारी दिएका छन्।
आइतबारको दुर्घटनामा चालकसहित सात जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका छन्। घाइतेहरूको उपचार हाल सुर्खेतमा भइरहेको छ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले मृतकहरूको पोस्टमार्टम गाउँमै सम्पन्न गरी सोमबार नै शव आफन्तको जिम्मा लगाइएको बताएका छन्।
पलातामा पुगेर चिकित्सकहरूको टोलीले दुर्घटनामा निधन भएका सबैको फिल्डमै पोस्टमार्टम गरेको उनले जानकारी दिए।
पलाता गाउँपालिकाले यो दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दुख व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।















