घरजग्गा, गाडी र सेयर किन्ने कुरा पनि मानिसहरूले गर्न छाडेका छन्। नयाँ पसल खोल्ने वा अन्य व्यापार–व्यवसायमा लगानी गर्नेबारे आम सर्वसाधारण मौन छन्। सञ्चालनमा रहेका पसलहरू पनि बन्द गर्ने अवस्थामा छन्। काठमाडौँ उपत्यकासहित देशभर अधिकांश घरहरू खाली छन्। डेरामा बस्नेहरूले पनि भाडा तिर्न सकेका छैनन्।
खाद्य तथा किराना पसलेहरू भन्छन्, ‘पहिला बोरा बोरा चामल लैजानेले अहिले किलोमा लिन थालेका छन्। तैपनि सस्तो चामल खोज्छन्।’ दूध, माछा, र मासु पसलेहरू पनि पहिला किलोमा सामान लैजानेहरू अहिले त्यसको आधा मात्र लिने गरेको बताउँछन्। फलफूल र तरकारी त जसले सस्तोमा दिन्छ, त्यहीँबाट किन्छन्। त्यसका लागि घण्टौँसम्म बजार डुल्छन्।
भाटभटेनी, सुपरमार्केट, बिग मार्टजस्ता ठूला पसलहरूमा ग्राहक नै देखिँदैनन्। यो अवस्था हुनुमा या त सामान महँगो हुनुपर्छ, या गुणस्तरहीन र कुहिएको सामान बेचिएको हुनुपर्छ। बजार निकै मन्दीमा छ। आम सर्वसाधारणको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। अहिले ज्यामी कामसमेत नपाइने मानिसहरू बताउँछन्। निजी संघसंस्था, फर्म, कम्पनी वा घरायसी काम गर्नेहरूले तीन महिनादेखि वर्षौँसम्म तलब नपाएको गुनासो सुनिन्छ।
घरायसी काम गर्नेहरू मासिक तीन हजारदेखि बढीमा पाँच हजार रुपियाँ तलबमा काम गर्न बाध्य छन्। तैपनि उनीहरूले तलब नपाउनु दुखद् कुरा हो। निजी कम्पनी, संघसंस्था र फर्महरूमा अहिले पनि मासिक सात हजारदेखि बढीमा पन्ध्र हजार रुपियाँ तलबमा मानिसहरू काम गरिरहेका छन्। जबकि सरकारले तोकेको न्यूनतम तलब १७ हजार तीन सय रुपियाँ छ।
सरकारले त बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम लगाउन पाउने नियम बनाएको छ। तर, निजी कम्पनीहरूले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काम लगाउँछन्। न त सार्वजनिक बिदामा छुट्टी नै दिइन्छ। उल्टै बिरामी भएर छुट्टी लिँदा तलब काटिन्छ। पछिल्लो समय कपडा पसल र ब्यूटीपार्लरहरू सुनसान छन्। एउटै ग्राहक पनि देखिँदैन।
त्यस्तै, घरजग्गा, गाडी र सेयर किन्ने कुरा पनि मानिसहरूले गर्न छाडेका छन्। नयाँ पसल खोल्ने वा अन्य व्यापार–व्यवसायमा लगानी गर्नेबारे आम सर्वसाधारण मौन छन्। सञ्चालनमा रहेका पसलहरू पनि बन्द गर्ने अवस्थामा छन्। काठमाडौँ उपत्यकासहित देशभर अधिकांश घरहरू खाली छन्। डेरामा बस्नेहरूले पनि भाडा तिर्न सकेका छैनन्।
उपत्यकामा घर हुनेहरूले समेत किलोमा चामल लिन थालेको व्यापारीहरू बताउँछन्। यसको कारण हो– घर खाली हुनु वा डेरावालले भाडा तिर्न नसक्नु। अहिले उमेर पुग्नेहरू विदेश पलायन भएका छन् भने उमेर ढल्केकाहरू गाउँ फर्किएका छन्। उपत्यकाका घरधनीहरूको आम्दानीको मुख्य स्रोत घरभाडा नै हो। तर, घर खाली भएपछि वा डेरावालले भाडा तिर्न नसक्दा घरधनीहरू चिन्तित छन्।
किनभने घरको इँटा र फलाम त खान मिल्दैन। खान त अन्न नै चाहिन्छ। ७४ जिल्लाका जनता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) मा बस्छन्। आफ्नो गाउँको घर र मतानमा ताल्चा लगाएर, खेतबारी बाँझो राखेर उनीहरू सेवा–सुविधाको खोजीमा उपत्यका छिरे। जसको फाइदा भूमाफिया र दलालहरूले मज्जाले उठाए।
उपत्यकामा मानिसहरूको चाप बढेसँगै भूमाफिया र दलालहरूले जग्गाको मूल्य ह्वात्तै बढाए। कुनै बेला रोपनीको पाँच हजारमा पनि बिक्री नहुने जमिन आनाकै लाखदेखि करोडौँमा बेचियो। उपत्यकामा घरजग्गाको मूल्य बढ्नुमा माओवादीको ठूलो हात छ। २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गर्यो। जनयुद्धलाई सफल बनाउन माओवादीले गाउँघर कब्जा गर्यो। गाउँका मानिसहरूलाई लखेटियो।
रोचक कुरा त, एउटै बाबुका दुई छोरामध्ये एक जना माओवादीसँग मिलेर गाउँबाट मानिस लखेट्न लाग्यो, अर्को भने शहर पसेर जग्गा दलाली गरी बेच्न थाल्यो। दसवर्षे जनयुद्धमा १७ हजारभन्दा बढी जनताले ज्यान गुमाए। माओवादीका कारण मानिसहरू आफ्नो गाउँघर छाड्न बाध्य भए। गाउँका रोपनी रोपनी जमिन बाँझो राखेर शहर पसे। अनि लाखौँ रुपियाँ आनामा जग्गा किने र घर बनाए।
२०४६–०४७ सालमा राजधानीमा ५० रुपियाँदेखि दुई सय रुपियाँ मासिक भाडामा राम्रो कोठा पाइन्थ्यो। सटर भाडा पाँच सयदेखि एक हजार रुपियाँसम्म थियो। फ्ल्याट खासै हुँदैनथ्यो। साढे तीन दशकको अवधिमा घरभाडा हजारौँ गुणाले बढेको छ। अहिले एउटा कोठाको भाडा पाँच हजारदेखि २० हजार रुपियाँसम्म छ। सटर भाडा २५ हजारदेखि १९ लाख रुपियाँसम्म छ। त्यस्तै, फ्ल्याट भाडा ३० हजारदेखि तीन लाख रुपियाँसम्म छ।
खाली सटर त २० लाखदेखि ६० लाख रुपियाँमा बेचिन्छ। ३५ वर्षअघि एक हजार रोपनीमा बिक्री नहुने जमिन अहिले आनाकै ६०–७० लाख रुपियाँ भनिन्छ। एक रोपनीमा १६ आना हुन्छ। यति छोटो समयमा घरजग्गालगायत विभिन्न वस्तुको मूल्य बढ्नुमा दलाल र भूमाफियाको हात छ। उनीहरूकै कारण मूल्य अचाक्ली बढेको हो। सेयर ब्यांकले प्रतिकित्ता एक सय रुपियाँमा निष्कासन गरेको हो।
तर, दलालहरूले मूल्य बढाएर तीन हजारदेखि पाँच हजार रुपियाँसम्ममा सर्वसाधारणलाई बेचे। अहिले सेयरको मूल्य घटेर २६ सयमा झरेको छ। तैपनि दलालहरूले आम नागरिकलाई भ्रममा पारेर ठगिरहेका छन्। चार दशकअघि उपत्यकामा एउटै व्यक्तिको १० रोपनीदेखि ३० रोपनीसम्म जमिन थियो। अहिले उनीहरूसँग चार आना जग्गासमेत छैन। त्यसमा पनि घर बनाइएको छ।
अर्को कुरा, त्यति धेरै जग्गा बेचेर उनीहरूले मोजमस्ती गरे। ‘किन दुख गर्नु, भाडामा लगाएर बसिबसी खान्छु’ भनेर उपत्यकाभित्रका होस् वा बाहिरी जिल्लाका जनताले यहाँ घर बनाएका छन्। त्यही घरबाट अधिकांशको जीविकोपार्जन हुँदै आएको थियो। अहिले घर खाली भएपछि उनीहरू चिन्तित छन्। के गर्ने? कसरी खर्च जुटाउने? भन्ने चिन्ता छ।
न भाडामा बस्ने भेटिन्छन्, न घर बिक्री नै हुन्छ। घर त बनाइयो, तर एउटै लाभका लागि मानिसहरूले धेरै कुरा गुमाउनुपरेको छ। खेतीयोग्य जमिन मासेर घर बनाए। अहिले भाडामा नलाग्दा त्यो घर निल्नु न ओकाल्नु भएको छ। अहिले उनीहरू सोच्छन्, ‘घर नबनाएको भए यसमै खेतीपाती गर्न त मिल्थ्यो।’
भनिन्छ नि, पाप धुरीबाट कराउँछ। घरधनीहरूको हकमा पनि यही भएको हो। हिजो घर भाडामा लागुन्जेल डेरावाल र राज्यलाई ठगे। डेरावालसँग चर्को भाडा असुले, तर राज्यलाई कर तिरेनन्। घरधनीहरूले सोचेका थिए, सधैँ यसरी नै ठगिरहन पाइन्छ। तर, मन्दीसँगै उनीहरूको सपना चकनाचुर भएको छ। मन्दीले घर खाली मात्र गराएन, घरको मूल्यसमेत घटायो। जसका कारण घरधनीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्।
किनभने घर बनाउँदा ब्यांकबाट लिएको ऋण अझै तिर्न बाँकी छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भए। बुधबार दिनभर बजारमा उनकै चर्चा थियो। ‘१७ हजार मानिस मारेको पाप प्रचण्डलाई लाग्यो,’ मानिसहरू भनिरहेका थिए। प्रचण्ड घाइते हुँदा उनका परिवार चिन्तित भए, तर हिजो माओवादीले १७ हजार मानिसलाई कसरी मारेको थियो, सबैलाई सम्झना छ।
प्रचण्डको अघिपछि सयौँ सुरक्षाकर्मी हिँड्छन्। ती सुरक्षाकर्मी जनताले तिरेको करबाट राखिएका हुन्। तर, सुरक्षाकर्मीले पनि उनलाई लड्नबाट बचाउन सकेनन्। यही हो, ‘पाप धुरीबाट कराउँछ’ भनेको। शोषक र सामन्तीहरूले सधैँ ठगिरहन पाइन्छ भन्ने सोच्छन्। स्मरण रहोस्, १२ महिनामा ६ महिना गर्मी र ६ महिना जाडो हुन्छ।
दिनपछि रात आउँछ, रातपछि दिन। पानी परेपछि गर्मी हुन्छ, गर्मी भएपछि पानी पर्छ। प्रकृति कहिल्यै एकनासको रहँदैन। त्यसैले सधैँ ठगिरहन पाइन्छ भन्ने सोच्नु मूर्खता हो। सूर्यलाई हातले छेक्न सकिँदैन। त्यसैगरी, अपराध गर्ने वा अरूलाई ठग्नेहरूले ढिलो–चाँडो त्यसको फल भोग्नैपर्छ।