जुम्लाका मिमराज खत्रीले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर आफू पढेको विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन्।
जुम्लाको चन्दननाथ नगरपालिकास्थित श्री शम्भुनाथ ज्ञानकुञ्ज माध्यमिक विद्यालय, श्रीढुस्काका पूर्वविद्यार्थी मिमराज खत्रीले आफ्नो ३२औँ जन्मोत्सवको अवसर पारेर विद्यालयका बालबालिकाहरूलाई उक्त सामग्री वितरण गरेका हुन्।

खत्रीले आफूले जीवनको पहिलो अक्षर (क, ख र ABC) सुरु गरेको पहिलो पाठशालाप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २५० जना विद्यार्थीहरूलाई स्टेशनरी (कापी, कलम) तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरेको जानकारी दिए।
सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छायादत्त खत्री सहसत शिक्षक, शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै आफ्नो गाउँ र विद्यालयका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याएको भन्दै विद्यालय परिवारले खत्रीलाई टीका तथा खादा लगाएर जन्मोत्सवको शुभकामना एवं धन्यवाद व्यक्त गरेको प्रधानाध्यापक खत्रीले बताए।
‘अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए,’ उनले भने, ‘पूर्वविद्यार्थीबाट प्राप्त यस प्रकारको सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन र अध्ययनमा थप हौसला मिल्नेछ।’

















