बिहीबार, २१ श्रावण, २०८३

सेवा प्रवाहको विवरण सार्वजनिक गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) ले आफ्नो दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्दै प्रतिष्ठानमा केही समयअघि देखिएको औषधि आपूर्ति र प्रयोगशाला सेवासम्बन्धी समस्या पूर्ण रूपमा समाधान भएको जनाएको छ। प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अहिले सबै स्वास्थ्य सेवा नियमित, सहज र प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्।

प्रतिष्ठानले श्रावण १८ गते दिउँसो ४ बजेसम्मको सेवा विवरण सार्वजनिक गर्दै सो अवधिमा १९ जनाले आकस्मिक (ईआर) सेवा, ५ जना बिरामी भर्ना, ४२० जनाले बहिरङ्ग (ओपीडी) सेवा, एक हजार ३२० वटा प्रयोगशाला परीक्षण, ३७९ जनाले स्वास्थ्य बीमा सेवा तथा २६० वटा रेडियोलोजी सेवा लिएको जनाएको छ। यस्तै, निःशुल्क स्वास्थ्य पोर्टलमार्फत ३० जनाको कोटामध्ये ६ जनाले सेवा प्राप्त गरेका छन्।

प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा. डा. सुर्यमान मेन्याङ्बो ले प्रतिष्ठान जनतालाई गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न सधैँ समर्पित रहेको बताउँदै हाल सबै सेवा नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएका छन्।

उनले भने, ‘हिजो देखिएको औषधि उपलब्धता तथा प्रयोगशाला परीक्षणसम्बन्धी अस्थायी समस्या आजदेखि पूर्ण रूपमा समाधान भई सबै सेवा नियमित रूपमा सञ्चालनमा आइसकेका छन्। जनताको स्वास्थ्य, सुरक्षा र सन्तुष्टि नै हाम्रो सर्वोच्च प्राथमिकता हो। आवश्यक स्वास्थ्य सेवाका लागि निर्धक्क भएर प्रतिष्ठानमा उपस्थित भई सेवा लिन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गर्दछु।’

त्यस्तै, प्रतिष्ठानका निमित्त निर्देशक डा. बिनम्र बिष्टले सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गरिएको र अस्पतालका सबै विभाग नियमित रूपमा सञ्चालनमा रहेको बताए।

उनका अनुसार, ‘हामीले देखिएका समस्यालाई तत्काल सम्बोधन गरेका छौँ। हाल प्रतिष्ठानका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट नियमित रूपमा बहिरङ्ग सेवा (ओपीडी) तथा अन्य आकस्मिक सेवाहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन्। प्रयोगशाला परीक्षण र औषधि आपूर्ति व्यवस्थालाई थप मजबुत बनाइएको छ। बिरामीलाई कुनै पनि किसिमको असहजता हुन नदिन हाम्रो प्राविधिक टोली २४सै घण्टा सक्रिय रहेको छ।’

प्रतिष्ठानले जनताको स्वास्थ्य सेवा नै आफ्नो सर्वोच्च प्राथमिकता रहेको दोहोर्याउँदै सेवाग्राहीको विश्वास, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ। साथै, गुणस्तरीय, प्रभावकारी र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तर कायम राख्ने जनाएको छ।

प्रतिष्ठानले दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्न थालेपछि अस्पतालका सेवा, बिरामीको चाप तथा स्वास्थ्य सेवाको अवस्थाबारे नागरिकलाई नियमित जानकारी उपलब्ध हुने अपेक्षा गरिएको छ।

‘स्वास्थ्य कर्णाली, समृद्ध कर्णालीको आधार’ भन्ने मूल नारासहित प्रतिष्ठानले मानवता, गुणस्तर, विश्वास र सहकार्यलाई संस्थाको प्रमुख आधारका रूपमा अघि बढाइरहेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार