सोमबार, २८ पुष, २०८२

कम्प्युटर किबोर्डमा पहिलोपटक औँला चलाएको त्यो दिन

नेपालका सरकारी कार्यालयहरुमा अंग्रेजी टाइप गर्नका लागि ‘ब्रदर’ र ‘ओलीबेटी’ तथा नेपाली टाइप गर्नका लागि ‘रेमिङटन’ ‘गोदरेज प्रिमा’ ब्राण्डका टाइपराइटर चलनचल्तीमा थिए २०५५।५६ सालसम्म। मोफसलमा भने २०६० सालपछि पनि टाइपराइटरको प्रयोग हुन्थ्यो।

काठमाडौँको डिल्लीबजारस्थित हालको कन्या क्याम्पसको मूलगेटनिर ‘मोडर्न टाइपिङ इन्स्टिच्युट’ लेखिएको साइनबोर्ड देखेपछि मलाई पनि टाइपिङ प्रशिक्षण लिने इच्छा लाग्यो र भर्ना भएँ। २०४३ साउन १२ गते मैले प्रतिमिनेट ३५ शब्द टाइपिङ गरेको प्रमाणपत्र प्राप्त गरेँ। पछि सो इन्स्टिच्युट कालिकास्थान जाने बाटोको उत्तरतर्फ सरेको रहेछ। त्यहाँबाट मैले अंग्रेजी टाइपिङको प्रशिक्षण लिएको थिएँ। २०४५ बैशाख १७ मा अंग्रेजीमा प्रतिमिनेट ५१ शब्द टाइपिङ गरेर प्रमाणपत्र प्राप्त गरेँ।

नेपाली ३५ र अंग्रेजी ५१ शब्द टाइप गर्नुलाई उत्तम ठानिन्थ्यो। त्यतिबेला काठमाडौँमा टाइपिङ प्रशिक्षण लिनेहरुमा युवाहरुकोभन्दा युवतिहरुको संख्या ज्यादा देखिन्थ्यो। सरकारी निकायहरुमा जागिर खाने टाइपिष्टहरुमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य हुन्थ्यो। काठमाडौँ बाहिर जिल्ला सदरमुकामहरुका कार्यालयहरुमा भने पुरुष टाइपिष्ट हुन्थे।

नेपाली टाइप सिक्दा शुरुमा टाइपराइटरको तल्लो दोस्रो लाइनमा रहेका किहरुमध्ये बायाँतर्फका किहरुमा क्रमशः कान्छीऔँलादेखि चोरऔँलासम्मका औँलाहरुले तथा दायाँतर्फका किहरुमा क्रमशः कान्छीऔँलादेखि चोरऔँलासम्मका औँलाहरुले टाइप गर्दा ‘बकमानसपिवज’ र अंग्रेजीमा पनि त्यसै गर्दा एएसडिएफजी;एलकेजेएच टाइप हुन्थ्यो। यसरी यीनै अक्षरहरुबाट सुरु हुन्थ्यो टाइपिङको तालीम। किबोर्डको यही एउटै लाइनबाट बन्ने शब्दहरु जस्तै ‘समाज’, ‘सामाजिक’, ‘जापान’ जस्ता शब्दहरुका लागि आवश्यक अक्षरहरु कण्ठ पारिन्थ्यो। त्यसपछि माथिल्लो लाइनमा रहेका अक्षर र त्यसपछि तल्लो लाइनका अक्षरहरुबाट बन्ने शब्दहरु तयार गरिन्थ्यो।

नेपालका सरकारी कार्यालयहरुमा अंग्रेजी टाइप गर्नका लागि ‘ब्रदर’ र ‘ओलीबेटी’ तथा नेपाली टाइप गर्नका लागि ‘रेमिङटन’ ‘गोदरेज प्रिमा’ ब्राण्डका टाइपराइटर चलनचल्तीमा थिए २०५५।५६ सालसम्म। मोफसलमा भने २०६० सालपछि पनि टाइपराइटरको प्रयोग हुन्थ्यो। कम्प्युटरको प्रयोग हुनथालेपछि भने टाइपिङ प्रशिक्षणका साथै टाइपराटरहरु ओझेरमा परे। मैले शुरुमा रेमिङ्टनमा टाइप गरेँ, पछि गोदरेज प्रिमामा टाइप गरेँ। रेमिङ्टनमा ‘रु’ अक्षरको कि दायाँतर्फ माथिल्दो लाइनमा कान्छी औँलाले दबाउनुपर्थ्यो भने गोदरेजमा ‘रु’ अक्षर दायाँतर्फ तल्लो लाइनमा थियो। त्यस्तै केही अक्षर वा चिह्न अलि फरक थियो। एउटा टाइपराइटर मेशिनमा बानी परेको मान्छेलाई अर्कोमा काम गर्न अलि कठिन नै हुन्थ्यो अर्थात् रफ्तार कम हुन्थ्यो।

‘९’ टाइप गर्नुपर्नेमा ‘०’ टाइप गर्दा घाटा लाग्योः
२०४४।४५ सालतिरको कुरा हो, म वाणिज्य विभागसँग सम्बन्धित ओपन जनरल लाइसेन्स (ओजिएल) सम्बन्धी समितिको काममा काज खटिँदाको महिना २९ को थियो र २९ दिनकै भत्ता पाउनुपर्ने थियो। तर टाइपराइटरमा ० र ९ अंक सँगसँगै पर्ने हुँदा ९ टाइप गर्नुपर्नेमा भूलबस ० टाइप गरिँदा २९ दिनको भत्ता पाउनुपर्नेमा २० दिनको मात्र भत्ता पाउँदा ९ दिनको भत्ताबाट बञ्चित हुनुपरेको थियो।

स्टेन्सिल काट्ने कामः
कार्यालयले दिनेगरेको तलब भत्ताबाट महिना गुजार्न धौ धौ पर्ने भएकोले मैले २०५२ देखि २०५४ सालसम्म कमलाक्षीस्थित ‘सेक्रेटरियल सर्भिस सेन्टर’ मा पार्टटाइम काम गर्दथे। त्यहाँ क्याम्पस तथा विद्यालयका प्रश्नपत्रहरु लिथोबाट प्रिन्ट गरिन्थ्यो। निजी संस्था भए पनि त्यहाँ गोप्यताका साथ नै प्रश्नपत्रहरु छपाइ हुन्थ्यो।

त्यहाँ साँझ बिहान मैले पनि स्टेन्सिल काट्ने काम गर्दथेँ। स्टेन्सिल कागज विशेष खालको कागज हुन्थ्यो जसलाई टाइपराइटरको सहायताले प्वाल पार्ने र लिथो गर्दा त्यहीँ प्वालबाट मसि छिरेर साधारण कागजमा अक्षर छापिने त्यो बिधि पछि जिल्लाहरुका सदरमुकाममा समेत प्रयोग भयो। मैले २०४० सालअघि गाउँमा आयोजित कृषि प्रदर्शनीमा द्वीतीय पुरस्कार पाउँदाका बखत जीवनमा पहिलो पटक पाएको प्रमाणपत्र पनि लिथोबाट प्रिन्ट गरिएको थियो।

महंगो श्याम/श्वेत कम्प्युटरः
अहिले बजारमा १३ हजारमा पनि रङ्गीन कम्युटर पाइन्छ। तर २०५२।५३ सालतिर मैले पार्ट टाइम काम गर्नेगरेको फर्ममा मैले अलिअलि सिक्नेगरेको ब्ल्याक एण्ड ह्वाइट कम्प्युटरको मूल्य सोध्दा सञ्चालकले १ लाख ६० हजार परेको जानकारी दिनुभएको थियो। मैले आफ्नो शिपका बारेमा जानकारी गराएपछि सेन्टरका सञ्चालकले मलाई पार्टटाइमका लागि अवसर दिनुभएको थियो।

उहाँले ‘लेजर प्रिण्ट’ लाई ‘लासर प्रिन्ट’ भन्नुहुन्थ्यो। नेपालमा त्यसबखत भर्खर भर्खर कताकतै मात्र लेजर प्रिन्टरको प्रचलन भित्रिएको थियो। त्यसअघि डट म्याट्रिक्सको प्रिन्टर प्रचलनमा थियो। डाटा प्रिन्ट गर्नका लागि डट म्याट्रिक्स प्रिन्टरलाई उपयुक्त मानिन्छ। अहिले बैंक लगायत कतिपय संस्थाहरुले डट म्याट्रिक्स प्रिन्टर प्रयोग गर्दैआएको पाइन्छ।

पहिलो कम्प्युटर प्रशिक्षणः
२०४७ भदौ ७ गतेदेखि कार्तिक ५ गतेसम्म राष्ट्रिय कम्प्युटर केन्द्रद्वारा सञ्चालित ‘बेसिक प्रोग्रामिङ’ कोर्सको प्रशिक्षण लिएको थिएँ। भदौ ७ गते मैले कम्प्युटरको किबोर्डमा औँला चलाएको पहिलो दिन थियो। प्रशिक्षण सकिए लगत्तै २०४७ पुस १ गतेदेखि माघ १ सम्म उक्त केन्द्रमा ‘वर्ड पर्फेक्ट (भर्सन ५.०)’ प्रशिक्षण लिने अवसर जुरेको थियो। सो प्रशिक्षणमा मलाई ‘अत्युत्तम’ श्रेणी प्राप्त भएको थियो।

अहिलेको ‘एमएसवर्ड’ नै ‘वर्ड पर्फेक्ट’ को विकसित रुप मानिन्छ। केन्द्रका कार्यकारी निर्देशक नारायण प्रसाद नयन हुनुहुन्थ्यो। नयन उहाँको थर नभएर उपनाम थियो जस्तो लाग्छ। त्यतिबेलाको राष्ट्रिय कम्प्युटर केन्द्र रहेको भवनको माथिल्लो तलामा अहिले खेलकूद मन्त्रालय रहेको छ भने भुइँ तलामा प्राकृतिक स्रोत तथा वित्त आयोग रहेको छ। उतिबेलाको राष्ट्रिय कम्प्युटर केन्द्र रहेको सो भवनमा रहेको युवा तथा खेलकूद मन्त्रालयबाट मैले सरकारी सेवाबाट अनिवार्य अवकाश लिएको तीन वर्ष नाघ्यो।

२०४९ चैत २९ देखि २०५० बैशाख ३१ सम्म राष्ट्रिय कम्प्युटर केन्द्रद्वारा सञ्चालित ‘लोटस १-२-३’ को प्रशिक्षणमा पनि मैले ‘अति उत्तम’ श्रेणी प्राप्त गरेको थिएँ। उक्त केन्द्रबाट २०५४ कार्तिक १० देखि २०५५ साउन २५ सम्म सञ्चालित ‘डिप्लोमा इन कम्प्युटर टेक्नोलोजी’ कोर्स पूरा गरेको थिएँ। जस अन्तर्गत १. फन्डामेन्टल्स अफ कम्प्युटर टेक्नोलोजी एण्ड डस, २. विण्डोस वर्ड एक्सेल, ३. बेसिक प्रोग्रामिङ, ४. सि प्रोग्रामिङ ल्याङ्ग्वेज, ५. इन्ट्रोडक्सन टु सिस्टम एनालाइसिस एण्ड डिजाइन, ६. डिबिएमएसः डिबेस फोर प्रोग्रामिङ, ७. इन्ट्रोडक्सन टु नेटवर्किङ समावेश थिए। छ महिने कोर्स भनिए पनि करिब नौ महिना लागेको थियो सो प्रशिक्षणका लागि।

२०५३ असोज ८ देखि कार्तिक १२ सम्म मैले पुतलीसडकस्थित कम्प्युटर कलेज प्रा.लि. बाट ‘डिबेस फोर प्लस’ कम्प्युटर कोर्स पूरा गरेको थिएँ। त्यस्तै रानीपोखरीबाट असनतिर छिर्नेबित्तिकै एउटा घरको तीनतलामाथि रहेको सिटी डेस्कटप एण्ड कम्प्युटर सिस्टम प्रा.लि.बाट २०५३ कार्तिक ३० देखि माघ १ गतेसम्म ‘एमएस विण्डोज इन्भाइरोन्मेन्ट ३.१’, एमएस वर्ड ६.१’ र ‘एमएस एक्सेल ५.०’ को प्रशिक्षण लिएको थिएँ।

मसँग कम्प्युटर सिक्नेहरुः
कुनै बखत म कार्यरत मन्त्रालयका सचिव, सहसचिव र उपसचिवले समेत मसँग कम्प्युटर सिक्नुभएको थियो कहिले मेरो कार्यकक्षमा आएर त कहिले मलाई नै आफ्नो कार्यकक्षमा बोलाएर। जुन कुरा मैले अहिले पनि गौरबको विषय ठान्दै आएको छु। कम्प्युटरमा दक्ष कर्मचारीलाई प्रायः सबैले निकट मान्छन् लेखापाल र स्टोरकिपरलाई माने झैँ।

अन्य प्रशिक्षणः
२०४८ भाद्र १९ देखि आश्विन १८ गतेसम्म व्यवस्थापन तालीम तथा अनुसन्धान केन्द्रबाट सञ्चालित ‘संगठीत संस्थाका सहायक कर्मचारीहरुलाई व्यवस्थापन तालीम’ मा मैले प्रथम स्थान हासिल गरेको थिएँ। तालीमको प्रमाणपत्रमा डा. इन्दुल केसी र पूर्वसचिव कृष्णहरि बाँसकोटा समेतको हस्ताक्षर छ। २०५१ असोज ४ देखि ७ गतेसम्म नेपाल व्यवस्थापन संघबाट सञ्चालित ‘सेल्सम्यानसिप’ (बिक्री कला) सम्बन्धी चारदिने तालीम लिएको थिएँ त्रिपुरेश्वरस्थित होटेल अर्किडमा। तालीम पश्चात् प्राप्त प्रमाणपत्रमा पूर्व मुख्यसचिव विमल प्रसाद कोइराला समेतको हस्ताक्षर छ।

कम्प्युटर इञ्जिनियरिङ सेवाः
२०५५।९।८ मा म कार्यरत वीरगंज चिनी कारखाना लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयले प्रशासन सेवाबाट प्राविधिक सेवा, कम्प्युटर इञ्जिनियरिङ समूहमा रुपान्तरण गरिएको थियो मेरो पद। तर लोकसेवा आयोगको परीक्षा उत्तिर्ण गरेर निजामती सेवामा प्रवेश गरेपछि कारखानाको सो सेवामा कार्य गर्नुपरेन।

मोबाइलका कथाः
२०६२ सालमा सेतो रङको नोकिया मोबाइल किनेँ र पछि नयाँ सडकमा नोकियाकै ६०२० मोडेलको कालो रङको मोबाइल ५६०० रुपियाँमा किनेँ। २०६५।६६ सालतिर चावहिलको एक पसलमा सस्तोखाले सिडिएमए सेट पनि किनेँ एकहजार रुपियाँमा। त्यसमा युटिएलको सिम राखेको थिएँ।

सो सिम कुनै एउटा कर्मचारी संगठनको चिठ्ठा किने बापत अफरमा प्राप्त भएको थियो। २०७० सालमा उपहारमा प्राप्त जिओनी कम्पनीको सानोखाले स्मार्ट फोन प्रयोग गरेको चारवर्षपछि अमेरिकाबाट मोटोरोला कम्पनी मोबाइल उपहारमा प्राप्त गरेँ। केही महिनाअघि चाइनिज रेड्मी मोबाइल १३ हजारमा किनेर चलाउँदै छु। घरमा पुरानो टेलिभिजन, पुरानो क्यामेरा, पुरानो घडी, पुरानो रेडियो सुरक्षित छन्। एक किसिमले भन्नुपर्दा हाम्रो घरमा ‘होम म्युजियम’ छ। आफ्ना लागि कुनै बखत महत्वपूर्ण ठानिएका उपकरण वा वस्तुलाई कवाडीको हातमा दिन मन लाग्दैन पनि।

घरमा कम्प्युटरः
लेख-रचना तथा अन्य आवश्यकीय निजी कामका लागि कम्प्युटरको खाँचो परेकै बखत २०५६ सालतिर एकजना नातेदारबाट उपहार स्वरुप एसेम्बल्ड कम्प्युटर प्राप्त भएको थियो भने २०६५ सालतिर रु १८ हजारमा एसेम्बल्ड कम्प्युटर नै किनेको थिएँ।

हाल सो कम्प्युटर थन्किएर बसेको छ भने ल्यापटप र मोबाइलको सहारामा लेख-रचनाहरु तयार गर्नेगरेको छु। कतै कुनै निकाय वा संस्थामा सेवा लिन गएको बखत लाइनमा बस्दा लेखका लागि मुख्यमुख्य बुँदाहरुको टिपोट गर्नुका साथै अपर्झट फुरेका लघुकथा र कविता अनि मुक्तकहरु मोबाइलमै तयार गर्नेगरेको छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार