नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जित्नुभएको छ । खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभयो ।
नेपाल एडभेन्चर रनिङ महासङ्घ (एनएआरएफ) को आयोजनामा भएको ट्रेल रनमा राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभयो ।
यस्तै ताप्लेजुङका रमेश लिम्बुले दुई घण्टा सात मिनेट ३० सेकेन्डमा दोस्रो तथा आर्मीका गोपाल तामाङले दुई घण्टा सात मिनेट ४२ सेकेन्डमा दौडेर तेस्रो स्थानमा आउनुभयो ।
आर्मीका गजेन्द्र राई चौथो, प्रवल क्षेत्री पाँचौ, राजेन्द्र तामाङ छैटौं, तिलकबहादुर सुनार सातौं, विरेन्द्र पाण्डे आठौं, विशाल नवौँ र रिखुलाल सिन्जाली मगर १०औँ स्थानमा रहनुभयो ।
सुनमायाले निर्धारित दूरी पूरा गर्न २ घण्टा २७ मिनेट १४ सेकेन्डा समय खर्चिनुभयो । आर्मी सुनसरी रोकाया दोस्रो र खोटाङकी निर्मला राई तेस्रो हुनुभयो ।
पुरुष र महिला दुवैसमूहमा शीर्ष पाँच स्थानमा रहनेलाई क्रमश: एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
यस्तै छैटौँदेखि १०औँ स्थानमा रहनेलाई जनही तीन हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितामा दुई सय ५० खेलाडीले भाग लिएका थिए । विजेतालाई बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।














