बुधबार, ४ असार, २०८२

विदेश पठाइदिने नाममा ठगी व्याप्त, रोजगारी दिन नसक्ने सरकार दलाललाई कारबाही गर्नसमेत असफल!

जहाँ पनि दलालीको बिगबिगी छ। त्यो चाहे वैदेशिक रोजगारीमा पठाइदिने नाममा होस् वा घरजग्गा, गाडी र सेयरमा। दलालीका कारण लाखौँ सर्वसाधारणको बिचल्ली भएको छ।

देशमा पर्याप्त रोजगारी छैन। बेरोजगारी बढ्दो क्रममा छ। पछिल्लो समय रोजगारीको खोजीमा विदेशिनेको संख्या ह्वात्तै बढेको छ। रोजगारीको सिलसिलामा मानिसहरू खाडीलगायत विभिन्न मुलुक पुगेका छन्। विदेशिनु नेपालीको बाध्यता हो। विडम्बना, यही बाध्यतामा केही ठगहरूको रजगज चलेको छ।

वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगीका घटना व्याप्त छन्। व्यक्तिदेखि म्यानपावर, कन्सल्टेन्सीसम्म यसमा संलग्न छन्। अहिले बजारमा अधिकांश मानिसहरूको मुखबाट एउटा गुनासो सुनिन्छ, ‘विदेश जान म्यानपावरलाई पैसा बुझाएको महिनौँ बित्यो, तर अहिलेसम्म केही भएको छैन।’

दुबई, कतार, मलेसिया, साउदी अरबलगायत खाडी मुलुक जानका निम्ति एउटै व्यक्तिले म्यानपावरलाई दुई लाखदेखि पटकपटक गरेर २०–२५ लाख रुपैयाँसम्म बुझाएका छन्। पैसा बुझाउँदा एक महिनाभित्र भिसा आउँछ भनिएकोमा सात–आठ महिना बित्दासमेत केही प्रक्रिया अघि नबढेको अधिकांशको गुनासो छ।

उनीहरू भन्छन्, ‘देशमा त रोजगारी भएन। तर, विदेश जान खोज्दा पनि ठगीको सिकार बन्नुपर्ने रहेछ। जे गरे पनि सुख छैन।’ यता, उच्च शिक्षाका निम्ति विकसित मुलुक पठाइदिन्छु भन्दै कन्सल्टेन्सीहरूले पनि ठगी गर्ने क्रम बढेको छ। कन्सल्टेन्सीले एउटै व्यक्तिबाट २० लाखदेखि करोडौँ ठगेको सुनिन्छ।

त्यसो त, अहिले अधिकांश मानिस ठगिनुको पछाडि आफन्तकै हात हुने गरेको छ। ‘फलानो म्यानपावर मैले चिनेको छु, त्यहाँ राम्रो हुन्छ’ भन्दै लगिन्छ। डकुमेन्ट र पैसा बुझाइन्छ। पछि म्यानपावर नै भाग्छ। फेरि आफन्तले त्यो म्यानपावरबाट मानिस ल्याएबापत कमिसन खाएको हुन्छ। ‘शत्रु खोज्न घरबाहिर जानु पर्दैन’ भनेजस्तै भएको छ।

जहाँ पनि दलालीको बिगबिगी छ। त्यो चाहे वैदेशिक रोजगारीमा पठाइदिने नाममा होस् वा घरजग्गा, गाडी र सेयरमा। दलालीका कारण लाखौँ सर्वसाधारणको बिचल्ली भएको छ। विदेश गएर कमाउने भनेर मानिसहरूले आफन्त वा बैंकबाट ऋण लिएर दलाललाई बुझाएका हुन्छन्। तर, दलाल भागेपछि उनीहरूको कन्तविजोग भएको छ।

मर्नु कि बाँच्नुको अवस्थामा पुगेका छन्। एकातिर रोजगारी छैन, अर्कोतिर ऋणको साँवाब्याज दिनहुँ बढिरहेको छ। ठगीमा परेको चिन्ता त छँदैछ। यहाँ दलालहरूले जतिसुकै ठगे पनि छुट पाउँछन्। किनभने उनीहरू राजनीतिक दलका कार्यकर्ता हुन्छन्। दल भएपछि जस्तोसुकै अपराध गरे पनि उन्मुक्ति पाइन्छ।

कोट लगाएर जनता ठग्ने काम भइरहेको छ। हातमा दुईवटा मोबाइल, कोट लगाई मिठो बोलेर सोझासाझा जनता ठगिन्छन्। बैंक, वित्तीय संस्थाका कर्मचारीले पनि कोट लगाएरै सर्वसाधारणलाई ठगेका छन्। सरकारी कर्मचारीले कोट लगाएरै घुस खाएका छन्, भ्रष्टाचार गरेका छन्। अनि नेताहरूले पनि कोट लगाएरै देशलाई विदेशीलाई बेचिसकेका छन्।

त्यसैले, अब कोट लगाउनेसँग जनता सचेत हुनुपर्छ। कोट लगाएको देखेर विश्वास गर्नुहुँदैन। नत्र त्यही कोटले घरखेत सिद्ध्याउन सक्छ। ठगहरू नयाँ–नयाँ आइडिया ल्याइरहेका हुन्छन्। कहिले कुन बहानामा ठग्छन्, कहिले केमा। ठगको सिकार भएर कतिपयले घरखेत नै सिद्ध्याएका छन्। घर न घाटको अवस्थामा पुगेका छन्।

तर, दलालहरूले सोझासाझा जनतालाई यसरी ठगिरहँदा सरकार भने मुकदर्शक बनेर रमिता हेरिरहेको छ। जनता डुबेका छन्, सुकुम्बासी अवस्थामा पुगेका छन्। सरकारलाई करसँग मात्र सरोकार छ। त्यो कर चाहे जनता ठगिएर आएको नै किन नहोस्। दलहरूलाई सदस्यता बढाउन पाए पुग्छ। आफ्ना पार्टीमा कस्ता व्यक्ति सदस्य छन्? भन्नेसँग उनीहरूको चासो हुँदैन, चासो हुन्छ त सदस्य बढाउनेमा मात्र।

पत्रकारिता राज्यको चौथो अङ्ग हो। जनताको पीडा, दुख बाहिर ल्याउनु आमसञ्चार माध्यमको धर्म हो। तर, पत्रकारहरू अल्छी हुँदै गएका छन्। अचेल पत्रिकामा समाचार कम, विज्ञापन बढी देखिन्छ। पत्रकारहरूले समाजमा लुकेका घटनाहरूको खोजतलास गर्न छोडिसकेका छन्। जसका कारण मानिसहरूले पत्रपत्रिका पढ्नसमेत छोडेका छन्।

जनता भन्छन्, ‘सबै पत्रिकामा एउटै समाचार हुन्छ। शीर्षक मात्र फेरिएको हुन्छ। पत्रिकामा समाचार केही हुँदैन। विज्ञापन मात्र देखिन्छ। कि त दलको गुनगान गाएको हुन्छ।’ यहाँ सबैलाई कमाउनुपरेको छ। पछिल्लो समय सञ्चार माध्यमहरू विज्ञापनको लोभमा पर्दा ठगहरूको मनोबल बढेको हो। विज्ञापन आएपछि जतिसुकै ठगे पनि सञ्चार माध्यमले त्यसविरुद्ध समाचार लेख्दैनन्।

अनि दलालहरू झन् सर्वसाधारणलाई ठग्छन्। सञ्चार माध्यमले विज्ञापनको लोभमा पर्नुहुँदैन। विज्ञापन चाहिन्छ, तर कस्तो विज्ञापन लिने भनेर सञ्चार माध्यमले छुट्याउन सक्नुपर्छ। विज्ञापनका निम्ति करोडौँ जनतामाथि क्षति पुगिरहेको अवैध काम वा ठगीलाई दबाउनुहुँदैन। सत्य–तथ्य बाहिर ल्याउनैपर्छ। जनता अझै पनि अशिक्षित, गरिब छन्। जसको फाइदा दलाल, बिचौलियाहरूले उठाइरहेका छन्। यस्तो अवस्थामा सञ्चार माध्यमले आफ्नो धर्म निर्वाह गरेर जनताको आँखा खोल्नुपर्छ। जनताप्रति सरकारलाई जवाफदेही बनाउनुपर्छ।

हुन त जनता ठग्ने राजनीतिक दलहरू नै हुन्। दलका कार्यकर्ताले नै म्यानपावरदेखि कन्सल्टेन्सी, निजी विद्यालय, सहकारी, बैंक खोलेका छन्। फेरि कार्यकर्तालाई पर्दाभित्र बसेर ठग्न सिकाउने भनेका नेतृत्वकर्ता वा नेताहरू नै हुन्। बाहिर जनताको पक्षमा बोल्ने, भित्र आफैँ ठग्न लगाउने काम भइरहेको छ।

ओली, देउवा, प्रचण्ड र नेपाल यसका प्रमुख नाइके हुन्। फेरि यिनीहरूलाई कारबाही गर्ने हिम्मत कसैसँग छैन। जनताले तिरेको करबाट तलबभत्ता खाने सुरक्षाकर्मीहरू यिनीहरूलाई सलाम ठोक्छन्। जबकि यस्तालाई हातमा हत्कडी लगाइदिनुपर्ने हो। जबसम्म यी चार जना कानूनको कठघरामा आउँदैनन्, तबसम्म ठगी र अपराध चलिरहनेछ।

सुन तस्करीदेखि मानव तस्करी, सरकारी, सार्वजनिक गुठीका जग्गा व्यक्तिको नाममा लैजाने वा हिनामिना गर्ने भनेका दलकै कार्यकर्ता हुन्। नेतृत्वले निर्देशन दिने, कार्यकर्ताले त्यो पूरा गर्ने। त्यसैले, दलका नेतृत्वलाई कानूनको कठघरामा नल्याएसम्म देशमा यस्ता अपराध भइरहनेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार