भाग -२
हाम्रो आँखा भने निरन्तर हुस्सुभित्र कतै लुकेको आकाशे ताल खोजिरहेकै थियो। हामीले यति लामो र कठिन यात्रा गरेर आइपुगेको गन्तव्य हाम्रै आँखाअगाडि कतै लुकेको थियो तर त्यो क्षणसम्म हामीलाई त्यसको झलकसमेत मिलेको थिएन।
दोस्रो दिन बिहान अलि ढिलो ब्युँझियौँ। करिब साढे ६ बजे तिर चिया पिएर, त्यसपछि पदयात्रा सुरुभए पछि होटलहरू नपाइने भएकाले दिउँसोका लागि पकाएको आलु र मोर्चा, अन्डा, चाउचाउ, रेड बुल, दालमोट, बिस्कुट, चकलेट र प्रोटिन बारजस्ता खानेकुरा झोलामा बोकी हाम्रो उद्देश्य मोटरसाइकल पुग्ने अन्तिम स्थानसम्म पुगेर त्यहाँबाट पैदल यात्रा सुरु गर्नु थियो। बाटोमा हरिया पहाड, चौरी चरिरहेका दृश्य र प्रकृतिको मनमोहक दृश्यहरूले यात्रालाई अझ रोमाञ्चक बनाइरहेको थियो।
यसै क्रममा आकाशे ताल पहिलो पटक पत्ता लगाउने साङ्बो गुरुङसँग भेट्ने अवसर पनि मिल्यो। उहाँ नै आफ्नो हराएको चौरी खोज्ने क्रममा आकाशे ताल (स्काइ लेक) पहिलो पटक फेला पार्ने व्यक्ति हुनुहुँदो रहेछ। उहाँ र उहाँकी श्रीमतीसँग भएको आत्मीय कुराकानीले हामीलाई आकाशे तालको इतिहास र त्यस क्षेत्रबारे धेरै रोचक जानकारी दियो।

करिब डेढ घण्टाको मोटरसाइकल यात्रापछि हामी सडकको अन्तिम बिन्दुमा पुग्यौँ, जहाँबाट अब मोटरसाइकल अघि जान सक्दैनथ्यो। त्यहीँ सुरक्षित रूपमा मोटरसाइकल पार्क गरेर ह्यान्डल लक लगायौँ। नजिकै रहेको एउटा चौरीगोठमा केही ज्येष्ठ नागरिकसँग भेट भयो। उहाँहरूले अगाडिको बाटो, त्यहाँ रहेका दुधकुण्ड र रूपकुण्ड (आकाशे ताल)को बारेमा जानकारी दिनुभयो।
दुधकुण्ड जुम्ला र डोल्पाका श्रद्धालुहरूले पूजाआजा गर्ने पवित्र स्थल रहेछ भने त्यसको पश्चिमतिर आकाशे ताल रहेको जानकारी पनि उहाँहरूले दिनुभयो। साथै, बाटो जोखिमपूर्ण भएकाले दुधकुण्डतर्फ नजान र आकाशे तालतर्फ मात्रै लाग्न सल्लाह दिनुभयो। अपरिचित यात्रामा यस्ता अनुभवी व्यक्तिहरूको आत्मीय सुझाव पाउँदा साँच्चै “ढुङ्गा खोज्दा देवता भेटिएझैँ” महसुस भयो।
मोटरसाइकलको यात्रा त्यहीँ टुङ्ग्याएर बिहान करिब ८:४० बजेतिर हामीले आकाशे तालतर्फको पैदल यात्रा सुरु गर्यौं। सुरुमा गोरेटो बाटो पछ्याउँदै सबै जना एकसाथ अघि बढिरहेका थियौँ। बाटो शान्त थियो, वरिपरि फैलिएको हरियालीले मन लोभ्याइरहेको थियो। केही समयमै हामी एउटा विशाल फाँटमा पुग्यौँ।
त्यो फाँटभरि फुलेका रङ्गीचङ्गी जङ्गली फूल, कलकल बग्ने झरना र चारैतिर फैलिएका हरिया डाँडापाखाले यस्तो मोहक दृश्य सिर्जना गरेका थिए कि त्यहीँ बसेर प्रकृतिको आनन्द लिइरहूँ जस्तो लाग्थ्यो। तर हाम्रो लक्ष्य अझै अगाडि थियो, त्यसैले हामी पाइला रोकेनौँ।

करिब ४० मिनेटसम्म त्यो विशाल फाँट पार गरेपछि हामी एउटा गोठमा पुग्यौँ। त्यहाँ केहीबेर विश्राम गर्यौं र गोठमा रहेका स्थानीयसँग अगाडिको बाटोबारे जानकारी लियौँ। हामी त्यस दिन आकाशे ताल जाने अन्तिम टोली रहेछौँ। हामीभन्दा अगाडि बिहान ६ बजे एउटा टोली र त्यसपछि ७ बजे अर्को टोली गइसकेको रहेछ।
हामी भने करिब साढे ८ बजेतिर आफ्नो पैदल यात्रा सुरु गरेका थियौँ। उहाँहरूले यही बाटो आकाशे तालतर्फ जाने सही मार्ग भएको बताउनुभयो। हामीले तालसम्म पुग्न कति समय लाग्छ भनेर सोध्दा उहाँहरूले मुस्कुराउँदै भन्नुभयो, ‘हामीलाई त करिब साढे दुईदेखि तीन घण्टा लाग्छ, तर तपाईंहरूलाई चार घण्टाजति लाग्न सक्छ।’
त्यहीँबाट हाम्रो वास्तविक परीक्षा सुरु भयो। अब लगातार उकालो चढ्नुपर्ने थियो। सुरुको केही भाग व्यवस्थित ट्रेकिङ मार्ग रहेछ। ग्राभेल बिछ्याइएको बाटो र दायाँ-बायाँ फर्फराइरहेका प्रार्थना झन्डा (लुङ्ता) ले यात्रालाई अझ आकर्षक बनाइरहेका थिए। यद्यपि त्यो व्यवस्थित बाटो धेरै लामो रहेन। केही समयपछि हामी फेरि प्राकृतिक गोरेटो उकालो समाउँदै अघि बढ्यौँ। बाटो धेरै ठाउँमा स्पष्ट पनि थिएन।
बाटो यति ठाडो थियो कि कतिपय ठाउँमा करिब ९० डिग्रीकै उकालो जस्तो महसुस हुन्थ्यो। कतै बाटो हो कि पानी बगेको धार हो भनेर छुट्याउनै गाह्रो हुन्थ्यो। कहिले चट्टानमाथि, कहिले घाँसे भीर हुँदै हामी बिस्तारै उकालो चढिरहेका थियौँ।

हामीले यात्राका लागि बोकेका खानेकुरा पनि सबैले आ-आफ्नो भागमा बोकेका थियौँ। यात्राको एउटा राम्रो पक्ष के थियो भने हामी सबै प्रकृतिप्रेमी भएकाले बाटोमा आफूले उत्पादन गरेको कुनै पनि फोहोर त्यहीँ छोडेनौँ। सबै फोहोर आफ्नै झोलामा बोकेर होटलसम्म ल्याई उचित व्यवस्थापन गर्यौं।
प्रकृतिको सौन्दर्य हेर्न गएको यात्रामा त्यही प्रकृतिलाई फोहोर नबनाउनु हाम्रो सानो तर महत्त्वपूर्ण जिम्मेवारी थियो। सुरुमा हामीलाई त्यति टाढा हिँड्नुपर्छ भन्ने कल्पना नै थिएन। हाम्रो दिमागमा एउटा फरक किसिमको योजना थियो, मोटरसाइकल अलिकति माथिसम्म जान्छ र त्यसपछि केही समय मात्र हिँडे पुगिन्छ होला भन्ने। तर वास्तविकता हाम्रो सोचभन्दा बिल्कुलै फरक रहेछ।
“अब पुगियो होला” भन्दै अघि बढ्दा पनि गन्तव्य झन् टाढा देखिन्थ्यो। एकपछि अर्को उकालो पार गर्दै जाँदा हामीलाई बाटोको अन्त्य नै नभएजस्तो लाग्थ्यो। केहीबेर उकालो चढेपछि विश्राम गर्ने, फेरि केही पाइला अघि बढ्ने र फेरि आराम गर्ने क्रम चलिरह्यो। कहिलेकाहीँ त तीन-चार मिनेट मात्र उकालो चढेर पाँच मिनेटजति विश्राम गर्नुपर्थ्यो। शरीर थाकिसकेको थियो।

त्यस क्रममा साथी धर्मेन्द्रलाई भने हिँड्न निकै कठिन भयो। उ बीच बाटोमै फर्किने मनस्थितिमा पुगेका थियो। अत्यधिक थकानका कारण उनले पटक-पटक “म अब जान सक्दिनँ, म यहीँबाट फर्किन्छु” भन्न थाल्यो। करिब चार घण्टा हिँडिसकेका थियौँ भने हामी गन्तव्यको निकै नजिक पुगिसकेका थियौँ।
त्यसैले सबैले उसलाई हौसला दिँदै, पालैपालो सहारा दिँदै अन्ततः सँगै अघि बढायौँ। जबर्जस्ती माथि लैजान डर लागिरहेको पनि थियो। पानी परिरहेको थियो, सबैले रेनकोट लगाएका थियौँ र बाटो पनि निकै जोखिमपूर्ण थियो। मनमा कतै केही भइहाल्छ कि भन्ने डर हुँदाहुँदै पनि अन्ततः हामी उसलाई सँगै लिएर अघि बढ्यौँ।
निरन्तर वर्षा, डर लाग्दो बाटो र अत्यधिक थकानका बीच अन्ततः हामी एउटा डाँडाको माथिल्लो भागमा पुग्यौँ। हामीसँगै अर्को टोलीका केही साथीहरू पनि त्यही डाँडामा आइपुगेका थिए। त्यहाँ पुगेपछि पनि पाँच मिटर अगाडि वा पछाडि रहेको साथीलाई समेत हुस्सुका कारण देख्न गाह्रो हुन्थ्यो।
सबैजना केहीबेर विश्राम गर्दै एउटै उत्सुकताका साथ आकाशे तालको पहिलो झलक पर्खिरहेका थियौँ। तर चारैतिर बाक्लो हुस्सुले सबै दृश्य ढाकेको थियो। हाम्रो आँखा भने निरन्तर हुस्सुभित्र कतै लुकेको आकाशे ताल खोजिरहेकै थियो। हामीले यति लामो र कठिन यात्रा गरेर आइपुगेको गन्तव्य हाम्रै आँखाअगाडि कतै लुकेको थियो तर त्यो क्षणसम्म हामीलाई त्यसको झलकसमेत मिलेको थिएन।

केही समयपछि हुस्सु विस्तारै पातलो हुन थाल्यो। डाँडाभन्दा अलिकति तल एउटा सानो पोखरीको आकृति देखियो। त्यो देखेर हामीमध्ये धेरैले, “सायद यही नै आकाशे ताल हो,” भन्ने सोच्यौँ। तर त्यो त हामीले कल्पना गरेकोभन्दा निकै सानो थियो। क्षणभरमै हामी निराश भयौँ। हामीले यति लामो यात्रा गरेर यही सानो पोखरी हेर्न आएका हौँ त भन्ने भावना पनि मनमा आयो।
तर प्रकृतिले अझै आफ्नो वास्तविक सौन्दर्य देखाउन बाँकी राखेकी रहेछिन्। केहीबेरपछि हुस्सु झन् विस्तारै हट्दै गयो। पहिले माथिबाट हेर्दा हुस्सुले ढाकेको आकाशजस्तै विशाल र खुला ठाउँ बिस्तारै खुल्न थाल्यो। हुस्सुको पर्दा हट्दै जाँदा त्यही सानो पोखरीभन्दा केही तलतिर अर्को विशाल जलराशि हाम्रो आँखाअगाडि प्रकट हुन थाल्यो। त्यो क्षण शब्दमा बयान गर्न कठिन थियो।
हामीले देखिरहेको दृश्य साँच्चै आकाशे ताल नै रहेछ। हुस्सुको काखबाट बिस्तारै उदाउँदै गरेको विशाल तालको त्यो पहिलो दर्शनले हाम्रो सबै थकान, संघर्ष र प्रतीक्षालाई एकै क्षणमा सार्थक बनाइदियो। लामो उकालो चढ्दाचढ्दै थाकेर बीच बाटोमै “अब म फर्किन्छु” भन्ने साथी धर्मेन्द्र पनि त्यो दृश्य देख्नेबित्तिकै सबै भन्दा पहिले खुसीले जुरुक्क उभिएर फुरक फुरुक गर्न थाल्यो।
आकाशे ताललाई पछाडि पारेर भिडियो बनाउँदै त्यसको अनुपम सौन्दर्यको वर्णन गर्न थाल्यो। त्यो क्षण साँच्चै जादुमय थियो। प्रकृतिको त्यो अद्भुत रूपले हामी सबैलाई केही क्षण निःशब्द बनाएको थियो।

त्यसपछि हामी सबै साथीहरू उत्साहका साथ डाँडाबाट तल तालतर्फ झर्यौं। बाटोभरि फुलेका राताम्य जङ्गली फूलहरूले यात्रालाई अझ मनमोहक बनाइदिएका थिए। तालको किनारमा पुगेर केही समय शान्त भएर प्रकृतिको अनुपम सौन्दर्यलाई निहाल्यौं।
नीलो आकाशको प्रतिबिम्बले सजिएको नीलो ताल, चारैतिर फैलिएका हरिया पहाड र शान्त वातावरणले मनमा वर्णन गर्न नसकिने आनन्द भरिदियो। सबै आ-आफ्नै तरिकाले त्यो अविस्मरणीय क्षणलाई सम्झनामा सुरक्षित गर्न व्यस्त भयौँ।
कोही टिकटकका लागि भिडियो बनाइरहेका थिए, कोही आकाशे ताललाई पृष्ठभूमिमा राखेर तस्बिर खिचिरहेका थिए भने कोहीले साथमा ल्याएको ड्रोन उडाएर ताल र वरपरको मनोरम दृश्यलाई आकाशबाट कैद गरिरहेका थिए। हेर्दाहेर्दै समय कसरी बित्यो, हामीलाई नै पत्तो भएन। हामी प्रकृतिको सौन्दर्यमा यति धेरै हराएका थियौँ कि घर फर्कन ढिलो हुँदैछ भन्ने कुरा क्षणभरका लागि पनि सम्झन सकेनौँ।

केहीबेरपछि हामीभन्दा अगाडि दुधकुण्ड पुगेका दुई टोली पनि फर्किंदै आकाशे तालमा आइपुगे। त्यसपछि सबैको त्यहीँ भेट भयो। एकअर्कासँग अनुभव साटासाट गर्यौँ र समूहमा तस्बिरहरू पनि खिच्यौँ। त्यसैबीच फेरि सिमसिम पानी पर्न थाल्यो।
मौसम फेरि बिग्रँदै गएको देखेर अब फर्किनुपर्ने निर्णय गर्यौं। वास्तवमा हाम्रो पनि दुधकुण्डसम्म पुग्ने ठूलो इच्छा थियो। तर समयको अभाव, निरन्तर वर्षा र केही साथीहरू अत्यधिक थाकेका कारण त्यो योजना पूरा हुन सकेन।
बेलुका करिब ४ बजेतिर हामीले आकाशे तालसँग बिदा लिँदै फर्किने यात्रा सुरु गर्यौं। ताललाई अन्तिम पटक फर्केर हेर्यौं र मनभरि त्यसको अनुपम सौन्दर्य सँगाल्दै हामी फेरि त्यही डाँडा उक्लियौँ, जहाँबाट पहिलो पटक आकाशे तालको मनमोहक दृश्य देखेका थियौँ। त्यसपछि त्यही परिचित गोरेटो बाटो समाउँदै बिस्तारै ओरालो झर्न थाल्यौँ।

फर्किने यात्रा पनि कम चुनौतीपूर्ण थिएन। उही डाँडा, उही गोरेटो बाटो र निरन्तर परेको सिमसिमे वर्षाबीच हामी बिस्तारै ओरालो लाग्यौँ। कतिपय साथीहरूलाई चिप्लो ओरालोमा हिँड्न कठिन भइरहेको थियो। उकालो चढ्न करिब पाँच घण्टा लागेको बाटो ओरालो झर्न भने दुई घण्टा मात्र लाग्यो।
यद्यपि ओरालो सजिलो थिएन। वर्षाले बाटो चिप्लो बनाएको थियो र धेरै ठाउँमा एकअर्काको सहारा लिएर सावधानीपूर्वक हिँड्नुपरेको थियो। अन्ततः साँझ करिब ७ बजेतिर हामीले मोटरसाइकल राखेको स्थानमा सुरक्षित रूपमा पुग्न सफल भयौँ। त्यतिबेला सबैको अनुहारमा थकान त थियो, तर आकाशे ताल पुगेर फर्किएको सन्तुष्टि त्योभन्दा धेरै ठूलो थियो।
केहीबेर विश्राम गरेपछि हामी सबै दस जना फेरि मोटरसाइकलमा सवार भयौँ। अघिल्लो रात बसेकै चोत्रास्थित स्काइ लेक होटल मा फर्केर दोस्रो रातको बास बस्ने हाम्रो योजना थियो। साँझ पर्न थालेको थियो, मौसम अझै पूर्ण रूपमा खुलेको थिएन, तर अब हाम्रो मन हलुङ्गो थियो, किनकि यात्राको मुख्य उद्देश्य सफलतापूर्वक पूरा भइसकेको थियो।

करिब बेलुका साढे ८ बजेतिर हामी पुनः स्काइ लेक होटल पुग्यौँ। दिनभरको लामो पदयात्रा र मोटरसाइकल यात्रापछि शरीर निकै थाकेको भए पनि मन भने आकाशे तालका अविस्मरणीय दृश्य र अनुभवले भरिएको थियो। दिनभरको लामो यात्रापछि सबैभन्दा पहिले हातखुट्टा धोएर केहीबेर आराम गर्यौं।
त्यसपछि वरपरको गाउँबाट एउटा लोकल कुखुरा ल्याई होटलको दिदीलाई पकाइदिन अनुरोध गर्यौं। खाना पाक्ने प्रतीक्षामा हामी होटलबाहिर आगो ताप्दै दिनभरका अनुभवहरू साटासाट गर्दै बस्यौँ।
केहीबेरमै फेरि सिमसिम पानी पर्न थाल्यो। बाहिरको मौसम चिसिँदै गए पनि भित्र भने तातो खाना तयार भइसकेको थियो। दिनभरको भोक र थकानका बीच सबै साथीहरू सँगै बसेर मिठो भोजन गर्यौँ। त्यसपछि अर्को दिनको यात्रा सम्झँदै आ-आफ्नो कोठातिर लाग्यौँ। गहिरो निद्रापछि भोलिपल्ट बिहान नयाँ उत्साहका साथ ब्युँझियौँ।

j
















