बिहीबार, २१ श्रावण, २०८३

मनऋषि धितालले संचालन गरेको ‘२२२ खुला आँखा अभियान’ स्थगन

जेन जी आन्दोलन र २०८२ को आम निर्वाचनपश्चात् जुम्लामा विगत पाँच महिनादेखि सञ्चालित ‘२२२ खुला आँखा अभियान’ राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै हाललाई स्थगन गरिएको छ।

निर्वाचनका बेला जनतासमक्ष गरिएका राजनीतिक वाचालाई सामाजिक रूपान्तरणमा बदल्ने उद्देश्यका साथ सुरु भएको यो अभियानले आफ्ना तोकिएका मुख्य लक्ष्यहरू पुरा गरेको छ।

अभियानका संयोजक मनऋषि धितालका अनुसार यस अवधिमा जुम्लाका २२२ वटै बस्तीमा जनसेवाको सन्देश पुर्‍याउनुका साथै कम्तीमा २२२ वटा जनसेवाका गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।

यस अभियानमार्फत निःसर्त र निःस्वार्थ समाजसेवाका लागि २२२ जना स्थानीय सामाजिक अभियन्ता तयार गरिएको छ, जसले समाजमा सेवामूलक संस्कृतिको जग बसाल्न महत्त्वपूर्ण योगदान दिएका छन्।

अभियान अवधिमा जनसेवकहरूले स्थानीय विद्युतीकरण, प्राकृतिक स्रोत संरक्षण, विपन्न तथा असहाय नागरिकलाई सहयोग, जनस्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न सेवामूलक कामहरू गरेका थिए।

यसका साथै भौतिक संरचना सुन्दरीकरण, मानसिक स्वास्थ्य प्रशिक्षण, स्थानीय सरकारहरूलाई सदाचारका लागि खबरदारी, लागूऔषध तथा मानव बेचबिखनविरुद्ध अभियान र जनसुरक्षाका पहलजस्ता विविध कार्यहरू सम्पन्न भएका छन्।

अभियान स्थगन भए पनि जुम्लालाई समृद्ध, स्वाभिमानी, स्वावलम्बी, सदाचारी, स्वस्थ, सुरक्षित र सुन्दर बनाउन जनसेवकहरू निरन्तर दिनरात परिचालित भइरहनेछन्।

जनसेवकहरूसँगको आवश्यक सल्लाह र परामर्शपछि चाँडै नै नयाँ र फराकिलो सामाजिक अभियानको घोषणा गरिने संयोजक धितालले जानकारी दिए।

अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयात्री, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, शिक्षक, बुद्धिजीवी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय सरकारहरूलाई अभियानका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार