त्यो दिन भुपिनले विद्यालयको शौचालय सफा गरेका थिए। तर मेरो नजरमा उनले त्योभन्दा ठूलो केही सफा गरेका थिए, हाम्रो शिक्षाबारेको एउटा भ्रम। शिक्षा किताबमा मात्र हुँदैन कहिलेकाहीँ त्यो पोछाको डाँठमा हुन्छ। कहिलेकाहीँ उठाइएको फोहोरको टुक्रामा।
त्यो बिहान म कक्षाकोठातिर जाँदै थिएँ। विद्यालयको आँगनमा विद्यार्थीहरू आ–आफ्नै धुनमा थिए। कोही कक्षातिर जाँदै थिए, कोही साथीहरूसँग कुरा गरिरहेका थिए। विद्यालयको नियमित दिनझैँ लागिरहेको थियो।
तर अचानक मेरो आँखा शौचालयतिर पुग्यो। त्यहाँ एक जना विद्यार्थी हातमा पोछा लिएर भुइँ सफा गरिरहेका थिए। शौचालयभित्र जमेको फोहोर पानी बाहिर निकाल्दै थिए। दृश्य सामान्य थियो, तर मेरो लागि त्यो क्षण असामान्य बन्यो। म केही पाइला रोकिएँ।
टाढैबाट सोधेँ, ‘को हो?’ उनले टाउको उठाए। कुनै संकोच, कुनै असहजता वा आफूले केही असाधारण काम गरिरहेको अनुभूति नभएझैँ सहज स्वरमा भने, ‘म हुँ सर।’ नजिक पुगेर हेरेँ, भुपिन रहेछन्।
श्री हिमा आधारभूत विद्यालयमा अध्ययनरत भुपिन सामान्य परिवारका विद्यार्थी हुन्। विद्यालयमा उनको उपस्थिति नियमित छ। पढाइमा उनी औसत छन्। तर विद्यालयका अन्य गतिविधिमा भने उनी सधैँ अगाडि देखिन्छन्। काम गर्न कसैले अह्राउनुपर्ने, सम्झाउनुपर्ने वा कराउनुपर्ने विद्यार्थी होइनन् उनी।
त्यस दिन उनको हातमा रहेको पोछा हेर्दै गर्दा मलाई आफ्नै केही शब्द सम्झिए।
विद्यालयमा हरेक दिन हामी विद्यार्थीलाई धेरै कुरा सिकाउँछौँ। किताबका अक्षरदेखि जीवनका मूल्यसम्म। गणितका सूत्रदेखि अनुशासनसम्म। विज्ञानका सिद्धान्तदेखि सहकार्यसम्म। हामी बोल्छौँ, विद्यार्थी सुन्छन्। हामी लेख्छौँ, विद्यार्थी कापीमा सार्छन्। हामी प्रश्न सोध्छौँ, उनीहरू उत्तर दिन्छन्।
प्रार्थनाको समयमा म पनि विद्यार्थीलाई प्रायः एउटा कुरा भनिरहन्छु, ‘विद्यालय हाम्रो घर हो। यसलाई सफा राख्नु हाम्रो साझा जिम्मेवारी हो। आफूले सिकेको राम्रो कुरा व्यवहारमा उतार्न सक्नुपर्छ।’
सायद ती शब्द धेरै विद्यार्थीले सुन्थे। कसैले केहीबेर सम्झन्थे होलान्, कसैले बिर्सन्थे होलान्। तर भुपिनले भने ती शब्द सुनेर मात्र छाडेनन्। उनले तिनलाई मनमा राखे र व्यवहारमा उतारे।
त्यो दिन शौचालय सफा गरिरहेको भुपिनलाई हेर्दै गर्दा मलाई लाग्यो, शिक्षकका शब्द कहिलेकाहीँ विद्यार्थीको कानमा होइन, हातमा पुग्दा रहेछन्।
हामीले भनेको ‘विद्यालय हाम्रो घर हो’ भन्ने वाक्य आज उनको हातमा पोछा बनेर उभिएको थियो। शौचालय पानी जमिरहने ठाउँ हो। त्यसैले पटक–पटक सफा गर्नुपर्छ। यसअघि प्रायः हरि सर र कहिलेकाहीँ म आफैँ पनि त्यो काम गर्ने गर्थ्यौँ। तर पछिल्लो समय भुपिनले कक्षाकोठामा पढाइ नभएको खाली समयमा आफै शौचालय सफा गर्न थालेका रहेछन्।
उनलाई कसैले आदेश दिएको थिएन। कसैले निगरानी गरेको थिएन। कसैले पुरस्कार दिने वाचा पनि गरेको थिएन।
तर उनी गरिरहेका थिए। किन? सायद उत्तर धेरै सरल थियो, उनीलाई विद्यालय आफ्नै लाग्थ्यो।
भुपिनको काम शौचालय सफा गर्नेमै सीमित रहेनछ। विद्यालयको मैदानमा फोहोर देखे आफै उठाउँछन्। फोहोर बाल्टिनमा जम्मा गर्छन्। कतै कागजको टुक्रा भेटियो भने टिप्छन्। पानी छरिएको देखे मिलाउँछन्।
कसैले भनेपछि होइन। कसैले हेरेपछि होइन। आफ्नो विद्यालय हो भन्ने भावनाले। हामी ठूलाहरूले ‘जिम्मेवारी’ भन्ने शब्दलाई धेरैपटक भाषणमा प्रयोग गर्छौँ। बैठकमा बोल्छौँ। गोष्ठीमा लेख्छौँ। प्रतिवेदनमा राख्छौँ। तर एउटा बालकले जिम्मेवारीको अर्थ भाषणबिनै बुझिरहेको थियो।
एक दिन मैले कक्षाका सबै विद्यार्थीलाई सोधेँ, ‘मैदानदेखि शौचालयसम्म विद्यालय सफा राख्न सबैभन्दा बढी काम कसले गर्छ?’ कक्षाभरिबाट एकैपटक आवाज आयो, ‘भुपिनले गर्छन्, सर!’ एक विद्यार्थीले थप्यो, ‘अस्ति पनि शौचालय सफा गरिरहेको मैले देखेको थिएँ, सर।’
अर्कोले भन्यो, ‘सुस्मीले पनि पानीको काम गर्छिन्, सर।’ त्यसपछि विद्यार्थीहरूले आफूले देखेका अरू घटनाहरू सुनाउन थाले। उनीहरूको कुरामा एउटा रमाइलो कुरा थियो, उनीहरू भुपिनको कामलाई असाधारण ठानिरहेका थिएनन्। उनीहरूका लागि त्यो स्वाभाविक थियो। आफ्नै विद्यालयका लागि आफ्नै साथीले गरेको काम।
तर शिक्षकको आँखाले त्यसभित्र अलि ठूलो अर्थ देखिरहेको थियो। मैले भुपिन र सुस्मीलाई कक्षाको अगाडि बोलाएँ। उनीहरू अगाडि आए। केही लजाएजस्ता देखिन्थे। मैले दुवैलाई सबैका सामु धन्यवाद दिएँ।
भनेँ, ‘बाबु नानीहरू, पढेर मात्र हुँदैन। हामीले किताबमा पढेको, शिक्षकबाट सिकेको र प्रार्थनामा सुनेको सकारात्मक कुरा व्यवहारमा उतार्न सक्नुपर्छ। जब सिकेको कुरा व्यवहारमा देखिन्छ, त्यही बेला हाम्रो सिकाइ प्रमाणित हुन्छ।’
त्यसपछि मैले भुपिन र सुस्मीलाई स्याबास दिएँ। कक्षाभरि ताली बज्यो। उनीहरूको अनुहारमा देखिएको त्यो मन्द मुस्कान आज पनि मेरो आँखामा ताजै छ। त्यो मुस्कान केवल प्रशंसा पाएको खुसी थिएन। आफूले गरेको सानो काम कसैले देखिदिएको खुसी थियो। आफ्नो कामको अर्थ बुझेको खुसी थियो। अनि सायद अझ राम्रो काम गर्नुपर्छ भन्ने नयाँ हौसला पनि।
त्यो दिन मैले महसुस गरेँ, शिक्षकले दिएको सबैभन्दा ठूलो पाठ सधैँ कालोपाटीमा लेखिँदैन। कहिलेकाहीँ एउटा विद्यार्थीको हातमा समातेको पोछाले नै पूरै कक्षालाई जिम्मेवारीको अर्थ सिकाउँछ। कहिलेकाहीँ मैदानबाट उठाइएको एउटा टुक्रा फोहोरले सरसफाइको महत्त्व बुझाउँछ।
कहिलेकाहीँ कसैले नदेखेको जस्तो लाग्ने एउटा सानो कामले शिक्षकले वर्षौँदेखि बोल्दै आएका सयौँ शब्दलाई अर्थ दिन्छ।
हामी विद्यालयलाई ज्ञानको घर भन्छौँ। तर ज्ञान अक्षरमा मात्र हुँदैन। कसैलाई सहयोग गर्नु पनि ज्ञान हो। आफ्नो वरिपरि सफा राख्नु पनि ज्ञान हो। साझा ठाउँलाई आफ्नै ठान्नु पनि ज्ञान हो। आफूले सिकेको कुरा व्यवहारमा उतार्नु त झन् शिक्षाको सबैभन्दा सुन्दर रूप हो।
भुपिन र सुस्मी त्यस दिन मेरा कक्षाका दुई विद्यार्थी मात्र थिएनन्। उनीहरू व्यवहारिक शिक्षाका जीवित उदाहरण बने।
त्यस दिन मलाई लाग्यो, विद्यार्थीलाई हामीले जति सिकाउँछौँ, उनीहरूले पनि हामीलाई त्यति नै सिकाइरहेका हुन्छन्।
फरक यत्ति हो, हामी उनीहरूको पाठ्यपुस्तक हेर्छौँ; उनीहरू हाम्रो व्यवहार। हामी उनीहरूको उत्तरपुस्तिका जाँच्छौँ; जीवनले भने उनीहरूको व्यवहार जाँच्छ। भुपिनले कुनै भाषण दिएनन्। कुनै नारा लगाएनन्। कुनै ठूलो काम गरेको दाबी पनि गरेनन्। उनले एउटा पोछा समाते शौचालय सफा गरे। मैदानबाट फोहोर उठाए।
तर त्यही सानो कर्मले मलाई शिक्षाको ठूलो अर्थ सम्झाइदियो।
असल शिक्षा त्यो होइन, जुन परीक्षाको कापीमा सही उत्तर बनेर बस्छ। असल शिक्षा त त्यो हो, जुन बानी बन्छ। जुन जिम्मेवारी बन्छ। जुन अरूले नहेर्दा पनि गरिरहने संस्कार बन्छ।
त्यो दिन भुपिनले विद्यालयको शौचालय सफा गरेका थिए। तर मेरो नजरमा उनले त्योभन्दा ठूलो केही सफा गरेका थिए, हाम्रो शिक्षाबारेको एउटा भ्रम। शिक्षा किताबमा मात्र हुँदैन कहिलेकाहीँ त्यो पोछाको डाँठमा हुन्छ। कहिलेकाहीँ उठाइएको फोहोरको टुक्रामा।
कहिलेकाहीँ एउटा बालकको चुपचाप गरिएको कर्ममा र त्यही कर्मले शिक्षकलाई पनि फेरि विद्यार्थी बनाइदिन्छ। भुपिनले मलाई त्यस दिन यही पाठ पढाए।
स्याबास भुपिन! तिम्रो हातमा रहेको त्यो पोछा विद्यालय सफा गर्ने साधन मात्र थिएन, त्यो त शिक्षाको ऐना थियो, जहाँ हामीले बोलेका शब्दहरू व्यवहार बनेर देखिएका थिए।
















