सोमबार, ११ श्रावण, २०८३

तनावमा सर्वसाधारण, सरकारलाई छैन मतलब !

अटो शोरुमहरुले पाँच गुणासम्म नाफा खाएर गाडी बेचे । मानिसहरुले ऋण लिईलिई गाडीमा लगानी गरे तर अहिले ऋण तिर्न नसकेपछि उनीहरु तनावमा छन् । गाडी बेच्दा किनेकोभन्दा आधा मूल्यसमेत आउँदैन ।

आम नागरिकमा तनाव, निराशा र आक्रोश बढ्दो देखिन्छ । बजारमा अधिकांश मानिसको अनुहारमा डर, त्रास र चिन्ता देखिन्छ । कोही पनि खुशी देखिँदैनन् । कोहीको आँखाभरि आँसु हुन्छ त कोही डिप्रेसनमा गएजस्तो देखिन्छन् । सार्वजनिक स्थलमा दिनभर टोलाएर बस्छन् । उनीहरुको पीडा बुझ्न खोज्दा बोल्न चाहँदैनन् ।

युवादेखि वृद्धसम्म चिन्तित देखिन्छन् । उनीहरुको अनुहारबाटै थाहा हुन्छ कि ठूलो तनाव छ । ‘त्यो तनाव के हो त ?’ अधिकांशको एउटै तनाव छ–लगानी डुब्नु र ऋण तिर्न नसक्नु । केही वर्षयता हरेक क्षेत्रमा मन्दी छ । घरजग्गा, गाडी, सेयरलगायत क्षेत्र सुस्ताएको छ । व्यापार व्यवसाय पनि ठप्प छ । यी क्षेत्रमा सर्वसाधारणले गरेको लगानी डुबिरहेको छ ।

मानिसहरुले आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा बैंक, वित्तिय संस्थाबाट ऋण लिएर विविध क्षेत्रमा लगानी गरेका थिए । मीटरब्याजमा ऋण लिईलिईसमेत लगानी गरियो । तर, मन्दीका कारण सबै क्षेत्र सुस्ताएपछि लगानी बालुवामा पानीसरह हुन पुगेको छ । चुर्लुम्मै डुबेको छ । यतिमात्र होइन, बैंक, वित्तिय संस्था वा मीटरब्याजमा लिएको ऋण चोखै बाँकी छ ।

एकातिर करोडौं लगानी डुबेको छ, अर्कोतिर करोडौं तिर्नु छ अब के गर्ने ? यही चिन्ताले अहिले सर्वसाधारणलाई सताइरहेको छ । भूमाफिया, दलालहरुका कारण सर्वसाधारण नराम्ररी डुब्न पुगेका छन् । भूमाफिया र दलालहरुले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रुपमा बढाए । मूल्य बढेको देखेर लगानी गर्नेहरु अहिले चुर्लुम्मै भएका छन् ।

०४८–०४९ सालतिर काठमाडौंको नरेफाँट, मूलपानी, पेप्सीकोला, दक्षिणढोका, कपन, बुढानिलकण्ठ, धापासीलगायत एरियामा रोपनीको बढीमा ५० हजार रुपैयाँमा जग्गा पाइन्थ्यो । यता, भक्तपुरको राधेराधेमा त रोपनीको ३० हजारमा समेत जग्गा नबिक्ने बुढापाकाहरु बताउँछन् । तर, पाँच–सात वर्षअघि उपत्यकामा आनाकै २५ लाखदेखि २० करोडसम्ममा जग्गा किनबेच भयो ।

भूमाफियाहरुले खेतका फाँटहरु टुक्राटुक्रा पारेर चर्को मूल्यमा बेचे । यतिमात्र होइन, सरकारी, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल, हदबन्दीभन्दा बढी, आर्यघाट, खोलानाला, राजपरिवारलगायतका जग्गासमेत दर्ता गरेर बेचियो । इनार, ढुंगेधारा, ताल, पोखरी, पाटी पौवा, चौतारा, कुँवा, कुलो, राजकुलो, टुकुचासमेत छोडिएन ।

यसरी भूमाफियाहरुको लहैलहैमा लागेर घरजग्गामा लगानी गर्नेहरु अहिले रोइरहेका छन् । पाँच वर्षअघि करोडौंमा किनिएको घरजग्गा अहिले लाखमा झरिसक्यो । तैपनि किन्ने कोही छैन । मूल्य अझै घट्ने देखिन्छ । ९५ प्रतिशत सर्वसाधारणले आफ्नो घरजग्गा धितो राखेर ऋण लिएका छन् । अहिले उनीहरुले न त ऋण चुक्ता गर्न सकेका छन् न त घरजग्गा बिक्री नै छैन ।

ऋणको साँवाब्याज बढिरहेको छ त धितोको मूल्य लगातार घटिरहेको छ । अझ कतिपयको घर त सरकारी जग्गामा बनेको छ । तर, उनीहरुलाई नै थाहा छैन । भूमाफियाहरुले सरकारी जग्गा प्लटिङ गरेर बेचे, सर्वसाधारणले राम्रो देखेर किने । अब केही गरी बालेन सरकारले सरकारी जग्गाको खोजतलास गर्ने हो भने उनीहरुको बिचल्ली हुनेछ ।

बैंक, वित्तिय संस्था, जलविद्युत, इन्स्योरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर निष्काशन गर्छन् । तर, दलालहरुले मूल्य बढाएर कित्ताकै ३२ सयदेखि पाँच हजारसम्ममा बेचे भने मानिसहरुले आफ्नो जीवनभरको कमाई वा बैंक, वित्तिय संस्थाबाट ऋण लिईलिई सेयरमा लगानी गरे । केही वर्षयता सेयरको मूल्यमा लगातार गिरावट आइरहेको छ । अहिले प्रतिकित्ता २६ सयमा सेयर किनबेच भइरहेको छ ।

यही सेयर केही वर्षअघि १७ सयमा झरेको थियो । बैंक, वित्तिय संस्थासहित जलविद्युत, इन्स्योरेन्स कम्पनीहरु घाटामा छन् । सेयरको मूल्य तब बढ्छ, जब सम्बन्धित कम्पनी नाफामा हुन्छन् । तर, सेयर निष्काशन गर्ने कतिपय कम्पनी भागिसकेका छन् त बाँकी कम्पनी पनि डुब्ने अवस्थामा पुगिसके । यसले सेयरमा लगानी गर्नेहरु निकै तनावमा छन् ।

वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो । यही सुन केही महिनाअघि तोलाकै चार लाखमा किनबेच गरियो । चाँदी पनि तोलाकै दश हजारमा खरिदबिक्री भयो । तर, अहिले सुन पौने तीन लाख र चाँदी ४३ सयमा झरेको छ । केही महिनामै मानिसले लाखौं गुमाएका छन् । दुई रुपैयाँ किलोमा समेत नबिक्ने फलाम, सिसा, रबर, प्लाष्टिक, कपडा, फर्मबाट गाडी बनाएर छिमेकी मुलुकहरुले हामीलाई लाखदेखि करोडौंमा बेचे ।

अटो शोरुमहरुले पाँच गुणासम्म नाफा खाएर गाडी बेचे । मानिसहरुले ऋण लिईलिई गाडीमा लगानी गरे तर अहिले ऋण तिर्न नसकेपछि उनीहरु तनावमा छन् । गाडी बेच्दा किनेकोभन्दा आधा मूल्यसमेत आउँदैन । ऋण भने चाँखै बाँकी छ । यी त केहीमात्र उदाहरण हुन् । घरजग्गा, गाडी, सेयर, सुनजस्तै नाफा कमाउने आशामा विविध क्षेत्रमा लगानी गरेकामध्ये अधिकांश डुबेकै पाइन्छ । उनीहरुको जीवनभरको कमाई गुमेको छ भने उल्टै ऋण खेप्नुपरिरहेको छ । ऋण नतिरे धितो त लिलाम हुन्छ नै सँगै तीन पुस्ता कालोसूचीमा पर्छ ।

कालोसूचीमा परेपछि आफ्नो त भविष्य सिद्धिन्छ नै सन्ततिको समेत समाप्त हुन्छ । सरकारी जागिर खान पाइँदैन । बैंकमा खाता खोल्न पाइँदैन । विदेश जान पाइँदैन । बरु उल्टै हजुरबुबाले लिएको ऋण नातिले साँवाब्याजसहित चुक्ता गर्नुपर्छ । अनि यही तनावले मानिसलाई सताइरहेको छ । गर्ने पनि त के ? सबै बाटो बन्द भएपछि अन्तिममा मानिसहरु आत्महत्या र हत्याको बाटो रोज्छन् ।

परिवारै मार्छन्, आफू पनि मर्छन् । सरकार भने त्यसलाई आत्महत्या र हत्याको नाममात्र दिन्छ । उसले किन आत्महत्या वा हत्या गर्यो ? भविष्यमा यस्ता घटना दोहोरिन नदिन के हो ? सरकार सोचविचार गर्दैन । उल्टै मर्ने व्यक्तिमाथि सबै दोष थुपारेर सरकार पन्छिन्छ । सरकार जनताको अभिभावक हो । जब सन्ततिले चोट लाग्दा अभिभावकलाई पीडा हुन्छ, त्यसरुी नै जनतालाई समस्या पर्दा राज्य पनि चिन्तित हुनुपर्छ ।

विडम्बना, राज्य गैरजिम्मेवार हुँदा जनता मृत्युको बाटो रोजिरहेका छन् । बेरोजगारी, महँगी, मन्दी, ऋणले जनतालाई निकै तनाव दिइरहेको छ । अर्कोतिर जीवनभर दुःख गरी, खाईनखाई सहकारीमा जम्मा गरेको पैसासमेत डुबेको छ । सर्वसाधारण निकै पीडामा छन् । उनीहरुको पीडा बुझ्ने कोशिस सरकारले गरोस् । नत्र भए यहाँ आत्महत्या र हत्याले खतरनाक रुप लिन सक्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार