वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी पुलबाट नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार शुक्रबार (२०८३ साल साउन ३० गते) बिहान करिब १०ः५० बजेको समयमा एक पुरुष व्यक्ति भेरी पुलबाट नदीमा हामफालेको देखेपछि वीरेन्द्रनगर–१० पिपिरा निवासी ६२ वर्षीय सकुरबक्स मियाँले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी सुब्बाकुना, सुर्खेतबाट प्रहरी नायब निरीक्षक गोविन्द खत्रीको कमान्डमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो।
खोजीका क्रममा पुलबाट हामफालेको स्थानमा एक थान क्याप टोपी, मोबाइल, सेन्ट, चप्पल, मोजा, लिप कार्ड र एक थान चार्जर फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका सामान आफ्ना सालो वीरेन्द्रनगर नगरपालिका–३ तातापानी निवासी २० वर्षीय दीपक काफ्लेको भएको नारायणप्रसाद पाण्डेले प्रहरीलाई जानकारी गराएका छन्।
हाल दीपक काफ्ले भेरी नदीमा बेपत्ता भएको आशंकामा उनका आफन्त तथा प्रहरी टोलीले नदी आसपासको क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।
















