आईतवार, ३१ श्रावण, २०८३

घरघरमै पुगरे सामाजिक सुरक्षा भत्ता पाउनेको परिचय नवीकरण गर्दै वडा अध्यक्ष शाही

जुम्लाको चन्दननाथ नगरपालिका–१० का वडा अध्यक्ष नमराज शाहीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकासहित सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई घरमै पुगेर भत्ता नवीकरणको सेवा दिन थालेका छन्।

वडा कार्यालयसम्म पुग्न कठिन हुने नागरिकलाई लक्षित गर्दै अध्यक्ष शाही आफैँ ल्यापटप बोकेर घरघरमा पुग्ने र सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिने गरेका हुन्। यसबाट विशेषगरी शारीरिक रूपमा अशक्त, ज्येष्ठ तथा बालबालिकालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अध्यक्ष शाहीका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि प्रयोग हुने प्रणाली बिहान ९ बजेसम्म र बेलुका ५ बजेपछि मात्र सञ्चालन हुने भएकाले सेवा प्रवाहका लागि समय व्यवस्थापन गर्नुपरेको छ। सोहीअनुसार उनी बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ६ बजेपछि लाभग्राहीको घरमै पुगेर नवीकरणको काम गर्दै आएका छन्।

‘जनतालाई घरघरमै सेवा दिन सार्वजनिक बिदा पनि नभनी आफैँ ल्यापटप बोकेर घरघरमा पुग्ने गरेको छु,’ अध्यक्ष शाहीले भने, ‘स्थानीय सरकार भनेको जनताको घरघरको सरकार हो। नागरिकको घरमै पुगेर सेवा गर्न पाउँदा मलाई गौरव महसुस हुन्छ।’

दिउँसो प्रणाली सञ्चालन नहुने भएकाले बिहान र बेलुकाको समय उपयोग गरेर सेवा दिनुपरेको अध्यक्ष शाहीले बताए। उनका अनुसार सार्वजनिक बिदाका दिन कर्मचारीलाई अनिवार्य रूपमा कार्यालयमा बोलाउन नमिल्ने भएकाले आफूले व्यक्तिगत रूपमा घरदैलोमै पुगेर सेवा दिने गरेका छन्।

‘अरू कर्मचारीको पनि आफ्नै काम र जिम्मेवारी हुन्छ। बिदाको दिन उहाँहरूलाई जबर्जस्ती काममा बोलाउनुभन्दा म आफैँ घरघरमा पुगेर सेवा दिन्छु,’ उनले भने।

कतिपय सार्वजनिक बिदाका दिन सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी प्रणाली दिनभर सञ्चालन हुने भएकाले त्यस्ता दिन सेवा प्रवाह गर्न अझ सहज हुने गरेको उनको भनाइ छ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीले वडा कार्यालयसम्म पुग्नुपर्ने अवस्थाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई थप कठिनाइ हुने गरेको छ। यस्तो अवस्थामा जनप्रतिनिधि आफैँ घरदैलोमा पुगेर सेवा दिन थालेपछि नागरिकलाई समय, श्रम र आवतजावतको झन्झटबाट राहत मिल्ने देखिएको छ।

स्थानीय सरकारको सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यअनुसार घरघरमै पुगेर सेवा दिइरहेको अध्यक्ष शाहीले बताए। उनले आगामी दिनमा पनि नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन घरदैलो केन्द्रित सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार