सोमबार, २४ कार्तिक, २०८२

चन्दननाथ भैरवनाथ मन्दिरमा खडा गरिने लिंगाको नामाकरण कसरी गरियो?

तेस्राे लिंगाेकाे नाम चाहिँ कमसले लिंगो राखियाे। कथित दलितहरुले तेस्राे लिंगाे ल्याउनुपर्ने रित चलाइयाे। त्यसबेलाकाे समाजले सार्की, कामी, दमाईलगायत थरका मान्छेलाई कमसल वस्तुसरह मान्ने भएकाले उक्त तेस्राे लिंगाेकाे नाम कमसले लिंगो राखिएकाे अनुमान लगाउन सकिन्छ।

नवदुर्गा पूजाकाे सुरुवात गर्ने दिनलाई अन्य क्षेत्रभन्दा फरक बनाउन बाबा चन्दननाथले एउटा अभ्यास गराएकाे बताउँछन्, संस्कृतिबारेका जानकार रमानन्द आचार्य। उनका अनुसार त्याे फरक संस्कार घटस्थापनाकाे लिंगाे खडा गर्ने दिन हाे। जहाँ खडा गरिने लिंगाको नाम पनि फरक फरक छ।

बाबा चन्दननाथकाे उपस्थितिमा जिल्लाका सबै दराखाेलाका गन्यमान्य मान्छेकाे भेला भई उनैकाे नामाकरण गरिएकाे चन्दननाथ र भैरवनाथकाे मन्दिरमा लिंगो खडा गर्नेबारे छलफल भयाे। लिंगाे कत्राे आकारकाे हुने, भन्ने विषयकाे छलफल घनिभूत भयाे।

एक वर्षमा ५२ हप्ता हुन्छन्। यसैलाई आधार मानी हप्ताकाे एक हातका दरले ५२ हातकाे लिंगा खडा गर्ने याेजना बन्याे। लिंगा बनाउने सल्लाकाे रुख थपालाका गाउँलेले आफ्नाे जंगलबाट ल्याउन दिने भए। काेणधारी जंगल नहुने ठाउँमा लिंगा खडा गर्ने याेजना बन्न सक्दैन।

केहीले तराईमा बाँसकाे लिंगाे पनि हाल्ने गरेका छन्। तर, बाँसकाे लिंगोकाे स्वाद हुँदैन। त्यसले व्यङ्ग्य स्वरुप गीत गाइन्छ, ‘बाँसकाे लिंगाे के लिंगाे? आखिर त्याे पनि नुहिन्छ……..।’

त्यसयताका दिन ५२ लाई आधार मानेर हालसम्म पनि चन्दननाथ मन्दिरमा भेटी, हर्जना तिर्नुपरेमा ५२ रुपियाँ दिने चलन छ।

प्रत्येक वर्ष तीनवटा नयाँ र एउटा पुरानाे लिंगोलाई रंगराेगन गर्ने रित बसालिन्छ। सबैभन्दा ठुलाे ५२ हाते लिंगाे ल्याउन जंगलमा सरकारी कर्मचारी र असीदराका २७ गाउँका क्षेत्रीसमेत जानुपर्ने भएकाले त्यसलाई पल्टनियाँ लिंगाे नामाकरण गरिएको संस्कृति सम्बन्धका जानकार तुङ्गनाथ उपाध्याय बताउँछन्।

उनका अनुसार अर्काेलाई थपाले लिंगाे भनी नामाकरण गरियो। साे लिंगाे थपालालगायतका बाहुन गाउँका मान्छेले ल्याउने हुनाले त्यसलाई बाहुने लिंगाे पनि भनिन थालियाे।

त्यस्तै तेस्राे लिंगाेकाे नाम चाहिँ कमसले लिंगो राखियाे। कथित दलितहरुले तेस्राे लिंगाे ल्याउनुपर्ने रित चलाइयाे। त्यसबेलाकाे समाजले सार्की, कामी, दमाईलगायत थरका मान्छेलाई कमसल वस्तुसरह मान्ने भएकाले उक्त तेस्राे लिंगाेकाे नाम कमसले लिंगो राखिएकाे अनुमान लगाउन सकिन्छ।

यसैकारण २०४६ पछि कथित तल्लाे जातिका मान्छेले एक खालकाे आन्दोलन चलाएको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भिम कसिंगर बताउँछन्।

उनका अनुसार दलितहरुले ‘लिंगाे ल्याउने तर मन्दिरमा पस्न नदिने हाे भने लिंगाे ल्याउन नजाने’ भने। त्यसपछिका दुई वर्ष उनीहरु लिंगाे ल्याउन नै गएनन्। बहिस्कार गरे।

पछि लिंगोकाे फरकफरक नामाकरण नगरेर सबै गाउँका मान्छेसँगै गई लिंगो ल्याउने चलन चलाइयाे भने हाल मन्दिर पस्नेलाई तिमी फलानाे जातकाे वा तिमी अर्काे जातकाे भनेर छुछ्याउने काम बन्द गरिएकाे उनको भनाइ छ।

त्यस्तै चन्दननाथ, भैरवनाथ मन्दिरमा खडा गरिने लिंगोकाे टुप्पाेमा राख्ने चाैरी फुर्काे मुगुका भाेटेले दिने, टुप्पामा बेर्ने ठेटुका मुगु खत्याड, साेरु र गल्बका क्षेत्रीले दिने, नेजा र ध्वाजा बाँध्ने थाप्का(उनीका डाेरी) हुम्लाका भाेटेले दिने तथा चन्दननाथ भैरवनाथकाे मन्दिरमा बलि दिने बाेकाे चाैधबीसकाे रिनी र कुडारी तथा छिनाबाट दिने रित बसालिएको जानकार आचार्य बताउँछन्।

“लिंगो गाड्ने खाल्डाे खन्न चाहिँ रिनी र छिनाकै मान्छेले मात्र पाउँछन्। किनकि बलि दिने उनै हुन्,” उनले भने, “त्यस्तै लिंगो खडा गर्न बल लगाउने कैँची (सल्लाका ठाँक्रा) बाेहरा गाउँकाले ल्याउनुपर्ने रित बसालिएको थियोे।”

लिंगो खडा गर्ने संस्कारले केही कमजाेरीबाहेक सबै जातजाति र भाषाभाषीलाई समेत मिलाएर लिने गरेकाे पाइन्छ। यसरी हेर्दा याे संस्कार सांस्कृतिक समन्वयको प्रतीक पनि हाे। जाे जुम्लाकाे दशै संस्कृतिसँग जोडिएको छ। प्रसिद्ध मन्दिर चन्दननाथ, भैरवनाथमा चारवटा लिंगा फेरिएसँगै दशैंको औपचारिक सुरुवात हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार