सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीया चन्द्रा देवकोटा जैसी रहेकी छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब १०ः२० बजे गोपीराम जैसीले आफ्नै श्रीमती चन्द्रालाई फरुवाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी विजौराबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा SOCO सहित सात जनाको टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
फरुवा प्रहार गर्ने भनिएका गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















