एकातिर मेस्सी आफ्नो टोलीलाई फेरि फाइनल पुर्याउन चाहन्छन् भने अर्कोतिर इंग्ल्याण्ड इतिहासको बदला लिन मैदान उत्रनेछ। इतिहास साक्षी छ, यी दुई टोली मैदानमा उत्रिँदा त्यहाँ नाटक, रोमान्च र विवादको कुनै कमी हुनेछैन।
युद्ध मैदानमा बगेको रगत र फुटबल मैदानमा पोखिएको पसिनाको सम्बन्ध कस्तो होला? इंग्ल्याण्ड र अर्जेन्टिनाको दुश्मनी बुझ्न यी दुईको अन्तरसम्बन्ध केलाउनुपर्छ। झन्डै दुई शताब्दी लामो ऐतिहासिक सम्बन्ध र छ दशकभन्दा लामो मैदानको दुश्मनीले यी दुई देशलाई भेट हुँदा खेल मात्र होइन, एउटा युद्धकै रूप दिन्छ।
अहिले २१ वर्षपछि पहिलोपटक यी दुई महारथी आमनेसामने हुँदै छन्, जहाँ विश्वकप विजेता लियोनल मेस्सी पहिलोपटक इंग्ल्याण्डको सामना गर्न मैदान उत्रिँदै छन्। यो केवल एउटा फुटबल खेल मात्र होइन, इतिहासको पाना पल्टाउने र नयाँ अध्याय लेख्ने अवसर हो।
वेम्बलीको ‘शताब्दीकै ठुलो चोरी’ र दुश्मनीको सुरुवात
शुरुवातमा यो सम्बन्ध दुश्मनीपूर्ण थिएन। सन् १८६७ मा बेलायती रेल्वे कामदारहरूले अर्जेन्टिनामा फुटबल खेल्न सुरु गर्दा कसैले सोचेका थिएनन् कि यो पछि गएर फुटबल जगतकै सबैभन्दा ठुलो शत्रुता बन्नेछ।
अर्जेन्टिनाका चर्चित क्लबहरू बोका जुनियर्स, रिभर प्लेट र रोजारियो सेन्ट्रल बेलायती प्रभावकै जगमा जन्मिएका हुन्। तर, मित्रताको यो सम्बन्ध सन् १९६६ को विश्वकपमा सदाका लागि फेरियो।
लन्डनको वेम्बली स्टेडियममा भएको त्यो क्वार्टरफाइनल खेललाई अर्जेन्टिनामा आज पनि ‘शताब्दीकै ठुलो चोरी’ भनिन्छ। जर्मन रेफ्रीले अर्जेन्टिनाका कप्तान एन्टोनियो र्याटिनलाई मैदान बाहिर पठाएपछि तनाव चुलियो।
भाषा नबुझेको भन्दै र्याटिनले मैदान छाड्न मानेनन् र महारानी एलिजाबेथका लागि बिछ्याइएको रातो कार्पेटमा गएर बसिदिए।
अन्त्यमा इंग्ल्याण्डले खेल १-० ले जित्यो, तर इंग्ल्याण्डका प्रशिक्षक अल्फ राम्सेले खेल सकिएपछि आफ्ना खेलाडीलाई विपक्षीसँग जर्सी साट्न रोके र अर्जेन्टिनी खेलाडीहरूलाई ‘जनावर’ को संज्ञा दिए। दुश्मनीको बीउ त्यहीँ रोपियो, जुन पुस्तौँपुस्ता हस्तान्तरण भइरह्यो।
फकल्याण्ड युद्धको छाया र म्याराडोनाको ‘भगवानको हात’
सन् १९८२ मा फकल्याण्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच ७४ दिनसम्म चलेको रक्तपातपूर्ण युद्धमा ९ सयभन्दा बढीले ज्यान गुमाए। अर्जेन्टिनाले युद्ध हार्नुपर्यो।
तर, यसको चार वर्षपछि मेक्सिको सिटीको एज्टेका स्टेडियममा अर्जेन्टिनाले बदला लिने मौका पायो। त्यो खेल फुटबल इतिहासकै सबैभन्दा चर्चित र विवादास्पद खेल बन्न पुग्यो।
डिएगो म्याराडोनाले इंग्ल्याण्डका गोलकिपर पिटर सिल्टनलाई झुक्याउँदै हातले पहिलो गोल गरे, जसलाई उनले पछि ‘भगवानको हात’ (द ह्यान्ड अफ गड) को संज्ञा दिए।
त्यसको चार मिनेटपछि नै उनले मध्यभागबाट बल एक्लै अगाडि बढाउँदै पाँच इंग्लिस खेलाडीलाई बिट गरेर ‘शताब्दीकै उत्कृष्ट गोल’ गरे। अर्जेन्टिनाले इंग्ल्याण्डलाई २-१ ले हराएर युद्धको बदला मैदानबाट लियो र अन्ततः विश्वकप नै जित्यो।
बेकह्यामको खलनायक यात्रा र सेन्ट इटियनको रोमान्च
दुश्मनीको यो शृङ्खला सन् १९९८ मा फ्रान्सको सेन्ट इटियनमा पुगेर फेरि ब्युँतियो। युवा माइकल ओवेनको सनसनीपूर्ण गोल र जाभियर जेनेटीको चलाखीपूर्ण रणनीतिले खेल २-२ को रोमाञ्चक स्थितिमा पुगेको थियो।
तर दोस्रो हाफको सुरुवातमै डिएगो सिमोनीले डेभिड बेकह्यामलाई लडाए। आक्रोशमा आएका बेकह्यामले मैदानमा लडिरहेकै अवस्थामा सिमोनीको पिँडुलामा लात्ती हाने।
सिमोनीको चलाखीपूर्ण अभिनयका कारण रेफ्रीले बेकह्यामलाई रातो कार्ड दिए। १० खेलाडीमा सीमित इंग्ल्याण्डले वीरतापूर्वक लड्यो, तर पेनाल्टी सुटआउटमा हार बेहोर्नुपर्यो।
बेलायती सञ्चारमाध्यमले बेकह्यामलाई देशकै खलनायकका रूपमा चित्रण गरे, जसले दुश्मनीको राँकोलाई झनै दन्कायो।
सापोरोमा बेकह्यामको पुनरागमन र बदला
बेकह्यामका लागि बदला लिने अवसर चार वर्षपछि सन् २००२ मा जापानको सापोरोमा आयो। समूह चरणको यो खेल दुवैका लागि गर या मरको अवस्थामा थियो।
जब माइकल ओवेनलाई पेनाल्टी बक्सभित्र लडाइयो, तब पेनाल्टी प्रहार गर्न स्वयं बेकह्याम अगाडि सरे। पूरा बेलायत सास रोकेर बसेको थियो। बेकह्यामले कुनै गल्ती गरेनन् र सिधै बिचमा प्रहार गर्दै गोल गरे।
खेलभरि सिमोनी र बेकह्यामबिचको आपसी टक्कर हेर्नलायक थियो, तर यसपटक जित बेकह्याम र इंग्ल्याण्डको भयो। यही १-० को हारका कारण अर्जेन्टिना समूह चरणबाटै बाहिरिन बाध्य भयो।
अटलान्टामा नयाँ इतिहासको खोजी
’फुटबल कहिलेकाहीँ खेल मात्र रहँदैन, यो राष्ट्रिय गौरव, विगतको चोट र गौरवशाली इतिहासको अनुपम मिश्रण बन्न पुग्छ।’
अब समय बदलिएको छ। आगामी बुधबार अटलान्टामा यी दुई महारथी फेरि आमनेसामने हुँदै छन्। २१ वर्षपछि हुन लागेको यो ऐतिहासिक भिडन्तमा सबैको आँखा लियोनल मेस्सीमाथि हुनेछ, जसले आफ्नो खेल जीवनमा अहिलेसम्म इंग्ल्याण्डको सामना गरेका छैनन्।
एकातिर मेस्सी आफ्नो टोलीलाई फेरि फाइनल पुर्याउन चाहन्छन् भने अर्कोतिर इंग्ल्याण्ड इतिहासको बदला लिन मैदान उत्रनेछ।
इतिहास साक्षी छ, यी दुई टोली मैदानमा उत्रिँदा त्यहाँ नाटक, रोमान्च र विवादको कुनै कमी हुनेछैन। के अटलान्टाको मैदानले अर्को एउटा अविस्मरणीय इतिहास कोर्नेछ? फुटबल प्रेमीहरू यसैको व्यग्र प्रतीक्षामा छन्।
















