सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित बिउरेनी जंगलबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको आठ जनाको प्रहरी टोलीले बुधबार बिहान करिब १०ः१५ बजे जंगलमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा काठ–दाउराको थुप्रोको बीचमा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद भएका बन्दुकमध्ये तीन थान लोडेड जस्तो देखिने र एक थान खाली अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ।
















