जनआन्दोलनका क्रममा सडकमा उत्रिएर परिवर्तनको पक्षमा आवाज उठाउने युवामध्ये गणेश नेपाली पनि एक थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट लागेको थियो।
त्यतिबेला उनी व्यक्तिगत स्वार्थका लागि होइन, आफू र भावी पुस्ताले बाँच्न लायक देश निर्माण होस् भन्ने आशासहित आन्दोलनमा सहभागी भएका थिए।
तर आज परिस्थिति फेरिएको छ। आन्दोलनबाट स्थापित भनिएका नेतृत्वहरू सत्ता र शक्तिको केन्द्रमा पुगेका बेला गणेश नेपाली भने अस्पतालको शय्यामा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।
यही सन्दर्भलाई जोड्दै जेनजी आन्दोलनकी नेतृ रक्षा बमले सामाजिक सञ्जालमार्फत वर्तमान शासकहरूप्रति गम्भीर प्रश्न उठाएकी छन्।
उनले आन्दोलनका सहयात्रीहरूको योगदानलाई स्मरण गराउँदै सत्ता प्राप्तिपछि जनताको वास्तविक पीडा बिर्सिन नहुने बताएकी छन्।
उनका अनुसार, दुईतिहाइको बहुमतको बलमा जनजीवनभन्दा टाढा रहने नीति र निर्णयहरू लागू गरिँदा त्यसको प्रत्यक्ष असर सामान्य नागरिकमाथि परिरहेको छ।
रक्षाले विशेषगरी ट्राफिक नियम उल्लङ्घनमा बढाइएका जरिवानालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राज्यले नीति बनाउँदा नागरिकको आर्थिक अवस्था बुझ्नुपर्ने धारणा राखेकी छन्।
उनले ‘यो देश १,००० रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको पनि देश हो’ भन्दै नीति निर्माणमा संवेदनशीलता आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनको भनाइमा, ‘देश बनाउने’ प्रतिबद्धता व्यक्त गर्ने नेतृत्वले सबैभन्दा पहिले देशको वास्तविक सामाजिक र आर्थिक अवस्था बुझ्नुपर्छ।
परिवर्तनका लागि सडकमा संघर्ष गर्ने नागरिकलाई बिर्सेर केवल शक्ति र शासनको अभ्यासमा सीमित हुनु लोकतान्त्रिक मूल्यअनुकूल नहुने उनको संकेत छ।
रक्षा बमको अभिव्यक्तिले आन्दोलनका सहयात्रीहरूको अवस्था, जनअपेक्षा र सत्तापछि नेतृत्वको जिम्मेवारीबारे पुनः सार्वजनिक बहस सुरु गराएको छ।













