कर्णालीमको मौलिक लोकसंस्कृति, प्रेम, सम्झना र विछोडका भाव समेटिएको देउडा गीत ‘बनै डुल्न्या चरिया’ सार्वजनिक भएको छ। विश्वराज खत्रीको स्वर तथा संगीत रहेको गीत देउडा र न्याउल्या शैलीमा तयार पारिएको हो।
नवराज भण्डारीको शब्द रहेको गीतमा पश्चिम नेपालको ग्रामीण जीवन र प्रकृतिसँग जोडिएका विम्बमार्फत प्रेम र विरहका अनुभूति प्रस्तुत गरिएको छ।
‘लेखका सिमसिम्या पानी’, ‘मुलनौलाको पानी’ र ‘गंगाजल’ जस्ता स्थानीय विम्बले गीतलाई कर्णाली–सुदूरपश्चिमको भूगोल र जनजीवनसँग नजिक बनाएका छन्। सँगै हिँडेका बाटा, समातेका हात र बितेका क्षणको सम्झनाले जन्माउने वियोगलाई पनि गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
गीतमा समयमै प्रेम व्यक्त गर्न नसक्दा उत्पन्न हुने पछुतो र अवसर गुम्दाको पीडालाई ‘वनभरि फूल फुले पनि पहिरिन नपाएको’ भावमार्फत अभिव्यक्त गरिएको छ। ‘उडूँ कि बयालसँग, बगुँ कि भेलसँग’ जस्ता पंक्तिले प्रेम र विछोडबीच अल्झिएको मनको बेचैनीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छन्। दोहोरिरहने ‘बनै डुल्न्या चरिया’ र ‘तेरै माया लाउछ बरिया’ थेगोले गीतमा मौलिक देउडा स्वाद थपेको छ।
यसैबीच, खत्रीको स्वरमा रहेको ‘तेरै माया लाउछ’को आधिकारिक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। इस्बल सञ्ज्यालको स्वर रहेको गीतमा रमेश सेन्चुरीको संगीत संयोजन र कुमार रामाको मिक्सिङ तथा मास्टरिङ छ। भिडियो जुम्लाका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो।
दिनेश ठकुल्लाको निर्देशन तथा छायांकन रहेको भिडियोमा राजेश बिशोकर्मा, मदन महत, रूपा बुढा र राधिका खत्रीले अभिनय गरेका छन्। निर्माण पक्षले गीत तथा भिडियोमार्फत जुम्लाको मौलिक कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई देश–विदेशसम्म चिनाउने अपेक्षा गरेको छ।
















