सोमबार, २५ फाल्गुन, २०८२

जुनसुकै सरकार आए पनि सहकारी ठगहरूलाई उन्मुक्ति !

सहकारी अध्यक्ष, सञ्चालकहरू चाहिँ दिउँसो १ बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर फर्किन्थे । उनीहरूको तलब चाहिँ लाखौं हुन्थ्यो । सहकारी होस् या बैंक, अन्य वित्तीय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो ।

सर्वसाधारण जनताले खेतबारी, घर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा रगत पसिना बगाएर कमाएको पैसा ६–७ वर्षअघि आँखा चिम्लेर सहकारीमा राखे । एकै जनाले एक लाखदेखि १२ करोडसम्म पैसा सहकारीमा राखेका थिए । सहकारीले १४ देखि २२ प्रतिशतसम्म डिपोजिटको ब्याज दिन्छु भनी बचतकर्तालाई लोभ्याएको थियो ।

बैंक, वित्तीय संस्थाले पनि ११ देखि १६ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाए । सहकारीको नौटंकी धेरै नै हुन्थ्यो । वर्षमा एकचोटि बचतकर्ताहरूलाई पिकनिक लैजान्थ्यो भने बर्थडेमा विभिन्न गिफ्ट दिन्थ्यो । बुढाबुढीलाई दोसल्ला ओढाएर सम्मान गरिन्थ्यो । पैसा तान्न सहकारीले अनेकौं प्रपञ्च गर्थ्यो । सहकारीका कर्मचारी, अध्यक्ष, सञ्चालकहरू चाहिँ कोट–पेन्ट लगाउँथे ।

कोही दुई पाङ्ग्रे त कोही चार पाङ्ग्रे गाडी चढ्थे । हरेकले दुईटा मोबाइल फोन बोक्थे — त्यो पनि स्मार्टफोन वा आइफोन । घाँटीमा सुनको मोटो सिक्री, हातमा सुनकै बाला । अनि सञ्चालक, अध्यक्ष, कर्मचारीहरू धनी देखेपछि आफ्नो रकम नडुब्ने आशामा मानिसहरूले सहकारीमा पैसा राखे । सहकारी बजार प्रतिनिधिहरू बिहान १० बजेदेखि ५ बजेसम्म खटिन्थे ।

उनीहरूको तलब पद वा अनुभवअनुसार दश हजारदेखि ५० हजारसम्म हुन्थ्यो । सहकारी अध्यक्ष, सञ्चालकहरू चाहिँ दिउँसो १ बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर फर्किन्थे । उनीहरूको तलब चाहिँ लाखौं हुन्थ्यो । सहकारी होस् या बैंक, अन्य वित्तीय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो ।

किनभने त्यहाँ महँगो एसी राखिएको हुन्थ्यो । अनि बचतकर्ता र ऋणीलाई लोभ्याउन चिसो र तातो खुवाइन्थ्यो । उनीहरूसँग मिठो बोली, बचन गरिन्थ्यो । हाँसी–हाँसी फसाइन्थ्यो । बैंक, सहकारी वा अन्य वित्तीय संस्थाले दुई करोडको धितो राखेर एक करोड कर्जा दिन्थे । त्यसमा दश लाख त घुसकै रूपमा जान्थ्यो ।

सेवाशुल्क दुई प्रतिशत । ब्याज १६ देखि १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । अनि तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने । यो कुरा केवल बैंक, सहकारी, वित्तीय संस्थाबाट पीडित भएकाहरूलाई थाहा थियो । यिनीहरूको बाहिरी रूप एउटा र भित्री अर्कै भएको धेरै सर्वसाधारणलाई थाहा थिएन ।

जसका कारण ऋणीसँगै बचतकर्ता पनि डुब्नुपर्‍यो । बैंक, सहकारी, वित्तीय संस्थाहरूको विशेषतः कर्जा लगानी घरजग्गा, गाडी, सेयरमा पाइन्थ्यो । यी वस्तु विलासिता हुन् । दलालहरूले कृत्रिम रूपमा यसको मूल्य बढाएका हुन् । यद्यपि, अरूलाई ठग्ने बैंक, वित्तीय संस्थाहरूले आफू खाल्टोमा परेको कुरा चाहिँ बुझेनन् । त्यसैको परिणामस्वरूप पहिलो चरणमा सहकारी डुबेको हो । ‘मै हुँ’ भन्ने सहकारीहरू घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण एकाएक भाग्नुपर्‍यो, डुब्नुपर्‍यो ।

हिजो कोट–पेन्ट लगाएर चिल्लो गाडीमा चढ्ने सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरू आज मास्क लगाएर लुकी–लुकी हिँडिरहेका छन् । कतिपय त देशै छोडेर भागिसके । अब पालो बैंकको हो । जग्गा पाँच दशकअघि दश हजार रोपनीमा बिक्री हुन्थेन । एक रोपनीमा १६ आना हुन्छ । दलालहरूले खेतको पाटोमा डोजर चलाएर टुक्राटुक्रा पारे ।

अनि त्यही टुक्रालाई आनामा नाम दिएर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । गाडी सिसा, फलाम, प्लास्टिक, रबरलगायतबाट बन्छ । यी वस्तुको कबाडीले दुई रुपैयाँ किलो दिन्छ । छिमेक भारत र चीनले कबाडीले दुई रुपैयाँ किलोमा नलैजाने सामानबाट गाडी बनाए । अनि हामीलाई लाखौंमा बेचे । त्यही गाडी फेरि अटो शोरूमहरूले सर्वसाधारणलाई सयौं गुणा बढी मूल्य अर्थात् एक लाखको गाडी २० देखि ५० लाखसम्ममा बेचे ।

यस्तै, सेयर बैंक, वित्तीय संस्था, जलविद्युत कम्पनीहरूले एक सय रुपैयाँ प्रतिकित्ता निष्काशन गरेका हुन् । सेयरमा पनि सीमित व्यक्तिहरुको चलखेल छ । उनीहरूले मूल्य बढाउने र घटाउने गर्छन् । अनि फस्छन् चाहिँ सोझासाझा जनता । ३२ सय पुर्‍याइएको सेयर अहिले २४ सयमा झरिसक्यो । अब एक हजारमा झार्ने बजारमा चर्चा छ ।

अहिले बल्ल आएर मानिसहरूले बुझेका छन् कि घरजग्गा, गाडी र सेयर विलासिता वस्तु हुन् । यसमा लगानी गर्नु हुँदैन । तर, डुबेपछि थाहा पाएर के गर्नु ? घरजग्गा, गाडी र सेयरमा मन्दी आउनासाथ सहकारी भाग्यो । दलालहरूको पनि भागाभाग चलेको छ । बैंकसमेत संकटमा परेको अवस्था छ ।

यस्तै, देशभर दर्ता भएकामध्ये ९५ प्रतिशत सहकारी भागे वा डुबे । सञ्चालनमा रहेकाले समेत बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरू दशैं, तिहारमा निक्षेप फिर्ता माग्दै सहकारी पुगे । तर, रित्तो हात फर्किए । उल्टै सहकारी अध्यक्ष, सञ्चालकहरूले बचतकर्तालाई ठग्न खोजे । निक्षेपको साटो घरजग्गा, गाडी र सेयर लैजानु भने ।

तर, मूल्य सुन्दा आश्चर्यचकित । एक लाख आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई २५ लाखदेखि ५० लाख भन्ने । थोत्रा चार पाङ्ग्रे गाडीको ५० लाख अनि सेयर प्रतिकित्ता तीन हजार भन्ने । फेरि यो नलिएर सिधै बचत फिर्ता गर्न सक्दैनौं भन्ने । हिजो पैसा चाहिँ हाँसी–हाँसी लैजाने, “जहिल्यै माग्नुहुन्छ, उत्तिबेलै दिन्छौं” भन्ने । अनि अहिले चाहिँ यस्तो गर्न पाइन्छ ? अझै पनि सहकारीहरूलाई सर्वसाधारण ठगेर नपुगेको यसबाटै थाहा हुन्छ ।

हुन त सहकारीलाई जनता ठग्न सरकारले नै लाइसेन्स दिएको हो । टोलटोलमा सहकारी, घरघरमा ‘धान भकारी’ भन्दै सहकारीमा पैसा राख्न लगाइयो । अहिले डुबेपछि चाहिँ सरकारले पनि बचतकर्तासँग मुख फेरेको छ । न निक्षेप फिर्ता दिलाउन पहल गर्छ, न ठग सहकारी अध्यक्ष, सञ्चालकलाई कारबाही गर्छ ।

यतिसम्म कि पीडित बचतकर्ताले सहकारीविरुद्ध उजुरीसमेत दिन पाएका छैनन् । कानूनअनुसार सहकारीको दश प्रतिशत सदस्यले उजुरी दिएमा मात्र सम्बन्धित निकायले उजुरी लिन्छ । अनि बचतकर्ताहरूले एकअर्कालाई चिन्दैनन् । अनि कसरी एकसाथ उजुरी दिने ? प्रमाण पेश गरेपछि त उजुरी दिन पाउनुपर्ने हो नि । यहाँ त सरकारले नै बचतकर्तालाई पीडा दिने काम गरिरहेको छ ।

सरकार भन्छ–कसैले ठगेमा उजुरी दिनु । कानून चाहिँ ठगहरूको हितमा बनाउने अनि पीडितले कसरी उजुरी दिने ? आखिर जुनसुकै सरकार आए पनि न बचतकर्ताको पैसा फिर्ता आउने देखिन्छ, न सहकारी ठगहरूमाथि कारबाही ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार