सोमबार, १ भाद्र, २०८३

कुटीरो रिसर्च सेन्टरको आयोजनामा सीमान्त साहित्य सम्मेलन हुने

अनुसन्धान गर्ने विद्यार्थी, लेखक, साहित्यकार, कलाकार, अध्येता, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार र युवालाई एउटै बहसमा ल्याउन सके यसले क्षेत्रगत ज्ञान निर्माणमा नयाँ आधार तयार पार्न सक्छ। सीमान्तकृत समुदायका कला र सीप संरक्षणको चर्चा प्रायः ‘पुरानो संस्कृति बचाउने’ विषयमा सीमित हुने गरेको छ। तर सम्मेलनको अवधारणा त्यतिमै सिमित रहने छैन। मौलिक कला, साहित्य, सीप र ज्ञानलाई संग्रहालयमा थन्क्याउने होइन, त्यसलाई समकालीन समाज र बजारसँग जोड्दै नयाँ पुस्ताका लागि उपयोगी बनाउने सम्मेलनको अर्को महत्त्वपूर्ण मुद्दा हो।

साबिकको सिंगो कर्णाली गोर्खाली राज्य विस्तार अभियानसँगै राज्यको मूलधारभन्दा टाढाको ‘सीमान्त’ भूगोलका रूपमा रहँदै आएको छ। भौगोलिक विकटता, राज्यको कमजोर उपस्थिति, अवसरको असमान वितरण र केन्द्रमुखी विकास दृष्टिकोणले यहाँको समाज, संस्कृति, ज्ञान र सिर्जनालाई पनि लामो समयदेखि किनारामा धकेलेको छ।

यही ऐतिहासिक अनुभवमाथि वैचारिक बहस गर्दै कर्णालीको आवाजलाई केन्द्रसम्म पुर्‍याउने उद्देश्यले कुटीरो रिसर्च सेन्टरले ‘सीमान्त साहित्य सम्मेलन’ गर्न लागेको सहर्ष जानकारी गराउँदछौं। साहित्यलाई सिर्जनाका साथसाथै समाजको किनारामा रहेका समुदायको अनुभव, ज्ञान, संघर्ष र पहिचान अभिव्यक्त गर्ने माध्यमका रूपमा स्थापित गर्ने उद्देश्य सम्मेलनले राखेको छ।

सिंगो कर्णाली आज पनि विकास, अवसर, ज्ञान निर्माण र राज्यको प्राथमिकताको हिसाबले आफूलाई ‘सीमान्त भूगोल’ मै रहेको महसुस गरिरहेको छ। तर अब सीमान्तलाई भौगोलिक दूरीका रूपमा बुझेर पुग्ने अवस्था छैन। सामाजिक, सांस्कृतिक, आर्थिक र बौद्धिक रूपमा किनारामा पारिएका समुदायलाई राज्यको मूल प्रवाहमा कसरी ल्याउने भन्ने प्रश्नमा पनि गम्भीर बहस आवश्यक छ। त्यसैको खोजीका रूपमा सम्मेलनले ‘किनारादेखि केन्द्रसम्म’ को वैचारिक यात्रालाई बहसको मूल आधार बनाउने तयारी गरेको छ।

नेपालमा राज्यको संरचना र विकासको बहस लामो समयदेखि केन्द्र वरिपरि घुम्दै आएको छ। काठमाडौंलगायतका राजनीतिक तथा बौद्धिक केन्द्रमा हुने बहसले देशका धेरै भूगोल र समुदायको आवाज समेटे पनि कर्णाली क्षेत्रको आफ्नै अनुभव, ज्ञान र सिर्जनाले भने पर्याप्त स्थान पाउन सकेको स्थिति छैन।

कर्णालीलाई प्रायः गरिबी, अभाव, विकटता, पछौटेपन र समस्याको पर्याया भनेर मात्र व्याख्या गरिन्छ। तर यही भूगोलभित्र पुस्तौंदेखि विकसित भएका भाषा, लोककथा, लोकसाहित्य, संगीत, कला, हस्तकला, परम्परागत सीप, जीवनपद्धति र स्थानीय ज्ञानको विशाल संसार छ। त्यो ज्ञान र सिर्जनालाई दस्तावेजीकरण गर्ने, त्यसबारे नयाँ पुस्तालाई बहसमा जोड्ने र आधुनिक समयसँग त्यसको सम्बन्ध खोज्ने काम भने पर्याप्त हुन सकेको छैन।

सिमान्तकृत समुदायले विस्तार गरेको कला, साहित्य, सीप र आविष्कारसमेत लोपोन्मुख अवस्थामा छन्। त्यसलाई संरक्षण मात्रै होइन, व्यापक बनाउँदै आधुनिक समयसँग जोड्न सक्ने वैचारिक थलो आवश्यक छ। त्यसैले सम्मेलनलाई साहित्यिक कार्यक्रम मात्रै भन्दा पनि ज्ञान, विचार, सिर्जना र समाजको सम्बन्धमाथि बहस गर्ने बौद्धिक थलोका रूपमा अघि बढाउने तयारी गरिएको छ।

साहित्यले समाजको ऐना मात्र देखाउँदैन, समाजले नदेखेको वा देख्न नचाहेको यथार्थलाई पनि प्रश्न गर्छ। यही भूमिकालाई केन्द्रमा राख्दै सीमान्त साहित्य सम्मेलनले कर्णालीका साथै देशका विभिन्न सीमान्त समुदायका अनुभव र सिर्जनालाई एउटै विमर्शमा जोड्ने लक्ष्य राखेको छ।

कुन समुदायको कथा लेखिन्छ? कसको आवाज साहित्यमा आउँछ? कसको ज्ञानलाई ज्ञान मानिन्छ? र किन केही भूगोल तथा समुदायका अनुभव राष्ट्रिय विमर्शको केन्द्रमा पुग्न सक्दैनन्? सम्मेलनले यस्ता प्रश्नलाई बहसको विषय बनाउनेछ। साहित्यको केन्द्र र परिधिबीच रहेको दूरी कम गर्ने तथा सीमान्तकृत समुदायका सिर्जनालाई राष्ट्रिय साहित्यिक बहससँग जोड्नु यो साहित्य सम्मेलनको ध्येय हो। गाउँघरमा पुस्तौंदेखि सुनिँदै आएका लोककथा, देउडा, लोकगीत, मौखिक इतिहास, स्थानीय मिथक, हस्तकला र परम्परागत ज्ञानलाई नयाँ पुस्ताको सिर्जनासँग जोड्ने विषय पनि सम्मेलनको महत्वपूर्ण पाटो हो।

सम्मेलनको अर्को महत्वपूर्ण उद्देश्य कर्णालीमा अध्ययन, अनुसन्धान, चिन्तन र लेखनको वातावरण निर्माण गर्नु हो। कुनै भूगोललाई केन्द्रमा ल्याउन सडक, सञ्चार र भौतिक पूर्वाधार मात्रै पर्याप्त हुँदैन। त्यसका लागि विचार निर्माणको पूर्वाधार पनि आवश्यक हुन्छ।

अध्ययन, चिन्तन, मनन, लेखन र विचार निर्माणको दायरा फराकिलो हुन जरुरी छ। सीमान्तकृत समुदाय आफैले आफ्नो कथा, इतिहास र भविष्यबारे बोल्ने वातावरण बनाउनुपर्छ। यही कारण सम्मेलनलाई औपचारिक साहित्यिक जमघटका रूपमा सीमित नगरी दीर्घकालीन बौद्धिक अभियानको सुरुआतका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। कर्णालीमा अनुसन्धान गर्ने विद्यार्थी, लेखक, साहित्यकार, कलाकार, अध्येता, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार र युवालाई एउटै बहसमा ल्याउन सके यसले क्षेत्रगत ज्ञान निर्माणमा नयाँ आधार तयार पार्न सक्छ।

सीमान्तकृत समुदायका कला र सीप संरक्षणको चर्चा प्रायः ‘पुरानो संस्कृति बचाउने’ विषयमा सीमित हुने गरेको छ। तर सम्मेलनको अवधारणा त्यतिमै सिमित रहने छैन। मौलिक कला, साहित्य, सीप र ज्ञानलाई संग्रहालयमा थन्क्याउने होइन, त्यसलाई समकालीन समाज र बजारसँग जोड्दै नयाँ पुस्ताका लागि उपयोगी बनाउने सम्मेलनको अर्को महत्त्वपूर्ण मुद्दा हो।

कर्णालीका परम्परागत सीपलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने? स्थानीय कथालाई नयाँ साहित्यिक विधामा कसरी रूपान्तरण गर्ने? मौखिक इतिहासलाई कसरी अभिलेख गर्ने? स्थानीय भाषालाई डिजिटल माध्यममा कसरी विस्तार गर्ने? कर्णालीको सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसम्म कसरी पुर्‍याउने? यस्ता प्रश्नले सम्मेलनलाई परम्परा संरक्षण र आधुनिकताको बहसबीचको सेतु बनाउनेछन्।

सम्मेलनको नाममै रहेको ‘सिमान्त’ शब्द आफैमा एउटा वैचारिक प्रश्न हो। कुनै एक भूगोललाई कसले किन सिमान्त बनायो? सीमान्त हुनु प्राकृतिक अवस्था हो कि राज्यको नीति, शक्ति संरचना र विकासको दृष्टिकोणले निर्माण गरेको अवस्था? केन्द्र र सीमान्तबीचको सम्बन्ध कस्तो हुनुपर्छ? अनि सीमान्तकृत समुदायले केन्द्रमा पुग्नुपर्ने हो कि केन्द्रले नै सीमान्ततर्फ फर्किनुपर्ने हो?

यी प्रश्नले सम्मेलनलाई साहित्यिक कार्यक्रमबाट फराकिलो सामाजिक विमर्शतर्फ लैजाने विश्वास लिइएको छ। कर्णालीको सन्दर्भमा हेर्दा पनि ‘पछाडि परेको भूगोल’ भन्ने प्रचलित भाष्यलाई उल्ट्याएर यहाँको आफ्नै ज्ञान, सभ्यता र सिर्जनात्मक क्षमतालाई केन्द्रमा राख्ने बहस आवश्यक देखिन्छ।

सिमान्त साहित्य सम्मेलनको मूल मर्म यही हो, कर्णालीको आवाज कर्णालीमै सीमित नरहोस्। देशको साहित्यिक तथा बौद्धिक बहसमा कर्णालीलाई अध्ययनको विषय मात्र होइन, विचार निर्माण गर्ने भूगोलका रूपमा स्थापित गर्ने प्रयास होस्। पाका पुुस्ताका अनुभव अरूका लागि व्याख्या गर्ने व्याख्याता मात्र होइन, उनीहरूले आफै आफ्नो कथा लेख्ने र आफ्नो भविष्यबारे विचार निर्माण गर्ने वातावरण निर्माण हुनुपर्छ। यसका लागि यो साहित्य सम्मेलन एउटा बलियो माध्यम बन्न सक्छ।

कुटीरो रिसर्च सेन्टरले आयोजना गर्न लागेको सम्मेलनले यीनै सम्भावनालाई संस्थागत बहसमा रूपान्तरण गर्ने कोसिस गर्न आँटेको छ। सम्मेलनले सीमान्त अनुभवलाई राष्ट्रिय विमर्शमा जोड्नुका साथै सीमान्तकृत समुदायका ज्ञान, कला, साहित्य, सीप र सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने बहसको थालनी गर्नेछ।

भौगोलिक रूपमा केन्द्रबाट टाढा रहेको कर्णालीलाई अब विचार र सिर्जनाको हिसाबले पनि किनारामै राखिराख्ने कि आफ्नै आवाज र ज्ञानका आधारमा केन्द्र निर्माण गर्ने, सीमान्त साहित्य सम्मेलनले यही प्रश्नलाई बहसको टेबलमा ल्याउने तयारी गरेको छ। अन्ततः यसको सार एउटै छ, सिमान्तलाई केन्द्रको दयामा होइन, आफ्नै ज्ञान, सिर्जना र आवाजका आधारमा केन्द्रसँग संवाद गर्न सक्ने बनाउने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार