हामी शिक्षाको पहुँचमा त पुग्यौं, विभेद गर्नुहुन्न भनेर कानून नै बनाएर निर्धक्क भयौं, तर हामी व्यवहारले कहिले पनि निर्धक्क भएर जातीय विभेदबाट मुक्त रहन सकेनौं।
नेपाली समाजको प्रमुख विकृति वा सामाजिक समस्या भनेको जातीय विभेद हो, जसले समाजलाई गहिरो र नमेटिने चोट दिएको छ। यो समस्या मात्र होइन, यो त एकथरी अर्थात् समाजले संज्ञा दिएको तल्लो वर्ग वा दलित समुदायका लागि क्यान्सर हो।
जसको उपचार आजको यो वैज्ञानिक युगमा समेत गर्न सकिरहेको अवस्था छैन। विगतमा हामीले भोगेका जातीय विभेद अहिले प्रायः कमै मात्रामा देखा पर्छन्, तर यसको मतलब यो होइन कि जातीय विभेद हुँदै हुँदैन; तर अहिले जातीय विभेद गर्ने तरिका भने परिमार्जित भएको देखिन्छ।
विगतमा हामीले कस्तो प्रकारको जातीय विभेद भोग्थ्यौं?
जातीय विभेदका घटनाक्रमका सीमा यावत् छन्, जसलाई सबै खण्डन गर्न एउटै लेखमा पर्याप्त नहोला। विगतमा उपल्लो जात भनिनेले हामीलाई दमन र शोषण गरे। तिनका स्वरूप यति क्रूर थिए कि सम्झँदा पनि मनमा आगो बल्छ र आँखामा आँसु बग्छ।
त्यस्ता थुप्रै उदाहरणहरू छन्। प्रायः हामी उपेक्षित समुदाय अर्थात् दलित समुदायले त्यतिबेला गाउँको उपल्लो जात भनिएको सामन्ती वर्गको घरमा काम गर्दा हलिया प्रथा थियो। गाउँको मुखिया वा नायकको घरको हलि बस्नुपर्ने बाध्यता थियो। एकातिर दलितको प्रशस्त जमिन नहुनु बाध्यता थियो, भने अर्कोतिर समाजको संरचनात्मक स्वरूप नै त्यस्तै थियो।
त्यसरी नै दलित समुदायका मानिसहरू सामन्ती वर्गको घरमा दमित भएर काम गर्नुपर्ने बाध्यता थियो। उनीहरूको सबै काम—हलो जोत्ने देखि लिएर खेतीपातीमा गर्नुपर्ने सम्पूर्ण काम—गरिदिनुपर्ने र अन्तमा अन्न भित्राउने बेला केही हिस्सा मात्र हलियालाई दिने प्रथा केही वर्ष अगाडि सम्म मात्रै थियो।
उनीहरूले सम्पूर्ण काम गरिदिनुपर्ने तर श्रमअनुसार फल नपाउने बाध्यता थियो। त्यसरी शोषित दलित समुदाय थियो। यो पनि एक जातीय विभेद मध्येकै ठूलो स्वरूप र क्रूरता थियो।
त्यतिबेला दलित समुदाय पानी खाने धारामा कतै उपल्लो जात भनिनेको गाग्री छोयो भने मात्रै शुद्ध पानीको छिटो छर्केर शुद्ध पार्ने अमानवीय व्यवहार हुन्थ्यो। निज शब्दको प्रयोग गरेर दलित समुदायमाथि गालीगलौज गर्ने प्रचलन थियो।
दलित समुदायले उनीहरूको घरभित्र छिर्न नपाउने अर्को अपराधिक स्वरूप थियो जातीय विभेदको, र यसको केही अंश अझै पनि जीवित नै रहेको पाइन्छ। यी त केही उदाहरण मात्र हुन; अझ यसभन्दा क्रूरतापूर्ण र अप्रिय विभेदहरू पनि थिए।
अहिलेको पुस्ता कसरी भोगिरहेको छ जातीय विभेद?
अहिलेको पुस्ताले पनि त्यहीँ दलितकै सन्तति भएकै कारण “दलित”को ट्याग पाएका छन्। समाजमा, देशमा, विश्वमा थुप्रै विद्रोहहरू भए। आम मानिसहरू विस्तारै शिक्षाको पहुँचमा पुग्दै गए। देशमा नीतिनियम र कानून बन्दै गए।
कोही शिक्षाले, त कोही कानूनको फन्दामा पर्ने डरले वर्तमान परिवेशमा केही मात्रामा भने जातीय विभेद कम देखिन्छ। तर, केही मानिसको चेतनाको स्तर बढे पनि चेतना अनुरूप व्यवहार कार्यान्वयन गर्न नसकेको प्रस्ट देखिन्छ।
जस्तै, कुनै उपल्लो जात भनिने शिक्षकले विद्यालय, क्याम्पस वा अन्य शैक्षिक संस्थाहरूमा थुप्रै प्रकारका ज्ञान बाँड्छ र विभेद गर्नुहुन्न भन्छ, तर उसकै घरको व्यवहारमा विभेद प्रस्ट देखिन्छ।
कक्षा कोठामा सँगै पढेको साथीले कक्षाकोठामा गर्ने व्यवहार र घरमा गर्ने व्यवहार निकै भिन्नता हुन्छ। अझ मैले यो पनि सुनेको छु कि उपल्लो जात भनिनेले आफ्ना सन्ततिलाई तिहार पर्वमा आदानप्रदान गर्दा पनि जातीय विभेदको संरचना कायम राख्ने गर्दछन्।
हामी शिक्षाको पहुँचमा त पुग्यौं, विभेद गर्नुहुन्न भनेर कानून नै बनाएर निर्धक्क भयौं, तर हामी व्यवहारले कहिले पनि निर्धक्क भएर जातीय विभेदबाट मुक्त रहन सकेनौं। र यो विभेदबाट मुक्त राख्न उपल्लो जात भनिनेले पनि सकेनन्।
आजभोलि त दलितले निकै ठूलो क्षेत्रहरूमा फड्को मार्दै गइरहेका छन्। दलित समुदाय पनि राज्यको उच्च पहुँचमा पुग्दै गइरहेका छन्, तर यतिबेला म के सुन्छु भने “जे गरे पनि, जस्तो गरे पनि दलित त हो” भन्ने भाष्य निर्माण भएको छ, जुन मैले देख्ने र सुन्ने गरेको छु।
यस्तो प्रकारको विभेद गर्ने अरु कोही नभएर तिनै उपल्लो जात भनिने शिक्षितहरूले नै तय गरेको भाष्य हो। यसबाट पनि प्रस्ट हुन्छ कि जातीय विभेद त्यति सहजै रूपमा हट्नेवाला छैन र दलित समुदाय उच्च स्थानमा पुगेको यिनीहरूलाई कुनै पनि हालतमा स्वीकार्य वा चित्त बुझ्ने छैन। यसरी वर्तमान परिवेशमा हामी जातीय विभेद भोगिरहेका छौं।
निष्कर्ष:
अतः हामी अब पुर्खाले जस्तो निरङ्कुश विभेद सहन कदापि सक्दैनौं र त्यस्तो गर्नेलाई कानूनले राम्रो दण्ड समेत गरिरहेको देखिरहेका छौं। अब यो क्रूरता विरुद्ध बलियो भएर लाग्नुपर्छ। जातीय विभेद सामान्य विकृति मात्र होइन, सामाजिक समस्या मात्र होइन; यो एक समुदायको अन्धकार युग हो।
यो समस्याहरूको सागर हो, उज्यालोविहीन भुमरी हो, पीडाको बहाव हो। तसर्थ, जातीय विभेदको विरुद्ध—चाहे अन्धकारको युगसँग होस्, समस्याको सागरसँग होस्, उज्यालोविहीनसँग होस्, वा पीडाको बहावसँग होस्—अब हामी लड्न तयार हुनुपर्छ।