नेपाल मेडिकल काउन्सिलको टोली अनुगमनका लागि गौशाला बजार पुगेपछि केही डेन्टल क्लिनिक बन्द गरी सञ्चालकहरू सम्पर्कविहीन भएका छन्। सोमबार गौशाला बजारमा सञ्चालित डेन्टल क्लिनिकहरूको निरीक्षण तथा आवश्यक कागजात जाँच गर्न काउन्सिलको टोली पुगेको थियो।

अनुगमन टोलीमा नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजयकुमार शाह, महोत्तरी सर्लाही अध्यक्ष डा. गंगाराम खर्गा र धनुषाका महासचिव डा. सुमन कर्णलगायत सहभागी थिए।

टोली पुग्दा केही क्लिनिक बन्द अवस्थामा भेटिएको र सञ्चालक सम्पर्कमा नआएको डा. शाहले बताए। उनका अनुसार क्लिनिक दर्ता, चिकित्सकको नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता, स्वास्थ्यकर्मीको योग्यता तथा सेवा सञ्चालनसम्बन्धी कानुनी कागजातबारे छानबिन भइरहेको छ।

क्लिनिक बन्द गरी सञ्चालक सम्पर्कविहीन हुनुको विषयलाई समेत गम्भीर रूपमा लिइएको उनले बताए। आवश्यक प्रमाण र तथ्य संकलन गरी प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने शाहले जानकारी दिए।
















