जुम्लामा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीका अनुसार आज मिति २०८३ साल वैशाख १९ गते बेलुका करिब ७:२० बजे तातोपानी गाउँपालिका–५ श्रीनगरस्थित कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–नाग्मा सडक खण्डमा दुर्घटना भएको हो।
जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ह ८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको क १ प १६८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
अटो तातोपानी–४ नियापानीका १९ वर्षीय टोप बहादुर शार्कीले चलाएका थिए भने मोटरसाइकल चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका १९ वर्षीय शुवास तिरुवाले चलाएका थिए।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक शुवास तिरुवा (मुख र बायाँ खुट्टामा चोट, अवस्था मध्यम), धर्मराज रावल (शरीरमा भित्री चोट, अवस्था मध्यम), अटोमा सवार साङ्गे इन्डोन (टाउकोमा सामान्य चोट), सुरेन्द्र शार्की (घाँटीमा चोट, अवस्था मध्यम), रचना महत (दाहिने खुट्टामा चोट, अवस्था मध्यम) र रमेश न्यौपाने (बायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम) रहेका छन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरीक्षक शिवराज कुँवरको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली खटिएको थियो। घाइतेहरूलाई उद्धार गरी तातोपानी गाउँपालिकाको एम्बुलेन्समार्फत बेलुका ८:१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि ल्याइएको छ।
प्रहरीका अनुसार अटो चालकलाई सामान्य चोट लागेको छ र उनी प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अटोमा सामान्य क्षति पुगेको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब ७ किलोमिटर पश्चिममा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













