नेपालका विभिन्न क्षेत्रमा दलनिकट भ्रातृ सङ्गठनहरूमा पनि समय-समयमा भद्रगोल देखिन्छ। एउटै पार्टीका विद्यार्थीहरूबीच कुटाकुट भएको समाचार पनि बेलाबेला आउँछ।
हरेक मुलुकका हरेक क्षेत्रमा संलग्न नागरिकमा धैर्य, संयम र संस्कारको आवश्यकता पर्छ। यी गुणहरूको अभावले मुलुकले अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन।
हाम्रो देशमा जता हेर्यो, त्यतै बेथिति देखिन्छ। नियम-कानून नमान्ने र मनपरी गर्नेहरूको कमी छैन। यस्तै बेथितिमध्ये एक हो—राजनीतिक दलका कार्यकर्ताहरूमा धैर्य, संयम र संस्कारको कमी।
नेपालका ठूला दलका कार्यकर्ताहरूमा कोही गुण्डा, कोही तस्कर, कोही अवसरवादी छन्। छेपारोझैँ रङ फेर्ने र धेरै दलको सदस्यता लिनेहरू पनि यहाँ छन्। धनाढ्य उद्योगी र व्यापारीहरू कहिले एउटा पार्टीमा त कहिले अर्को पार्टीमा छिर्ने-निस्कने गरेको पाइन्छ।
पार्टीका उच्च तहका नेताहरूले यो कुरा मनन गर्नुपर्छ कि, “हाम्रा कमजोरीले हामी र हाम्रो पार्टी जनताबाट आलोचित हुनुपरेको छ।”
नियमको पालना र नेतृत्वको कमजोरी
राजनीतिक दलका विधानमा उल्लेखित नियमहरू कार्यकर्ता मात्र होइन, नेताहरूले समेत पालना गरेको पाइँदैन। राष्ट्रिय विवादमा सबै दलहरूबीच वार्ता, छलफल र सम्झौता गरेर अगाडि बढेमा मुलुकले स्थिर सरकार र संसद् प्राप्त गर्न सक्छ।
दम्भ र अहङ्कारले पार्टी, नेता र मुलुकलाई हानि पुर्याउँछ। मुठभेड प्रदर्शन गर्ने, सोझा जनता र व्यवसायीलाई भड्काउने जस्ता कार्यले समाजमा अराजकता फैलिन्छ।
नेपालका विभिन्न क्षेत्रमा दलनिकट भ्रातृ सङ्गठनहरूमा पनि समय-समयमा भद्रगोल देखिन्छ। एउटै पार्टीका विद्यार्थीहरूबीच कुटाकुट भएको समाचार पनि बेलाबेला आउँछ।
२०४६ सालपछि कर्मचारी र मजदूर सङ्गठनहरूका कारण धेरै सरकारी संस्थान डुबेको इतिहास छ। सामान्य मजदूरले महाप्रबन्धकलाई धम्क्याउने वा हातपात गर्ने जस्ता अशोभनीय कार्य निम्नस्तरका व्यवहार हुन्।
केही महिनाअघि निजामती कर्मचारी युनियनका एक सहायकस्तरका कर्मचारीले मन्त्रालयका विशिष्ट श्रेणीका सचिवलाई “यो कुर्सीमा बस्ने मन छ कि छैन?” भन्दै धम्क्याएको समाचार आएको थियो।
जुनसुकै क्षेत्रमा पनि पदअनुसारको मर्यादा कायम राख्नु बुद्धिमानी हुन्छ। गुनासा छन् भने जिम्मेवार पदाधिकारीसँग समन्वय र छलफल गरेर समाधान खोज्नुपर्छ।
स्वार्थपूर्तिका लागि नेताहरूलाई गुहार्नु कर्मचारीको शोभनीय कार्य होइन। कर्मचारीतन्त्र मुलुकको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ।
गैरजिम्मेवार कार्य र फोहोरी खेल
निर्वाचनमा फर्जी मत हाल्ने र मतपेटिका लुट्ने जस्ता कार्यहरू राजनीतिक संस्कारबाहिरका हुन्। यस्ता गैरजिम्मेवार कार्यलाई निन्दनीय मानिन्छ।
नेपालको राजनीतिलाई फोहोरी खेलको संज्ञा पनि दिइन्छ। सरकारमा हुँदा चुप लाग्ने र बाहिरिएपछि यो-त्यो भएन भन्दै कराउनेहरू पनि छन्।
पटक-पटक सत्तामा पुगेर पुस्तौँ कमाउने र बुढेसकालमा “भ्रष्टाचार छानबिन गरौँ” भन्नेहरू पनि देखिन्छन्।
नेपालमा सोझासाझा मानिसहरू राजनीतिमा नलागेकै राम्रो। यहाँ राष्ट्रप्रेम बोकेका कार्यकर्ता भेट्टाउन मुश्किल छ। अमेरिका जस्ता विकसित मुलुकमा राजनीतिक दलको सङ्ख्या थोरै हुन्छ।
अमेरिकामा तेस्रो दलको जन्म भएको छैन। त्यहाँ रिपब्लिकन र डेमोक्रेटिक पार्टीले पालैपालो सरकार चलाउँछन्। तर, नेपालमा राजनीतिक दलको सङ्ख्या सय नाघ्न लागेको छ, जुन दुखद् कुरा हो।
बागी उम्मेदवारी र अनैतिक लेनदेन
प्रभावशाली नेतालाई पार्टीले टिकट नदिए बागी वा स्वतन्त्र उम्मेदवार बन्ने प्रवृत्ति छ। टिकट पाउन अनैतिक आर्थिक लेनदेन हुने कुरा पनि सुनिन्छ।
बलमिच्याइँ गरेर योग्यलाई पन्छाउने र अयोग्यलाई टिकट दिने कार्य राम्रो होइन।
सामाजिक सञ्जालमा गालीगलौज
नेताहरूलाई सामाजिक सञ्जालमा छाडा र अशोभनीय शब्द प्रयोग गरेर गाली गर्नु वा धम्क्याउनु सभ्य कार्यकर्ताको कर्तव्य होइन। विपक्षी नेता, लेखक र पत्रकारको जासुसी गर्ने कार्य पनि गलत छ।
पछिल्ला दिनमा विपक्षी नेतालाई तथानाम गाली गर्ने र अश्लील शब्द प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यस्ता कार्यलाई साइबर क्राइमको आरोपमा कारबाही भएको समाचार पनि सुनिन्छ।
कार्यकर्ताको उच्छृङ्खल व्यवहार
कुनै पनि दलले कार्यकर्तालाई ट्याटु खोप्ने, लामो कपाल पाल्ने, मुन्द्रा लगाउने वा उत्ताउलो पोशाक प्रयोग गर्न निषेध गर्नुपर्छ। हावादारी अभियन्ता बन्ने, नक्कली देशभक्त बन्ने जस्ता कार्यले नेपालको राजनीति दूषित भएको छ। मानिसहरू अन्धाधुन्ध यस्ता व्यक्तिको पछाडि दौडिन्छन्।
सरकारी कर्मचारीले कर्तव्य पालना गरेको कुरालाई ठूलो ठान्नु हुँदैन, बरु अरूलाई त्यस्तै सेवा गर्न दबाब दिनुपर्छ। कर्मचारी र दलका कार्यकर्ता धेरै नजिक हुनु पनि राम्रो होइन। कर्मचारीले ऐन-नियम र कार्यकर्ताले पार्टी विधानअनुसार चल्नुपर्छ।
जनताको निराशा र नेतृत्वको गैरजिम्मेवारी
जनताले लोकतन्त्रको पूर्ण प्रत्याभूति गर्न सकेका छैनन्। मुलुक आयातमुखी र परनिर्भर बन्ने खतरा छ।
रोजगारीका लागि खाडी मुलुकमा भर पर्नुपरेको छ। दश वर्षमा दश हजारको शव त्रिभुवन विमानस्थलमा अवतरण भएको समाचार आएको छ।
मन्त्रीले आफ्ना श्रीमतीलाई भान्से जस्ता पदमा नियुक्त गरेर भत्ता खाएको कुरा पनि बाहिरिएको छ। यस्ता कार्यले जनमानसमा नेताहरूप्रति कस्तो प्रभाव पर्छ?
नेताहरूको तल्लोस्तरको भाषा
मन्त्री र उच्च नेताहरूले “पछार्नुपर्छ, लतार्नुपर्छ, ठोक्नुपर्छ” जस्ता तल्लोस्तरका शब्द प्रयोग गर्छन्। सामाजिक सञ्जालमा नेताले फोटोसहित पोस्ट गर्दा तल्लोस्तरका गालीको वर्षा हुन्छ।
यस्ता शब्दहरूले नेपालको राजनीतिक स्तर झल्किन्छ। कार्यकर्तामाझ सबैभन्दा बढी प्रयोग हुने शब्द “झोले” हो, जसको अर्थ नेताको चाकडी र चाप्लुसी गर्ने व्यक्ति भन्ने बुझिन्छ।
इमानदार नेताको अभाव
नेपालमा इमानदार नेता नभएका होइनन्, तर उनीहरू सक्रिय छैनन्। कोही चुप लाग्छन्, कोही असन्तुष्टि लेखमार्फत व्यक्त गर्छन्।
विद्वान नेताको स्थान कम छ। भ्रष्ट कर्मचारीले इमानदार कर्मचारीलाई बदनाम गरे जस्तै, खराब नेताले राजनीतिक क्षेत्रलाई धमिलो बनाएका छन्।
जनताको आलोचना र गुटबन्दी
सार्वजनिक सवारीमा यात्रुहरूले नेताको आलोचना गरेको सुनिन्छ। तर, चौतारी वा पार्टी प्यालेसमा यस्ता कुरा गर्नुको अर्थ छैन।
सम्बन्धित ठाउँमा आवाज उठाउनुपर्छ। दलभित्र गुट र उपगुटले जनता वाक्क छन्। नेताहरूमाथि जनताको धारेहात सामान्य बनेको छ।
नेताहरूले यस्ता आरोप र गाली पचाउने बानी परेको हो कि जस्तो लाग्छ। सरकारको संरक्षणमा तस्करी जस्ता आपराधिक गतिविधि हुनु दुखद् छ।
सत्तालिप्सा र नातावाद
सत्ता टिकाउन नेताहरूले विभिन्न तिकडम गर्छन्। सरकार गिराउने र टिकाउने खेलले जनतामा नकारात्मक सन्देश गएको छ।
निर्वाचनमा जाँड-रक्सी खाएर भोट हाल्ने प्रवृत्ति गलत छ। आफ्नै पार्टीका नेतालाई सिध्याउन षड्यन्त्र गर्ने चलन छ।
नातावाद र कृपावादले राजनीति भद्रगोल बनेको छ। नातेदारलाई प्राथमिकता दिने र पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई पन्छाउने प्रवृत्तिले दलको साख घट्दैछ।
सुधारको आवश्यकता
नेपालका सबै दलका नेता र कार्यकर्ताले जनताप्रति समर्पित हुनुपर्छ। निष्पक्ष विकास निर्माण गरेर जनतालाई देखाउनुपर्छ।
कार्यकर्तामा सुधार ल्याउन नेताहरू पहिला आफैँ सुध्रिनुपर्छ। गुरु खराब भए चेला पनि खराब हुन्छन्। नेताहरूले राजनीतिक संस्कारमा रहनुपर्छ र कार्यकर्तालाई उचित प्रशिक्षण दिनुपर्छ।
कार्यकर्तामा राजनीतिक संस्कारको अभाव भए दलको अस्तित्व सङ्कटमा पर्छ। डर, धाक र धम्की गैरजिम्मेवार कार्य हुन्। रचनात्मक विरोध र आलोचनाले विपक्षीलाई सुधार्ने मौका दिन्छ।