२०७९ चैत ५ मा भएको हरि थापाको नेतृत्वमा अध्यक्ष पदका लागि प्यानलसहित उम्मेदवारी दिएको राप्रविसंघले समानुपातिकतर्फ पनि प्रतिनिधित्व गरि एक सिट जितेको थियो।
आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन देशभरका क्याम्पसहरूमा एकसाथ हुँदैछ। तर, जुम्लामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता ज्ञानेन्द्र शाहीको विद्यार्थी संगठन राप्रविसंघले यसपटक निर्वाचनमा भाग नलिने भएको छ।
यो निर्णयले स्थानीयस्तरमा चर्चा र आश्चर्य पैदा गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी भइरहँदा साविक कर्णालीको एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा राप्रविसंघको सांगठनिक उपस्थिति देखिएन।
निर्वाचन अधिकृत उपप्राध्यापक पदम बहादुर शाहीका अनुसार, फागुन १९ गते ३ बजेसम्मको समयसीमामा ६ वटा विद्यार्थी संगठन दर्ता भए पनि राप्रपाको विद्यार्थी संगठनले कुनै चासो देखाएन।
यो निर्णय त्यसैले पनि आश्चर्यजनक छ किनभने अघिल्लो स्ववियु निर्वाचन (चैत ५, २०७९) मा राप्रविसंघले जुम्लामा बलियो उपस्थिति जनाएको थियो।
त्यतिबेला हरि थापाको नेतृत्वमा अध्यक्ष पदका लागि प्यानलसहित उम्मेदवारी दिएको राप्रविसंघले समानुपातिकतर्फ पनि प्रतिनिधित्व गरि एक सिट जितेको थियो। तर, यसपटक संगठनले संगठन दर्ता नै गराएन।
जिल्लामा प्रभावशाली नेतृत्व गर्ने ज्ञानेन्द्र शाही प्रतिनिधिसभामा जुम्लाबाट अत्यधिक मतसहित विजयी राप्रपाका प्रवक्ता र प्रमुख सचेतक हुन्। उनको गृह जिल्लामा आफ्नै संगठनको यस्तो अनुपस्थितिबारे राप्रपा स्रोतले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
















