मानव सभ्यताको आधार नै रजस्वला पछिको प्रजनन हो। तर, यो प्रक्रियालाई किन अपवित्र ठानिन्छ? दतिवनले दाँतको किरा मार्छ भने, यो प्रथा किन पुरुषमा लागू हुँदैन?
जुम्लाको बजार तीजको रौनकले रंगिएको थियो। हरियाली तीजको उमंगमा रातो सारी र गहनामा सजिएका महिलाहरु गीत र नृत्यमा रमाइरहेका थिए। तर, यो रमझमको बीचमा अर्को तयारी पनि चलिरहेको थियो, ऋषिपञ्चमीको।
बजारमा हरियो झार ‘आँफामार्को’ बोकेर घरतिर फर्किनेको लर्को छ। ऋषिपञ्चमीमा आँफामार्कोका ३६५ गाँठा दाँतले टोकेर फुटाएर पूजापाठ गरी नुहाउँदा रजस्वलाको पाप पखालिन्छ भन्ने विश्वास छ।
रजस्वला जस्तो प्रकृतिक चक्र र महिलाको प्रजनन परिपक्वता अभिन्न हिस्सालाई किन पापसँग जोडिन्छ? किन यो परम्पराले महिलालाई मानसिक बोझ बनाइरहेको छ?
यी प्रश्नहरूले ऋषिपञ्चमीको परम्परा, यसको सामाजिक प्रभाव र यसले महिलामाथि थोपरेको मानसिक दासताबारे चिरफार जरुरी छ।
जुम्लाको राना राउतमा पाइने आँफामार्को झार ऋषिपञ्चमीको लागि विशेष मानिन्छ। बजारमा यो झारको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्छ।
ऋषिपञ्चमीको दिन महिलाहरु बिहानै उठेर नदी, खोला वा पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्छन्, गाईको गोबर, माटो र खरानीले स्नान गर्छन् र अरुन्धतीसहित सप्तऋषिको पूजा गर्छन्।
यो रीतले रजस्वलाको समयमा जानी–नजानी छोइएका वस्तु वा प्राणीबाट लाग्ने ‘पाप’ पखालिने विश्वास गरिन्छ। तर, यो विश्वासले महिलाको प्राकृतिक प्रक्रियालाई अपवित्र ठान्ने संस्कृतिलाई बलियो बनाएको छ।
रजस्वलालाई पापसँग जोडेर महिलालाई मानसिक हिनताबोध गराउने यो परम्पराले समाजमा गहिरो जरा गाडेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार रजस्वलाको समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए, ऋषिपञ्चमीको पूजाले त्यस्ता दोष निवारण हुन्छ। रजस्वलाको रगतमा कीटाणु हुन्छन्, जसले रोग निम्त्याउन सक्छ। त्यसैले यो प्रथालाई वैज्ञानिक मान्नुपर्छ।
तर यी व्याख्याहरुले केही गम्भीर प्रश्नहरुको जवाफ दिँदैनन्। यदि दतिवनले दाँतको किरा मार्छ भने, यो प्रथा पुरुषका लागि किन लागू हुँदैन?
रजस्वलाको प्राकृतिक प्रक्रियालाई किन पापसँग जोडिन्छ? यदि रजस्वला अपवित्र हो भने, त्यसपछिको सन्तान प्राप्तिलाई किन पवित्र मानिन्छ?
ऋषिपञ्चमीको रीत मध्य र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा प्रचलित छाउपडी प्रथासँग गहिरो सम्बन्ध राख्छ। छाउपडीले रजस्वलाको समयमा महिलालाई घरबाट बाहिर छाउगोठमा बस्न बाध्य बनाउँछ।
यो प्रथालाई वैधानिकता दिने एउटा आधार ऋषिपञ्चमीको रीत बनेको छ। रजस्वलालाई अपवित्र ठान्ने यो मानसिकताले महिलालाई मानसिक दासताको बन्धनमा राखेको छ।
बजारमा एक एनजीओकर्मी ‘आँफामार्को’ किन्दै थिए। उनलाई यो झारको महत्वबारे सोध्दा उनले लजाउँदै भने, “खै, के हो के? घरकीले ल्याइदे भनिन्, त्यसैले ल्याएको।”
उनको यो जवाफले पुरुषमा पनि यो प्रथाप्रति असहजता र लज्जा रहेको देखाउँछ। तर, समाजमा यो प्रथालाई निरन्तरता दिने काम भने महिलाबाटै भइरहेको छ।
परम्पराको बोझले थिचिएका महिलाहरुले यो रीतलाई मनको शान्तिको लागि भन्दै पालना गरिरहेका छन्।
छाउपडी र ऋषिपञ्चमीजस्ता प्रथाहरुले महिलाको प्रजनन क्षमतालाई अपवित्र ठान्ने संस्कृतिलाई बल पुर्याइरहेको छ। मध्य र सुदूरपश्चिममा छाउपडीविरुद्ध केही एनजीओ र आइएनजीओले काम गरेका छन्।
छाउगोठ भत्काउने, महिलालाई तालिम दिने र सचेतना फैलाउने जस्ता गतिविधि भएका छन्। तर, यी प्रयासहरु सतही छन्।
“हामी छुई भए पनि घरमै सुत्छौं,” भन्ने नारा त लगाइयो, तर भान्सामा खाना पकाउने, मन्दिर पस्ने, वा पूजाकोठामा प्रवेश गर्ने जस्ता अधिकारको कुरा कहिल्यै उठेन।
राजनीतिक तवरबाट यस्ता प्रथाविरुद्ध कुनै ठोस पहल भएको छैन। कम्युनिष्ट नामधारी पार्टीहरुले सामाजिक आन्दोलनको कुरा उठाएका छैनन्।
सरकारले छाउपडी र ऋषिपञ्चमीजस्ता प्रथालाई उन्मूलन गर्न कुनै नीति बनाएको छैन। यो प्रवृत्तिले शासक फेरिए पनि सत्ताको चरित्र पुरानै रहेको प्रमाणित गर्छ।
ऋषिपञ्चमीको रीतलाई वैज्ञानिक ठान्ने तर्कमा थुप्रै कमजोरी छन्। यदि रजस्वला पाप हो भने, त्यसपछिको प्रजनन परिपक्वता र सन्तान प्राप्तिलाई किन पवित्र मानिन्छ?
मानव सभ्यताको आधार नै रजस्वला पछिको प्रजनन हो। तर, यो प्रक्रियालाई किन अपवित्र ठानिन्छ? दतिवनले दाँतको किरा मार्छ भने, यो प्रथा किन पुरुषमा लागू हुँदैन?
किन यो रीत ऋषिपञ्चमीमा मात्र सीमित छ? यी प्रश्नहरुको जवाफ न धर्मशास्त्रले दिन्छ, न त यो प्रथाका समर्थकहरुले।
ऋषिपञ्चमी र छाउपडीजस्ता प्रथाहरुले महिलालाई मानसिक हिनताबोध गराउँछन्। यी प्रथाले महिलाको प्राकृतिक प्रक्रियालाई अपवित्र ठान्ने संस्कृतिलाई बलियो बनाएर पुरुषसत्तालाई निरन्तरता दिइरहेका छन्।
समाज अग्रगामी दिशातर्फ लम्कनका लागि यस्ता प्रथालाई त्याग्नु जरुरी छ। महिलाले आफ्नो प्रजनन क्षमतालाई स्वाभाविक र गर्वको विषय ठान्नुपर्छ।
परम्पराको बोझ बोकेर बाँच्नुभन्दा मानसिक दासताको जञ्जिर तोड्नु जरुरी छ। रजस्वलालाई पाप ठान्ने संस्कारलाई चुनौती दिंदै महिलाले आफ्नो आत्मसम्मान र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।















