जापानको चिबास्थित इचिकावा चिडिया घरमा ६ महिने सानो बाँदर ‘पञ्च’ले अहिले अनलाइनमा सबैको मन जितिरहेको छ। उसले अँगालो हालेर बोक्ने ओराङ्गुटानको खेलौनानै उसको सान्त्वनाको मुख्य आधार बनेको छ।
पञ्चको जन्म सन् २०२५ जुलाई २६ मा भएको थियो।
जन्मिँदा उसको तौल मात्र ५०० ग्राम थियो। जापानी सञ्चारमाध्यमका अनुसार पहिलोपटक आमा बनेकी उसकी आमाले जन्मिएलगत्तै उसलाई अस्वीकार(त्यागदिइन)गरिन्। नवजात असुरक्षित बनेपछि २४ वर्षीय हेरचाहकर्ता कोसुके शिकानो र ३४ वर्षीय शुम्पेइ मियाकोशीले उसलाई आफ्नै जिम्मामा लिएर हुर्काउन थाले।
जंगलमा शिशु बाँदरहरू न्यानोपन र सुरक्षाका लागि आमाको रौँमा टाँसिएर बस्ने गर्छन्। आमाको स्नेहको अभाव पूर्ति गर्न हेरचाहकर्ताहरूले तौलिया र नरम खेलौनाजस्ता विकल्प उपलब्ध गराए। तीमध्ये ओराङ्गुटानको खेलौनासँग पञ्चले छिट्टै गहिरो सम्बन्ध बनायो। उसले त्यसको रौँ समातेर बोकिरहन्छ र आफ्नो घेराभित्र जहाँ गए पनि साथमा लैजान्छ।
अहिले #HangInTherePunch भन्ने ह्यासट्याग सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जहाँ हजारौँ पोस्टमार्फत पञ्चप्रति माया र समर्थन व्यक्त गरिएको छ। प्रयोगकर्ताहरूले सेयर गरेका भिडियोहरूमा पञ्च प्रायः आफ्नो खेलौनाविना देखिँदैन। ऊ सुत्दा त्यसलाई अँगालो हाल्छ, अरू बाँदरहरूसँग असहज महसुस हुँदा त्यसैलाई कस्सेर समात्छ र नयाँ ठाउँ अन्वेषण गर्दा पनि साथमै बोकेर हिँड्छ। जब उसलाई अन्य बाँदरहरूको समूहसँग परिचय गराइयो, उसले आफ्नो खेलौनालाई झन् कसेर अँगालो हालिरह्यो-मानौँ त्यही नै उसको सुरक्षित संसार हो।
भीडभाडको बीचमा पनि ऊ एक्लै देखिन्थ्यो।
किनकि उसलाई सुरुदेखि नै सबैभन्दा बढी चाहिएको कुरा केवल साथी होइन-आफ्नै आमाको साँचो अँगालो थियो।
















