‘चलचित्रको च्यारिटी सोबाट उठेको रकम सीमान्त साहित्य सम्मेलनका लागि खर्च हुनेछ,’ कलाकार सुनारले भने, ‘चलचित्र र साहित्य दुवैले समाजका नदेखिएका कथा र आवाजलाई अगाडि ल्याउने भएकाले यो सहकार्य अर्थपूर्ण छ।’
राज्यको मूलधारबाट लामो समयदेखि सीमान्तमा पारिएको भूगोल र समुदायका कथा, अनुभव, ज्ञान तथा सिर्जनालाई बहसको केन्द्रमा ल्याउने उद्देश्यले जुम्लामा चलचित्र ‘लालीबजार’को च्यारिटी सो हुने भएको छ। च्यारिटी सोबाट संकलित रकम किनारादेखि केन्द्रसम्मको वैचारिकी ‘सीमान्त साहित्य सम्मेलन’ आयोजनामा खर्च गरिने चलचित्रका कलाकार गोविन्द सुनारले बताएका छन्।
षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ धेरै कमाउने चलचित्रमा पर्छ। निर्देशक तथा पटकथाकार यम थापाको कथामा बनेको चलचित्रले बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीको सम्बन्ध, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ।
‘चलचित्रको च्यारिटी सोबाट उठेको रकम सीमान्त साहित्य सम्मेलनका लागि खर्च हुनेछ,’ कलाकार सुनारले भने, ‘चलचित्र र साहित्य दुवैले समाजका नदेखिएका कथा र आवाजलाई अगाडि ल्याउने भएकाले यो सहकार्य अर्थपूर्ण छ।’
कुटीरो रिसर्च सेन्टरको आयोजनामा हुने सीमान्त साहित्य सम्मेलनले कर्णालीलाई समस्याको भूगोलका रूपमा मात्र होइन, आफ्नै ज्ञान, इतिहास, संस्कृति, कला र विचार निर्माण गर्ने क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ। सम्मेलनले ‘किनारादेखि केन्द्रसम्म’को वैचारिक यात्रालाई मूल बहस बनाउने तयारी गरेको छ।
साबिकको सिंगो कर्णाली गोर्खाली राज्य विस्तार अभियानसँगै राज्यको मूलधारबाट टाढाको भूगोलका रूपमा रहँदै आएको बहस छ। भौगोलिक विकटता, कमजोर राज्य उपस्थिति, अवसरको असमान वितरण र केन्द्रमुखी विकास दृष्टिकोणका कारण कर्णालीको समाज, संस्कृति, ज्ञान र सिर्जनाले पर्याप्त राष्ट्रिय स्थान पाउन नसकेको आयोजकको बुझाइ छ।
सम्मेलनले यही अनुभवलाई साहित्य, कला र अनुसन्धानसँग जोडेर बहसमा ल्याउन खोजेको हो। अनुसन्धानकर्ता, विद्यार्थी, लेखक, साहित्यकार, कलाकार, अध्येता, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार र युवालाई एउटै बहसमा ल्याएर कर्णालीको आफ्नै ज्ञान निर्माणको आधार तयार गर्ने लक्ष्य आयोजकको छ।
कर्णालीलाई प्रायः गरिबी, अभाव, विकटता र पछौटेपनको भाष्यबाट मात्र हेरिँदै आएको छ। तर यही भूगोलमा पुस्तौंदेखि विकसित लोककथा, लोकगीत, देउडा, मौखिक इतिहास, स्थानीय मिथक, हस्तकला, परम्परागत सीप र जीवनपद्धतिको विशाल संसार छ। सम्मेलनले यिनलाई केवल संरक्षण गर्ने विषयका रूपमा नभई समकालीन समाज, प्रविधि र बजारसँग जोड्ने बहस अघि बढाउनेछ।
‘सीमान्त हुनु प्राकृतिक अवस्था हो कि राज्यको नीति, शक्ति संरचना र विकासको दृष्टिकोणले निर्माण गरेको अवस्था हो?’ भन्ने प्रश्नलाई सम्मेलनले मूल वैचारिक प्रश्नका रूपमा उठाउने तयारी गरेको छ। साथै, केन्द्रमा पुग्न सीमान्तले मात्र प्रयास गर्ने कि केन्द्र नै सीमान्ततर्फ फर्किनुपर्ने भन्ने बहससमेत गरिनेछ।
यता ‘लालीबजार’ पनि सीमान्त समुदायको कथालाई मूलधारको चलचित्रमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। निर्देशक थापाका अनुसार चलचित्र एउटा आमाले छोरीका लागि गर्ने संघर्ष र ममताको कथा हो। उनले लामो समयदेखि देख्दै र बुझ्दै आएको कथालाई चलचित्रको स्वरूप दिएको बताएका छन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्काले बादी महिला ‘मधुवाला’को भूमिका निर्वाह गरेकी छन्। आफ्नो पात्रलाई तयार गर्न उनी बर्दिया पुगेर स्थानीय समुदायका महिलासँग भेटघाट र अनुसन्धानमा सहभागी भएकी थिइन्। चलचित्रलाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोडका रूपमा उनले व्याख्या गरेकी छन्।
निर्माण टोलीले डिजिटल माध्यममा पर्याप्त जानकारी नपाएपछि बर्दियामै पुगेर अनुसन्धान गरी पटकथालाई पूर्णता दिएको जनाएको छ। कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईका अनुसार बादी समुदायसँग सम्बन्धित विषय भएकाले पटकथा निर्माणका क्रममा गम्भीर अध्ययन र छलफल गरिएको थियो।
चलचित्रमा स्वस्तिमा खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, अभय बराल, मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनारलगायत कलाकारको अभिनय छ। विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।
‘मायालाई के दिउँ म बैना’, ‘मीठो संसार’ र ‘मै राम्री छु त नी’ लगायतका गीत सामाजिक सञ्जालमा समेत चर्चामा छन्।
‘लालीबजार’को च्यारिटी सो र त्यसबाट उठेको रकम सीमान्त साहित्य सम्मेलनमा प्रयोग गर्ने पहलले चलचित्र र साहित्यलाई एउटै वैचारिक धरातलमा जोडेको छ। एउटा पर्दामा सीमान्त समुदायको कथा सुनाउँदैछ भने अर्कोले त्यही समुदायका अनुभव, ज्ञान र आवाजलाई बहसको केन्द्रमा ल्याउने प्रयास गर्दैछ।
कर्णालीलाई सधै केन्द्रबाट हेरिने भूगोल बनाइरहने कि कर्णाली आफैंले विचार निर्माण गरेर केन्द्रसँग संवाद गर्ने आधार तयार गर्ने, जुम्लामा हुने च्यारिटी सो र त्यससँग जोडिएको सीमान्त साहित्य सम्मेलनले यही प्रश्नलाई थप सार्वजनिक बहसमा ल्याउनेछ।
















