बैंकले लिलाम गर्ने भनेको धितो हो । घरजग्गा राखेर बैंकले कर्जा दिएको छ । पछिल्ला दिन घरजग्गाको मूल्य निरन्तर घटिरहेको छ । बैंकले घरजग्गामा गरेको कर्जा लगानी कसरी उठाउँछ ? नेपालको अर्थतन्त्र चलायमान हुन्छ भन्ने अपेक्षा गर्न गाह्रो छ ।
निजी र सरकारी बैंक, लघुवित्तले धमाधम आफ्नो नाफा विवरण सार्वजनिक गरिरहेको छ । कसले बढी नाफा कमायो ? यो देखाउनका लागि बैंक तथा वित्तिय संस्थाहरुबीच होडबाजी चलेको छ । नाफा त देखायो तर कुन क्षेत्रमा कर्जा लगानी गरेर यत्रो नाफा कमायो ? बैंकले यो विवरण देखाउँदैन । नाफा कमायो भन्यो, सकियो ।
प्रश्न उठ्छ–यत्रो नाफा कमाएको भए, बचतकर्तालाई दिनुपर्ने ब्याजदर किन बृद्धि नगरेको ? बचतकर्तालाई तीनदेखि ६ प्रतिशतभन्दा बढी ब्याज दिइएको छैन । बैंकले अहिलेपनि सर्वसाधारण र बचतकर्तालाई ढाँटिरहेको छ । बैंक, लघुवित्तबाट लिएको कर्जा चुक्ता गर्न नसक्दा पाँच लाख बढी ऋणी कालोसूचीमा परेका छन् ।
बैंकका ऋणीहरुले ऋण तिर्न नसकेर हात उठाइसकेका छन् । धितो जफत गर भनेर उनीहरुले छोडिसकेका छन् । बैंकको एक खर्ब ६७ अर्बभन्दा बढी कर्जा लगानी सेयरमा छ । घरजग्गामा सात खर्बभन्दा बढी कर्जा लगानी गरिएको छ । गाडीमा पनि ठूलो रकम कर्जा दिइएको छ ।
यी कर्जा बैंकले उठाउन सकेको छैन । बजार डामाडोल हुँदा ऋणीले ऋण तिर्न सकेका छैनन् । पुरानैले कर्जा तिर्न नसकेको बेला नयाँले कर्जा लिएका छैनन् । अनि नाफा कहाँबाट कमायो ? प्रश्न उठेको छ । बैंक, लघुवित्त, सहकारी, फाइनेन्स, इन्स्योरेन्स कम्पनीले दिनैपिच्छे राष्ट्रिय पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरिरहेको हुन्छ ।
दर्जनौं दैनिक पत्रिकामा धेरै सूचना धितो लिलामीकै देखिन्छ । यसले के देखाउँछ भने पुराना ऋणीले ऋण तिर्न सकेका छैनन् । नयाँ ऋण लिन गएका छैनन् । बैंकले लिलाम गरेको धितो खरिद गर्ने कोही छैनन् । यता, बैंकले कर्मचारीको सेवासुविधा पनि कटौती गरेको छ । नाफा भएको भए, सेवासुविधा कटौती गर्थ्यों ?
पहिले बैंकका कर्मचारीले वार्षिक १८ महिनाबराबरको तलब पाउँथे । ६ महिनाको बोनस गरेर उनीहरुलाई १८ महिनाको तलब दिन्थ्यों । खाजाको व्यवस्थापन गरिएको हुन्थ्यो । तर, अहिले ती सुविधा काटिएको छ । बैंकहरुले आफ्नो शाखा धमाधम बन्द गरिरहेको छ । कारण हो, घरभाडा तिर्न र कर्मचारीलाई तलब दिन नसक्नु ।
यसले नै बैंक संकटमा छ भन्ने प्रमाणित गर्छ । तर, बैंकले नाफा विवरण सार्वजनिक गरिरहेको छ । नाफा वर्षेनि बढ्दै गएको देखिन्छ । २०६०–६१ सालमा बैंकहरुले बचतकर्तालाई ७ देखि ८ प्रतिशत ब्याज दिन्थ्यो । लघुवित्त, फाइनेन्सहरुले त १२ देखि २२ प्रतिशतसम्म ब्याज दिने गरेको थियो ।
९ देखि ११ प्रतिशत ब्याजमा कर्जावालले कर्जा पाउँथे । सहकारी, लघुवित्तले १४ देखि १८ प्रतिशतमा ऋण दिन्थ्यो । तर, उठाउने बेलामा ८० प्रतिशतसम्म ब्याज उठाउँथ्यो । वित्तिय संस्थाले एक प्रतिशत सेवाशुल्क लिने गरेको थियो । बैंकहरुले अहिले ६ प्रतिशतमा कर्जा दिन्छौं भन्दापनि लिने मान्छे छैनन् ।
अनि नाफाचाँहि कहाँबाट कमायो ? प्रश्न उठ्छ–बैंक तथा वित्तिय संस्थाले सार्वजनिक गरेको विवरण वास्तविक छ ? बैंक तथा वित्तिय संस्थाले घुस खाएर कर्जा लगानी गर्यो । १२ प्रतिशत ब्याज भनेर ८० प्रतिशत पारियो । ब्याजको स्याजलगायत विभिन्न बहानामा जोड्दाजोड्दै ८० प्रतिशत पुर्याइयो ।
जसका कारण कर्जावालले कर्जा तिर्न सकेनन् । बैंकको आम्दानी घटिरहेको छ, खर्च बढिरहेको छ । तैपनि, सर्वसाधारण र राज्यलाई झुक्याउने प्रयास भइरहेको छ । फागुन २१ गतेको निर्वाचनअघि सेयरको मूल्य बढेर दुई हजार ९६७ पुग्यो । विवादास्पद व्यापारी दीपक भट्टलाई समात्नेबित्तिकै सेयरको मूल्य घटेर दुई हजार ६ सय मा झरिसकेको छ ।
उधारोमा सेयर कारोबार गर्दै आएका भट्टले तीन खर्ब ७३ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । उनले सेयर लिए, तर बिक्रीकर्तालाई पैसा दिएका छैनन् । उनीहरु डुब्ने भइहाले । बैंक तथा वित्तिय संस्था, जलविद्युत कम्पनी, इन्स्योरेन्सले एक सय रुपैयाँ प्रतिकित्तामा सेयर निकाल्छ ।
भट्टजस्ता सेयरका खेलाडीले मूल्य बढाएर त्यहाँ पुर्याएका हुन् । अहिले बजारमा ५० देखि ६० जना सेयरका खेलाडी छन् । उनीहरुको योजनाअनुसार सेयर बजार चल्छ । देशभर १३५ वटा मालपोत कार्यालय छ । सबै मालपोत कार्यालय चनमन्न छ । बजारमा घरजग्गा बेच्ने यत्तिकै छन्, किन्ने भेटिँदैनन् ।
सरकारले २०८८ सालभित्र इन्धनबाट चल्ने सवारी साधन विस्थापन गर्ने नीति लिएको छ । २०७८ सालमै राजपत्रमा सो व्यवस्था प्रकाशित पनि गरिसकेको छ । पाँच वर्षपछि इन्धनबाट सञ्चालन हुने गाडी विस्थापन हुन्छ । ती गाडीमा बैंक तथा वित्तिय संस्थाको लगानी वालुवामा पानी बन्ने निश्चित छ ।
इन्धनको गाडीमा बैंकले गरेको लगानी उठाउन सक्दैन । बैंकको सबैभन्दा बढी कर्जा लगानी घरजग्गामा छ । घरजग्गामा व्यक्तिको आकर्षण बढ्नुको कारण हो–घरभाडा । त्यही घरभाडा आउने लोभमा बैंकबाट कर्जा लिँदै घरजग्गामा लगानी गरिएको छ । बेरोजगारी र मँहगीका कारण धेरैले धमाधम डेरा छोड्न थालेका छन् ।
अब घरधनीले कहाँबाट कर्जा तिर्छ ? अन्तिममा बैंकले लिलाम गर्ने भनेको त्यही धितो होइन । घरजग्गा राखेर बैंकले कर्जा दिएको छ । पछिल्ला दिन घरजग्गाको मूल्य निरन्तर घटिरहेको छ । बैंकले घरजग्गामा गरेको कर्जा लगानी कसरी उठाउँछ ? नेपालको अर्थतन्त्र चलायमान हुन्छ भन्ने अपेक्षा गर्न गाह्रो छ ।
उद्योग, कलकारखाना केही छैन । वैदेशिक रोजगारी र ऋणले सरकारी खर्च सञ्चालन भइरहेको छ । राज्यले तत्काल उद्योग, कलकारखाना खोल्न सक्ने स्थिति छैन । उद्योग, कलकारखाना नभएसम्म रोजगारी हुँदैन । बाँच्ने अन्तिम विकल्प भनेको आफ्नै गाउँ फर्किने हो ।
अहिले जताततै कोठा, फ्ल्याट, सटर खालीको प्याम्प्लेट देखिन्छ । तिर्न सक्ने अवस्था हुनुपर्यो नि बस्नलाई । आम्दानी छैन, घरधनीले भाडा घटाउँदैनन् । बाध्यता भएपछि डेरावाल डेरा छोडेर हिँड्छन् । घरधनीको स्रोत बन्द हुन्छ । सहकारीले हामी डुब्दैनौं भनेर बचतकर्ताबाट पैसा उठायो ।
हामी नाफामा छौं, हामी भाग्दैनौं भन्दाभन्दै सहकारी संकटग्रस्त भयो । अहिले अधिकांश सहकारी बन्द भइसकेको छ, सञ्चालक भागिसकेका छैनन् । सहकारीमा बचतकर्ताको लाखदेखि करोडसम्म फसेको छ । बैंकले पनि यही सिको सिकेको छ । बैंकले नाफा विवरण सार्वजनिक गरिसकेको छ तर त्यो पत्याउन गाह्रो छ ।
सबै क्षेत्र घाटामा भएको अवस्थामा बैंक एक्लैले कसरी नाफा कमाउन सक्छ ? सहकारी डुब्यो, सरकारले केही गर्न सकेन । बैंक पनि त्यही हविगतमा पुग्यो भने सरकारले के गर्छ ? केही न केही । कर्णाली डेभलपमेण्ट बैंक डुबेको एक वर्ष भइसक्यो । अहिलेसम्म पैसा फिर्ता दिन सकिएको छैन ।
बैंक तथा वित्तिय संस्था मौका हेरेर बसेका छन् । जनता आफैं त्यसमा सचेत हुन आवश्यक छ । राज्यले आफ्नो सम्पत्तिको सुरक्षा गर्छ भनेर जनता ढुक्क भएर नबसौं । किन कि, राज्यले जनता डुबेपछि रमिता मात्र हेर्छ ।
अनुसा थापा
















